काठमाडौँ ।
लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादन थालिएको छ । उद्योगलाई चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने तयारी अनुरुप परीक्षण उत्पादन सुरु गरिएको हो । नेपाली सेनाको नेतृत्वमा वर्षौदेखि जीर्ण अवस्थामा रहेका विद्युत् प्रणाली तथा भौतिक संरचना मर्मत गरी उद्योगमा पुनःउत्पादनको कार्य अघि बढाइएको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वि.स. २०३२ साउन १६ मा स्थापना भएको उद्योग वि.स.२०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो ।
उद्योग बन्द भएपछि यसअघि पनि पटकपटक पुनःसञ्चालनमा ल्याउने प्रयास भएपनि सफल हुन सकेको थिएन । तर, प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वमा नयाँ सरकार बनेको चार महिनामै औपचारिक रूपमा बन्द भएको २६ वर्षपछि उद्योगको परीक्षण उत्पादन थालिएको हो । प्रधानमन्त्री शाहका अनुसार हेटौँडा कपडा उद्योगलाई पुनःसञ्चालनमा ल्याउने उद्देश्यले तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको छ । सरकारले उद्योगलाई पुनःसञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले उद्योगमा आंशिक रूपमा कपडा उत्पादनसमेत सुरु भएको जानकारी दिएका छन् । परीक्षण उत्पादन सफल भएपछि उद्योग सरकारले आफैँ सञ्चालन गर्नेसमेत प्रधानमन्त्री शाहको भनाइ छ । प्रधानमन्त्री शाहले हेटौँडा कपडा उद्योग मात्रै होइन नेपाल औषधि लिमिटेड, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना विकास समिति जस्ता सरकारी स्वामित्वका लिमिटेड, निगम र संस्थानमा व्यापार घाटा घट्नुका साथै फाइदामा पुगेको दाबी गरेका छन् ।
‘वर्षौँदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तंग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शंका र चिन्ता थियो । जब नियत सफा हुन्छ । जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ । तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,’ प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन् । नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको उनले बताए ।
सरकारको इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको बताएका छन् । यस्तै, प्रधानमन्त्री शाहका निजी सचिव प्रदीप परियारले उद्योगमा पुराना मेसिन मर्मत गरी शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएकोे बताएका छन् । परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ।
लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो सामाजिक सञ्जालमा तान चलेको भिडिओ सामग्री राख्दै उल्लेख गरेका छन् । उद्योग पुनः सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयासले अहिले परीक्षण उत्पादनको चरण पूरा भएको परियारको भनाइ छ । नेपाली सेनाका जर्नेलको नेतृत्वमा पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको उनले बताए ।
सरकारले २०८३ असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । उद्योगमन्त्री गौरीकुमारी यादवले रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने बताउँदै आएकी थिइन् । उनका अनुसार कपडा उद्योगसँगै बुटवल धागो कारखाना तथा कपास खेतीलाई समेत अघि बढाउने सरकारले तयारी गरिरहेको छ । हेटौँडा कपडा उद्योग लामो समयदेखि बन्द रहेकाले त्यहाँका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण अवस्थामा पुगेका थिए ।
यस्तो छ, हेटौँडा कपडा उद्योगको कथा
हेटौँडा कपडा उद्योगको स्थापना २०३२ सालमा भएको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले उद्योग स्थापना गरेको थियो । हेटौँडा औद्योगिक क्षेत्रको २ सय ३६ रोपनी क्षेत्रफलमा उद्योग फैलिएको छ । उद्योगले वि.स. २०३५ सालदेखि उद्योगले उत्पादन सुरु गरेको हो । स्थापनाकालमा दैनिक एक सिफ्टमा सञ्चालन भइरहेको उद्योगले उत्पादन क्षमता बढाएर २०३८ सालबाट दैनिक दुई सिफ्ट सञ्चालन ल्याएको थियो । २०३९ सालमा उद्योगले पुनःआफ्नो उत्पादन क्षमतामा विस्तार गरी दैनिक ३ सिफ्टमा उद्योग सञ्चालन हुन्थ्यो ।
त्यतिबेला उद्योगले वार्षिक १ करोड १० लाख मिटर कोरा कपडा, २ सय ५० मेट्रिक टन सुती कपडा र २ सय ५० मेट्रिक टन बुट्टेदार र सेता कपडा उत्पादन गर्ने गरेको थियो । स्थापनाकालदेखि नै नाफामा सञ्चालन हुँदै आएको उद्योग वि.स. २०५४ सालदेखि समस्यामा पर्न थालेको हो । वि.सं २०५७ माघ १८ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उद्योगमा ताला लगाइयो । उद्योगमा कार्यरत सबै कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएपछि राजनीतिक अस्थिरता, हस्तक्षेप, व्यवस्थापनमा कमजोर कारण स्थापनाको १९ वर्षपछि वि.स. २०५७ सालदेखि यो उद्योग पूर्ण रूपमा बन्द भयो ।
वि.स. २०५९ मा तत्कालीन सरकारले मन्त्रिपरिषद्को निर्णयबाट उद्योग नै खारेज गरिदियो । त्यतिबेला १२ सय जनाको प्रत्यक्ष रोजगारी खोसिएको थियो । उद्योग खारेज भएको ६ वर्षपछि वि.स.२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीको पोशाकमा प्रयोग हुने कपडा उत्पादन गर्ने भन्दै ९ करोड बजेट नै विनियोजन गरिएको थियो । वि.स.२०७३ सालमा उद्योग पुनः सञ्चालनबारे विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो ।
वि.स. २०७५ सालमा सरकारले उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको अध्ययन प्रतिवेदनसमेत तयार गरेको थियो । त्यसैगरी, वि.स.२०७५ सालमै नेपाली सेनालाई समेत संलग्न गराएर उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो । पछिल्लो पटक २०८१–०८२ को बजेटमा पनि हेटौँडा कपडा उद्योगलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो । स्थापनाकालमा कर्मचारीका छोराछोरीका लागि स्कुलसमेत सञ्चालन गरिएको उद्योगमा हाल सुरक्षाका लागि सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ । हाल हेटौँडा कपडा उद्योग औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्