नयाँ मुलुकका पुराना सहर



कमल डाँगी
बाँके (नेपालगन्ज), १६ माघ
बाँके ‘नयाँ मुलुक’मा बसेका पुराना सहरहरु कतिपय खण्डहरमा परिणत भएका छन् । कति आधुनिकताको लयमा आफूलाई ढाल्न संघर्षरत छन् । बर्दियाको राजापुर होस् चाहे कैलालीको कटासे यिनले समयक्रमसँगै आफूलाई स्थापित गर्न सकेनन् । कुनैबेला व्यापारको मुख्य थलो बनेका राजापुर र कटासे जस्ता नयाँ मुलुकका पुराना सहरहरु आज सामान्य बजारका रुपमा समेटिएका छन् ।
तर, बाँकेमा नेपालगन्ज, बर्दियामा गुलरिया, कैलालीमा धनगढी र कञ्चनपुरमा महेन्द्रनगर जस्ता सहर जिल्ला सदरमुकाम भएका कारण सदावहार छन् । आफ्नो विकासक्रममा थुप्रै राजनीतिक उतारचढाउ व्यहोरे पनि नेपालगन्ज आज पनि पश्चिमको प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित छ । गुलरिया जहाँको त्यही अवस्थामा छ भने धनगढी सुदूरपश्चिमको प्रादेशिक राजधानी बनेको छ । पश्चिममा योजनाबद्ध विकास गरिएको महेन्द्रनगर बजार उदाँउदो छ ।


नयाँ मुलुकका पुराना सहरहरु कुनै खण्डहरु त कुनै जहाँको त्यही भइरहँदा नयाँ सहरहरु स्थापित हुने क्रममा छन् । बाँकेमा कोहलपुर, बर्दियामा बाँसगढी, कैलालीमा लम्की, टीकापुर जस्ता सहरहरुले ठूलै फड्को मारिसकेका छन् । नेपालगन्जका पूर्व मेयर वरिष्ठ अधिवक्ता विजय गुप्ता भन्छन्, ‘समयक्रमानुसार ठाउँको विकास हुन सकेन भने कुनै बेला ठूला सहर गाउँमा परिणत हुन बेर लाग्दैन । राजापुर होस् चाहे दाङको कोइलाबास यसैका इतिहास हुन ।’
पश्चिम तराईलाई नयाँ मुलुक किन भनिन्छ, थोरै इतिहास खोतलौं । विक्रम सम्वत् १९१४ सालमा सुगौली सन्धिमा नेपालले गुमाएको थियो । पश्चिमी नेपालका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई पछि मात्र फिर्ता गरिएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई नयाँ मुलुक भनिन्छ । विक्रम सम्वत् १९१४ साल ९ ईसन् १८५७ मा भारतको ईष्ट इण्डिया कम्पनी सरकारविरुद्घ भारतका सिपाहीहरु, राजारजौटा र जनताहरूले ठूलो विद्रोहको सुरुवात गरे । विद्रोहले विशालरुप लिएपछि निर्णायक जीतका लागि उनले नेपाल सरकारसँग अंगे्रजविरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनउका नवावले पनि नेपाल सरकारसँग अंग्रेजविरुद्घ सैन्य सहयोग मागेका थिए । तर, नेपालका प्रधानमन्त्रीसमेत रहेका श्री ३ सरकार जंगबहादुर राणा भने अन्दोलनकारीलाई सहयोग नगरी भारतमा अंग्रेजविरुद्घ भएको सशस्त्र जनअन्दोलन दबाउन अंग्रेजहरुलाई सैन्य सहयोग गर्न चाहेको इतिहासका विभिन्न टिपोटहरु पाइन्छ ।

जंगबहादुर राणाले आफ्नै नेतृत्वमा सेनाको विशाल फौज लिई काठमाडौंबाट गोरखपुरका लागि प्रस्थान गरे । त्यहाँ पुगेपछि जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर वरसतपुर, बादशाहगंज, लखनउ आदि ठाउँमा विद्रोहीहरू सँग भीषण संघर्ष गरी विद्रोहीहरूलाई पराजित तुल्याएको थियो । विद्रोह समाप्त भएपछि जंगबहादुर २३ मार्च १८५८ मा ईष्ट इण्डिया कम्पनीका तत्कालीन गभर्नरलाई भेट्न ईलाहाबाद गएका थिए । त्यहाँ चार दिन बसी बनारस हुँदै ४ मे १८५८ मा जंगबहादुर काठमाडौं आइपुगेको इतिहासमा उल्लेख छ । यो विजयबाट अत्यन्तै खुसी भइ ब्रिटिश सरकारद्वारा जंगबहादुरलाई ईस १८५९ मा सुगौली सन्धिद्वारा नेपालले गुमाएका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गर्न होम डिपार्टमेन्टमार्फत ईष्ट इण्डिया कम्पनीका डाइरेक्टरलाई सिफारिस गरेका थिए । ईसन् १ नोभेम्वर १८६० मा ब्रिटिश सरकार र नेपाल सरकारबीच सन्धि भयो ।

यो सन्धिअनुसार सुगौली सन्धिमा नेपालले गुमाएका पश्चिमी नेपालका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरिएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई नयाँ मुलुक भनिन थाल्यो । नयाँ मुलुकअन्तर्गत पर्ने पूर्वको राप्ती नदी र पश्चिमको महाकाली नदीबीचको भू–भागमा निकै ठूलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगलभित्र पर्दथ्यो । आजभन्दा १५५ वर्ष अगाडि यहाँ बस्ती थिएन । यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो ।

यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालीन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाइ भतिजा र राजकुमारहरु र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रिटेनका राजकुमार प्रीन्स अफ वेल्सले पनि यहाँ सिकार खेल्न आएकोे इतिहास पाइन्छ ।
यसरी स्थापित नयाँ मुलुकका सहरहरु मुख्यगरी व्यापारिक थलोका रुपमा स्थापित भए । भारतसँग सीमा जोडिएका कारण आयात निर्यातको केन्द्र बने । हाटबजारदेखि सुरु भएको व्यापारिक सम्बन्धले ठूलो आकार ग्रहण गरेको छ । नयाँ मुलुकका पुराना सहरहरुले राजनीतिक उतारचढाउ भने सधै व्यहोर्नुपरेको बताउँछन्, नेपालगन्जका पूर्व मेयर विजय गुप्ता । उनी भन्छन्, ‘नेपालगन्जलाई सधै केन्द्र सरकारले हेलाको नजरले हे¥यो ।’
पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा यि सहरमा कुनै पनि ठूला योजना पारिएन । पुराना सहरको ऐतिहासिक पक्षलाई जोगाउने योजनाबद्ध विकास नगर्ने हो भने लोप भएर जाने खतरा रहेको गुप्ता बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार