कोहलपुर ।
बाँकेका दुई अस्पतालले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्नको लागि अनुमति पाएका छन् । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न गइरहेको हो । सोही क्रममा सोमवार बाँकेका दुई अस्पताललाई राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले संक्रमितको उपचार गर्न अनुमती दिएको थियो ।
नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट भएका हुन् । अब यहाँका दुई अस्पतालमा समेत कोरोना संक्रमणको गम्भीर बिरामीमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्न सकिनेछ । भेरी सरकारी अस्पताल हो भने नेपालगञ्ज मेडिकल कलेज नीजि अस्पताल रहेको छ । यस क्षेत्रको कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदुरपश्चिमको सेती अस्पतालले समेत ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्न अनुमती पाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप कुमार ज्ञवालीले चार वटा निजीसहित १२ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको बताए ।
अब यी अस्पतालहरूले कोरोना संक्रमणको गम्भीर बिरामीलाई प्लाज्मा दिएर उपचार गर्न सक्छन् । तर त्यसको लागि दाता र संक्रमित बिरामी दुबैको स्वीकृति हुनुपर्ने डा. ज्ञवालीले जानकारी दिए । यसरी प्लाज्मा दान गर्ने व्यक्तिको लागि परिषद्ले एउटा मापदण्ड तोकेको छ । पहिलो कुरा भनेको प्लाज्मा दान गर्ने व्यक्तिले रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिनु हुँदैन । साथै दाताको संक्रमण पुष्टि आरटी पीसीआर विधिबाटै भएको हुनुपर्छ । यस्तै दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ । परिषद्ले प्लाज्मा लिने बिरामीको लागि पनि मापदण्ड तोकेको छ । पहिलो कुरा प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्छ ।
साथै संक्रमित अस्पताल भर्ना भई उपचार भएको र निजको अवस्था पनि गम्भीर हुनुपर्छ । ‘बिरामीको अवस्था गम्भीर भएको हुनुपर्छ वा चिकित्सकले बिरामीको अवस्था गम्भीर हुनसक्ने भनेर पुष्टि गर्नुपर्छ’ डा. ज्ञवालीले भने । अर्को कुरा संक्रमित बिरामीले आफूलाई उक्त विधिबाट उपचार गर्न भनेमात्र अस्पतालहरूले निजको उपचारमा यो विधि प्रयोग गर्न पाउँछन् । यो विधिबाट अस्पतालहरूले संक्रमितको अस्पताल बसाइको अवधि, स्वास्थ्य पर्ने प्रतिकूल असर वा सुधार हुने कुरालाई अध्ययन पनि गर्नुपर्ने हुन्छ । यसमा सुरूआतदेखि नै परिषद्ले पनि अनुसन्धान र अध्ययन गरिरहेको डा. ज्ञवालीले बताए । सरकारबाट अनुमति पाएका अस्पतालहरूले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न तयारी थालेका छन् ।
नेपालमा पहिलोपटक यो विधिबाट उपचार टिचिङ अस्पतालमा भएको छ । विराटनगरका ६० वर्षीय संक्रमित पुरूषमा प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । र उपचारपछि बिरामीमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन टिमका संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘गत बिहीबार उहाँलाई प्लाज्मा दियौं । पछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार देखियो ।’ गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो । त्यसपछि उनलाई आइसियूमा राखेर उपचार गरियो ।
पछि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको थियो । तर बिहीबार उनलाई प्लाज्मा दिएपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको डा. दासले बताए । ‘अहिले उहाँको निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ । पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको छ’ उनले भने, ‘अब त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि छैन । साथै दोस्रो पटक प्लाज्मा दिनुपर्ने स्थिति पनि देखिँदैन ।’ सरकारले प्लाज्मा थेरापीबाट उपचार प्रभावकारी देखिएपछि अन्य अस्पतालहरूलाई पनि स्वीकृति दिएको हो । सुरुवाती १२ वटा अस्पताललाई अनुमति प्रदान गरिएकोमा थप जनशक्ति र पूर्वाधार हेरेर अन्य अस्पतालहरूलाई पनि अनुमति दिने स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्