कोहलपुरका नगरप्रमुख र सुकुम्वासी आमनेसामाने



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा होल्डिङ सेन्टरमा बसेका सुकुम्वासी र कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य आमनेसामने भएका छन् । केही दिनदेखि कोहलपुरका सडकमा आन्दोलन गरिरहेका सुकुम्वासीहरूले कोहलपुर नगरपालिकाको मूल गेटअगाडि विरोध प्रदर्शन गर्न थालेपछि नगरप्रमुख आचार्यले दिएको अभिव्यक्तिका कारण उनीहरू आमनेसामने भएका हुन् । २६ वैशाख २०८३ मा कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्तीमा डोजर लगाएपछि त्यहाँका सुकुम्वासीहरू अहिले होल्डिङ सेन्टरमा कष्टकर जीवन बाँचिरहेका छन् ।

बस्तीमा डोजर लगाएपछि नगरपालिकाले होल्डिङ सेन्टरमा राख्नु र एउटा झुल वितरण गर्नुबाहेक कुनै पनि किसिमको सहायता गरेको छैन । होल्डिङ सेन्टरमा राखेको तीन महिनासम्म स्थानीय सरकार र राज्यका कुनै पनि निकायले वास्ता गरेपछि केही दिनदेखि सुकुम्वासीहरू आन्दोलन गरिरहेका छन् । राज्यले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै विरोध प्रर्दशन गर्दै आएका छन् । यसैगरी विस्थापितहरूको पुनस्र्थापना गर्नुपर्ने सुकुम्वासीहरूको माग रहेको छ । नगरपालिकाले बस्तीमा डोजर लगाएर सुकुम्वासीहरूको विचल्ली परेको भन्दै उनीहरूले नगरपालिकाले उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका हुन् ।

सोहीअनुसार नगरपालिकाको ध्यानाकर्षण गर्न सुकुम्वासीहरूको आन्दोलन नगरपालिकाको गेटमा चलिरहेको छ । सुकुम्वासीहरूको आन्दोलन चलिरहेको बेला माग सम्बोधन गर्नुको साटो विवादित अभिव्यक्ति दिएपछि उनीहरू झन् आक्रोशित भएका हुन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्वासीहरूलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार सुरक्षित र व्यवस्थित रूपमा बसोबासको व्यवस्था मिलाउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो ।

होल्डिङ सेन्टरमा बसोबास गरिरहेका नागरिकहरूका लागि शुद्ध खानेपानी, व्यवस्थित शौचालय र बालबालिकाको शिक्षाको पहुँच तथा अन्य आधारभूत सेवा सुविधा अभाव भएको भन्दै समस्या समाधानको लागि रास्वपाले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नगरप्रमुख आचार्यले ‘यो नगरपालिकाको गेट माइतीघर मण्डला होइन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको प्रश्न थियो, ‘पश्चिम नेपालका मान्छेहरू आएर कोहलपुर नगरपालिकाको गेटमा धर्ना दिने र यहाँका सेवाग्राहीहरूलाई काम गर्न अवरोध गर्नुभयो भने यदि मुठभेट भएपछि त्यसको जिम्मा तपाईँ आफैँ लिनुहोला ।’ उनले नगरपालिकामा सिफारिस लिन आउने सेवाग्राहीहरूको काम आधा घण्टा रोकिए जनप्रतिनिधिले कुटाइ खाने स्थिति रहेको उनले तर्क गरेका थिए । कोहलपुरभन्दा बाहिरका अनधिकृत मान्छे आएर नगरपालिकाको गेटमा मुठभेटको स्थिति सिर्जना हुने उनको चेतावनी थियो ।

होल्डिङ सेन्टरमा बसोबास गरिरहेका वास्तविक सुकुम्वासीभन्दा बाहिरका अव्यवस्थित बसोबासीहरूले उनीहरूलाई उचालेर आन्दोलन गरिरहेको उनको दाबी छ । उनले कोहलपुर नगरपालिकाका वास्तविक सुकुम्वासीको व्यवस्थापन, बालबालिकाहरूको शिक्षा, खानेपानीको व्यवस्थापनका सम्बन्धमा नगरपालिकाले प्रक्रियागत रूपमा काम गरिरहेको उनको भनाइ छ । उनले भने, ‘कोहलपुरका सुकुम्वासीलाई व्यवस्थापन गर्छौँ, बाहिरका नागरिकलाई सम्बन्धित पालिकामै लैजान पत्राचार गरेका छौँ ।’ नगरप्रमुखको अभिव्यक्ति सुकुम्वासीहरूले फेरि नगरपालिकाको गेटमै गएर धर्ना दिएका थिए ।

स्थानीय सरकारले आफ्ना आवाजहरू शान्तिपूर्ण आन्दोलन र मागअनुसार सम्बोधन नगरेमा सशक्त किसिमको आन्दोलन गरिने उनीहरूको चेतावनी रहेको छ ।
नगरपालिकाले आफ्ना मागहरूको बेवास्ता गरेमा सुकुम्वासीहरू विद्रोह गर्न तयार रहेको बताएका छन् । कोहलपुर नगरपालिकाले २०८३ वैशाख २६ गते डोजर लगाउनुअघि कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी ७५१ परिवार बसोबास गर्दै आएका थिए । हाल कोहलपुरका तीन वटा होल्डिङ सेन्टरमा एक सय परिवारमा राखिएको छ । त्यहाँका सुकुम्वासीहरूको अवस्था निकै कष्टकर छ । दीर्घरोगी, महिलादेखि बालबालिकाहरूले आधारभूत सुविधासमेत प्राप्त गर्न सकेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार