काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो । ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौँ’ क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम सुरु भइसकेको छ । क्यानले घोषणा गरेको मिति दशैँ र तिहारको बीचमा परेको छ । मितिअनुसार तिहार सोही बेला परेको छ । यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो । मिति तोके पनि खेलतालिका भने सार्वजनिक भएको छैन । तिहारमा दुई दिनबाहेक अरु दिन खेल गर्ने क्यानको तयारी छ ।
धनन्जयले पोखराबाट खेल्ने (बक्स)
पोखरा एभेन्जर्सले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि श्रीलंकाका अलराउन्डर धनन्जय लक्षनसँग सम्झौता गरेको छ । पोखराले दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेको आधारमा लक्षनसँगको सहकार्यलाई निरन्तरता दिएको हो । अघिल्लो सिजन उनले तीन खेलमा १० विकेट लिँदै प्रभावशाली खेल देखाएका थिए । श्रीलंकाको राष्ट्रिय टोलीबाट तीन एकदिवसीय खेल खेलेका २७ वर्षीय लक्षनले सन् २०२१ मा इंग्ल्यान्डविरूद्ध डेब्यू गरेका थिए । यसअघि पोखराले बंगलादेशका अलराउन्डर शाकिब अलहसनलाई पनि भित्र्याएको थियो । सिजनमा पोखराको प्रशिक्षकमा श्रीलंकाकै अजन्था मेन्डिससँग सम्झौता गरेको थियो ।
कप्तानका रूपमा जनकपुरमा हर्मित सिंह अनुबन्ध (बक्स)
अमेरिकी क्रिकेटर हर्मित सिंह नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा कप्तानका रूपमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत हर्मितलाई अनुबन्ध गरेको जानकारी दिँदै उनलाई टोलीको कप्तानसमेत घोषणा गरेको हो । बाँयाहाते स्पिन बलिङ अलराउन्डर हर्मितले एनपीएलका सुरुवाती दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । उनले दुवै संस्करणमा सुदूरपश्चिमलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
हर्मितले पहिलो संस्करणमा पाँच खेल खेल्दै २८ रन बनाउनुका साथै आठ विकेट लिएका थिए । दोस्रो संस्करणमा भने उनले ब्याटिङमा १६६ भन्दा बढीको स्ट्राइक रेटमा नौ खेलबाट १३३ रन बनाएका थिए । बलिङतर्फ उनले ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए । भारतीय टोलीबाट सन् २०१२ को यू–१९ विश्वकप उपाधि जितेका हर्मित हाल अमेरिकी राष्ट्रिय टोलीबाट खेल्छन् । उनले २९ टी–२० आई खेलमा ३१ विकेट लिनुका साथै २४२ रन बनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्