कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो



काठमाडौँ ।
कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद नाफा, सञ्चालन नाफा तथा वितरणयोग्य नाफामा उल्लेख्य गिरावट देखिए पनि निक्षेप र कर्जा विस्तार भने दोहोरो अंकले बढेको छ । विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२–०८३ मा २ अर्ब ६३ करोड ६ लाख रूपैयाँँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ७३ करोड २४ लाख रूपैयाँँको तुलनामा २९.५२ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले ९ अर्ब १२ करोड १५ लाख रूपैयाँँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ९ अर्ब ४४ करोड ७४ लाख रूपैयाँँको तुलनामा ३.४५ प्रतिशतले कम हो । त्यस्तै, सञ्चालन नाफा ५ अर्ब २१ करोड ८ लाख रूपैयाँँबाट घटेर ३ अर्ब ९४ करोड ३५ लाख रूपैयाँँमा सीमित भएको छ । बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम भने उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष ६३ करोड ७ लाख रूपैयाँँ रहेको यस्तो व्यवस्था गत आर्थिक वर्षमा बढेर १ अर्ब ७१ करोड ६० लाख रूपैयाँँ पुगेको छ, जसले नाफामा दबाब परेको देखिन्छ ।

नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफामा अझ ठूलो संकुचन आएको छ । गत आर्थिक वर्षको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रूपैयाँँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो २ अर्ब ४३ करोड ३० लाख रूपैयाँँ रहेको थियो । सञ्चित नाफा तथा नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रूपैयाँँ कायम भएको छ । यसका आधारमा साधारण सेयरधनीका लागि प्रतिसेयर वितरणयोग्य नाफा ६ रूपैयाँँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।

बैंकको कूल चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रूपैयाँँ रहेको छ । यसमध्ये १४ अर्ब ३० करोड रूपैयाँँ साधारण सेयर पूँजी र ५ अर्ब ४३ करोड रूपैयाँँ अग्राधिकार सेयर पूँजी रहेको छ । जगेडा कोष तथा सञ्चित नाफासहित कुल इक्विटी ३८ अर्ब ९० करोड रूपैयाँँ पुगेको छ । यद्यपि व्यवसाय विस्तारका सूचकहरू भने सकारात्मक देखिएका छन् । बैंकको निक्षेप १८.३६ प्रतिशतले वृद्धि भई ३ खर्ब ४७ अर्ब २१ करोड रूपैयाँँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५८ करोड रूपैयाँँ निक्षेप संकलन गरेको थियो ।

त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा १६.२४ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब १४ करोड रूपैयाँँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको कर्जा लगानी २ खर्ब १२ अर्ब ६७ करोड रूपैयाँँ रहेको थियो ।

गरिमा विकास बैंकको खुद बढ्यो नाफा (बक्स)

गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा आकर्षक सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ७६ लाख रूपैयाँ रहेको बैंकको खुद नाफा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रूपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको ३ अर्ब ६१ करोड २० लाख रूपैयाँको तुलनामा ५.६४ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ५६ लाख रूपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशतले वृद्धि भई २ अर्ब ५८ करोड १ लाख रूपैयाँ पुगेको छ । कर्जा असुलीमा आएको सुधार तथा प्रभावकारी जोखिम व्यवस्थापनका कारण बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ६४ करोड ७० लाख रूपैयाँबाट घटेर ४ करोड ९० लाख रूपैयाँमा सीमित भएको छ । नाफामा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २१ रूपैयाँ ९६ पैसाबाट बढेर २८ रूपैयाँ ४ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकले साधारण सेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने सबल क्षमता बनाएको छ । नियमनकारी समायोजनहरूपश्चात् बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रूपैयाँ रहेको छ भने अघिल्लो वर्षको सञ्चित नाफाबाट लाभांश समायोजन गरेपछि कूल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रूपैयाँ कायम भएको छ । यस आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रूपैयाँ २३ पैसा पुगेको छ ।

हाल बैंकको चुक्ता पूँजी अघिल्लो वर्षको ५ अर्ब ६८ करोड ५ लाख रूपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रूपैयाँ पुगेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी कूल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रूपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रूपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब २४ करोड ११ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । यससँगै बैंकको कूल सम्पत्तिको आकार ८.२१ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ४ करोड रूपैयाँ पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार