धनगढी ।
अपाङ्गता भएका व्यक्तिको पहिचान, परिचयपत्र वितरण तथा तथ्यांक व्यवस्थापनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले धनगढीमा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण प्रणाली एप र सामाजिक सूचना व्यवस्थापन प्रणालीको पाइलटिङ तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको आयोजनामा भएको कार्यक्रममा युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक सहयोग तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वय थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० वटा पालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा धनगढी उपमहानगरपालिकाले सुरुदेखि नै काम गर्दै आएको बताइन् । उनले सुदूरपश्चिमका अन्य पालिकालाई आवश्यक सहयोग र सहकार्य गर्न धनगढी उपमहानगरपालिका सधैँ तयार रहेको बताइन् । सुदूरपश्चिम अपाङ्ग महासंघका अध्यक्ष नन्दराज भट्टले अपाङ्गतासम्बन्धी अवधारणा, यसको विकासक्रम, चिकित्सकीय तथा सामाजिक मोडल र अपाङ्गता सामाजिक निर्माणको विषयमा प्रस्तुति दिएका थिए । उनले अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्दा मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
भट्टले नेपालमा ६ लाख ५४ हजार ७ सय ८५ जना अपाङ्गता भएका व्यक्ति रहेको जानकारी दिँदै शारीरिक, दृष्टिविहीन, श्रवण, स्वर तथा बोली, मानसिक, बौद्धिक, हेमोफिलिया, अटिजम र बहुअपाङ्गतासहित विभिन्न प्रकारका अपाङ्गताबारे जानकारी गराए । उनले अपाङ्गता भएका व्यक्तिका लागि भएका कानुनी व्यवस्था, सञ्चार तथा सामाजिक अवरोध र स्थानीय अपाङ्गता समन्वय समितिमा देखिने प्रमुख जटिलताबारे पनि जानकारी दिए ।
कार्यक्रमका सहजकर्ता उमङ्ग मैनालीले यस एप तथा प्रणालीको प्रयोग, अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण प्रणालीको विकासक्रम, स्वमूल्याङ्कन प्रावधान र डाटाबेस व्यवस्थापनबारे प्रस्तुति दिएका थिए । डिजिटल प्रणालीको प्रयोगबाट स्थानीय तहबाटै अपाङ्गता भएका व्यक्तिको तथ्यांक व्यवस्थित गर्न, परिचयपत्र वितरणलाई सहज बनाउन तथा सेवाग्राहीले वडा तहबाटै सेवा लिन सक्ने वातावरण निर्माण गर्न सकिने कार्यक्रममा जानकारी दिइएको थियो । चिकित्सकबाट प्राप्त आवश्यक कागजातका आधारमा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरणको प्रक्रिया अघि बढाउन सकिने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा सेवा उपलब्ध गराउने, स्मार्ट कार्डको व्यवस्था गर्ने तथा स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको तथ्यांक व्यवस्थित गर्ने विषयमा छलफल गरिएको थियो । सामाजिक सुरक्षा क्षेत्रका त्रिलोत्तम पौडेलले अपाङ्गताको क्षेत्रमा विगतदेखि हुँदै आएका प्रयास क्रमशः प्रभावकारी बन्दै गएको बताए । उनले अपाङ्गतासम्बन्धी विषयमा कुनै समस्या देखिए आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रम हरेक पालिकामा विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले नीति तथा योजना निर्माण गर्दा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सबै वर्गका नागरिकलाई सहज हुने गरी योजना बनाउनुपर्ने बताए । कुनै पनि नीति तथा कार्यक्रम कार्यान्वयन गर्दा त्यसबाट बालबालिका वा अपाङ्गता भएका व्यक्ति प्रभावित हुने अवस्था छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।कार्यक्रमको सहजीकरण निड्स नेपालका मीन शाहीले गरेका थिए । कार्यक्रममा सहभागी पालिकाका प्रतिनिधिले एप र प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहमा आवश्यक तालिम, जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्