वर्षौँदेखि रोकिएको गमगढी न्युरोडको सडक मर्मत



मुगु ।

जिल्ला सदरमुकाम गमगढी बजारको न्युरोड क्षेत्रमा लामो समयदेखि विवादका कारण रोकिएको सडक मर्मत तथा पूर्वाधार निर्माणको काम पुनः सुरु हुने भएको छ ।
सडक निर्माणका लागि आवश्यक सहजीकरण र समन्वय भएपछि रोकाया इनदेखि जुनतारा पसलसम्मको सडक खण्डमा डोजर लगाएर नाला निर्माण तथा सडकको आरसीसी ढलानको काम अघि बढाइएको हो ।

विवादका कारण लामो समयदेखि सडक निर्माणको काम रोकिँदा न्युरोड क्षेत्रका स्थानीयवासी तथा व्यवसायीले वर्षायाममा सास्ती खेप्दै आएका थिए । सडकको नाला र आरसीसी निर्माण अधुरै रहँदा वर्षाको पानी सडकमा जम्ने तथा बग्ने समस्या दोहोरिँदै आएको थियो । यसले पैदल यात्रु, सवारीसाधन तथा स्थानीय व्यवसायमा समेत प्रत्यक्ष असर पार्दै आएको थियो ।

सडक निर्माणमा देखिएको विवाद समाधान गर्न जिल्ला समन्वय समिति, छायाँनाथ रारा नगरपालिका, राजनीतिक दल, सुरक्षा निकाय तथा स्थानीयबीच समन्वय गरिएको थियो । सहजीकरणमा जिल्ला समन्वय समिति प्रमुखसँगै छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम र विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयको सहभागिता रहेको थियो ।

विशेषगरी सडक निर्माणका क्रममा जग्गासम्बन्धी विषयमा देखिएको असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गरिएपछि निर्माणको बाटो खुलेको हो । सडक विस्तार तथा संरचना निर्माणका लागि जग्गाधनीहरूले समेत आवश्यक सहजीकरण गरेपछि लामो समयदेखि रोकिएको काम अघि बढाउन सहज भएको नगर प्रमुुख भामले बताए ।

उनका अनुसार न्युरोड गमगढी बजारको व्यस्त क्षेत्र भएकाले यहाँको सडक तथा नाली व्यवस्थापनलाई स्थानीयले लामो समयदेखि प्राथमिकताका साथ उठाउँदै आएका थिए । भने वर्षायाम सुरु भएपछि नाली व्यवस्थित नहुँदा सडकमा पानी जम्ने, हिलो हुने तथा बजार क्षेत्रको आवागमन प्रभावित हुने समस्या नियमितजस्तै बनेको थियो ।
‘अधुरो नाला तथा आरसीसी निर्माणका कारण बर्सेनि समस्या दोहोरिँदै आएको थियो, यसपटक काम अघि बढ्ने भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्,’ उनले भने, ‘लामो समयदेखि रोकिएको निर्माण कार्य पुनः सुरु हुनु बजारको सडक पूर्वाधार सुधारका दृष्टिले महत्वपूर्ण कदम हो ।’

अब निर्माण कार्य समयमै सम्पन्न भए न्युरोड क्षेत्रको वर्षायाममा हुने समस्या कम हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले भने निर्माण कार्य गुणस्तरीय र दिगो ढंगले सम्पन्न गर्न तथा काममा पुनः अवरोध नआउने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । विवाद समाधानपछि निर्माणको वातावरण बनेसँगै गमगढी न्युरोडको रोकिएको सडक मर्मतले निरन्तरता पाउने भएको हो । वर्षौँदेखि अधुरो रहेको यो सडक र नाला निर्माण पूरा भए बजार क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीय व्यवसाय र सर्वसाधारणलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार