अरुणबहादुर खत्री ‘नदी’
नेपाली साहित्यमा कविता विधामा कलम चलाउँदै आएकी नारी साहित्यकार निरञ्जना चन्द निरुको वनफूलको विद्रोह नामक कवितासङ्ग्रह २०८२ सालमा प्रकाशित भएको छ । यो कवितासङ्ग्रहमा युगीन प्रतिध्वनि, वनफूल, विद्रोह, दिलमाया, दुई जिन्दगी एक राजमार्ग, आऊ गरौँ यात्रा, भुइँमान्छे लगायत विभिन्न शीर्षकका गद्यशैलीका एकसठ्ठीवटा कविताहरु सङ्गृहीत छन् । यो कवितासङ्ग्रह भित्रको युगीन प्रतिध्वनि शीर्षकको पहिलो कवितामा विशाल हृदयहरुको खानी विश्वभूगोलको एक टुक्रा मेरो देश धावा दिएर गाउँछ गी वीरताको कवयित्री निरञ्जनाले लेखेकी छिन् । कवयित्री निरञ्जनालाई साहित्य मन पर्छ साहित्यिक रचना लेखेर यसमै डुब्न उनी मन पराउँछिन् । तिम्रो दुनियाँका सभ्य र सुकिला मान्छेहरु जस्तै नाकमुख, हातगोडा, मन मस्तिष्क सबै सबै छन् यो राउटे दुनियाँका ख्याउटे र फुस्रा मान्छेहरुमा पनि वनफूल शीर्षकको कवितामा लेखिएको छ ।
हरेक मिर्मिरे बिहानीमा
घरको आँगनीमा
फूल फूलमा पात पातमा
जहाँ शीतका थोपा थोपा देखेँ
लाग्यो आज राति जून रोयो ।
प्रस्तुत कविता सङ्ग्रहको बारेमा प्रा।डा।जीवेन्द्रदेव गिरीले निरु उपनामले परिचित निरञ्जना चन्द कविताको मैदानमा कुदेको देखेर म अत्यन्त हर्षित छु भनेका छन् । यो उनको तेस्रो कृति हो । उनको पहिलो कृति निरुको साइनो नामक कवितासङ्ग्रह २०७६ सालमा प्रकाशित भएको थियो भने निरुपण मुक्तकसङ्ग्रह २०७७ सालमा प्रकाशित भएको थियो । वनफूलको विद्रोहकी कवयित्रीले वर्तमान समाजको नकारात्मक र सकारात्मक दुबै पक्षलाई चित्रण गरेकी छिन् । एक थरी मान्छेहरु समाजमा आएको परिवर्तन र उज्यालो पक्षलाई ठम्याउन सक्तैनन् र अँध्यारो, निराशा, कुण्ठा आदि मात्र पोखिरहन्छन् । प्रस्तुत सङ्ग्रहभित्रका कवितामा भने समाजमा आएको परिवर्तन, उत्साह र उज्यालो पक्षको पनि चित्रण गरिएको छ । निरञ्जनाले लेखेकी कवितामा जीवनको ध्वनि छ ।
त्यस ध्वनिले आफ्नो माटो, संस्कार, सभ्यता र पसिनालाई बढी स्पर्श गरेको बोध हुन्छ कविता पढ्दै जाँदा । उनले लेखेका कविताहरु मार्मिक, सुन्दर र प्रभावशाली छन् । शैलीमा निजत्व प्रवाहित रहेको पाइन्छ भने चिन्तन पक्ष विशेष देखिन्छ । कविताहरु प्रतिकात्मक छन् । प्राकृतिक र सांस्कृतिक बिम्बहरुले कवितालाई रोचक बनाएको छ । मलाई आँखाहरुसँग डर लाग्छ शीर्षकको कवितामा कार्यालयका कार्यकक्षहरुमा यात्रा र नियात्राहरुमा अवोध फूलजस्ता चेलीहरुका कोमलताहरु सताइरहन्छन् यसरी भनिएको छ । यस सङ्ग्रहभित्रका कविता पढ्दै जाँदा, कवयित्रीले जीवनजगत बुझ्ने क्रममा आफूले हासिल गरेका विविध अनुभवजन्य विषयहरूलाई कवितामा ढालेर प्रस्तुत गरेझैं लाग्छ । कवयित्री निरञ्जनाले यही हो तिम्रो उपहार शीर्षकको कवितामा लौ छोरी हेर उपहार के छ आमा त्यसमा रु यसमा के छैन र छोरी आँसुहरुको ओभानो दाग छ हेर न यी गुलाफी गाला एउटा ठुलो मैदान छ भनेर लेखेकी छिन् ।
पखेटा हुन्थ्यो भने मसँग पनि
जहाजभन्दा छिटो पुग्थेँ गन्तव्यमा
शरद्मा मात्रै उड्ने मालचरीलाई उछिनेर
म बाह्रै महिना उडिरहने मैनाचरीको वेग लिन्थेँ ।
कवयित्री निरञ्जनाले सिर्जना गरिएका कविताहरु यस कृतिभित्र बेजोडले कुदिरहेको देख्न पाइन्छ । कविको मन अत्यन्त कोमल हुन्छ, संवेदनशील हुन्छ त्यसैले ऊ सूक्ष्मभन्दा सूक्ष्म कुराहरुलाई नजिकबाट नियाल्न सक्छ । त्यसैले उसले कविता लेख्न सक्छ । कवयित्री निरञ्जनाले इमान्दारीपूर्वक निर्भीकताका साथ आफ्नो सभ्यता र संस्कृतिका साथै यावत् जीवनको जटिलतम गूढ रहस्यलाई प्रकृति, कला, विचारको माध्यमबाट सशक्त रुपमा अभिव्यक्ति दिएकी छिन् । उनले लेखेका कविताहरु स्तरीय र तिख्खर बन्दै गरेका छन् ।
मनमनै त हो आखिर
मनको गहिराइ नाप्ने यन्त्रको आविष्कार
जो कहाँ भएको छ र अहिलेसम्म ?
गुराँसहरु युद्ध गर्दैनन् शीर्षकको कवितामा हिउँको च्यादर ओढेको पृथ्वीमा हरिया दुबोको गलैँचा ओछ्याएको पखेरामा राता, सेता र गुलाफी आकाङ्क्षाहरुले भरिएर तातो घामसँग सेकिएर तिक्तता सुकाउँछन् भनिएको छ । ठुली मुस्कुराउँछे शीर्षकको अन्तिम कवितामा जीवनको पहाडमाथि उक्लँदै दुःखका छहरा नाघेर सङ्घर्षको झरनामा मुहार धुन्छे धर्तीमा उभिएर पीडाहरुका वर्सातमा ओत लाग्न आकाशको छाता ओढ्छे भनेर निरञ्जनाले लेखेकी छिन् । निरञ्जना चन्द निरु काव्यिक जगत्मा उदयीमान सर्जक हुन् । उनका समकालीन केही कविताहरु समय सान्दर्भिक र वलवान् देखिन्छन् । साँच्चै भन्ने हो भने निरञ्जनाद्वारा लेखिएका कविताहरुको भाषा सरल छ । सरल शब्दमा उनिएका कविताहरु पढ्नमा जति सजिलो हुन्छ त्यसैगरी बुझ्न समेत कठिनाइ पर्दैन भन्ने भनाई पाठक वर्गको देखिन आउँछ । अन्त्यमा उनका अन्य राम्रा राम्रा कविता सङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु ।









प्रतिक्रिया दिनुहोस्