काठमाडौँ ।
स्टार फुटबलर लियोनल मेसी विश्वकप फाइनलमा अर्जेन्टिना स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको १० दिनपछि इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन् । विश्वकपपछि इन्टर मियामीले खेलेका सिकागो र मोन्ट्रियलविरुद्धका पहिलो दुई खेलमा मेसी अनुपस्थित थिए । यद्यपि मेसीबिना पनि मियामीले दुवै खेल जित्दै लगातार जितको संख्या ६ पु¥याएको छ ।
३९ वर्षीय मेसीले बुधबार राति चार्लोटमा भएको मेजर लिग सकर र लिगा एमएक्स अल–स्टार खेलमा पनि सहभागिता जनाएनन् । उनले केही समय बिदा लिएर आफ्ना पिता जोर्गे मेसीलाई भेट्न समय बिताएका थिए । विश्वकपकै क्रममा मेसी परिवारले जोर्गे एक अज्ञात स्वास्थ्य समस्यासँग जुधिरहेको जानकारी दिएको थियो । मेसीले यसपटक आफ्नो कीर्तिमानी छैटौँ विश्वकप आठ गोल र चार असिस्टसहित समाप्त गरे ।
उनी अर्जेन्टिनालाई लगातार दुईपटक विश्वकप जिताउने उपलब्धिबाट केवल एक जित टाढा रहे । सन् १९५८ र १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने अर्को टोली बन्ने अर्जेन्टिनाको प्रयास फाइनलमा रोकिएको हो । मेसीले विश्वकपको दोस्रो खेलमा आफ्नो १७औँ गोल गर्दै मिरोस्लाभ क्लोजको करिअरमा सर्वाधिक विश्वकप गोल गर्ने कीर्तिमान तोडेका थिए । तर फ्रान्सका युवा स्टार किलियन एम्बाप्पेले प्रतियोगिता मेसीभन्दा एक गोल बढी गर्दै २२ गोलसहित पूरा गरे। मेसीको नाममा २१ विश्वकप गोल रह्यो ।
इन्टर मियामीले हालसम्म ११ जित, २ हार र ४ बराबरीबाट ३७ अंक जोडेको छ । टोली शीर्ष स्थानमा रहेको नासभिल एससीभन्दा दुई अंकले पछाडि छ । मेसी शनिबार घरेलु मैदानमा कोलम्बस क्र्युविरुद्ध हुने खेलमा मैदान फर्किने वा नफर्किने अझै निश्चित भएको छैन । विश्वकपपछि मेसीले अर्जेन्टिनाबाट आफ्नो अन्तर्राष्ट्रिय करिअर मात्र होइन, क्लबस्तरको खेल जीवनसमेत अन्त्य गर्न सक्ने चर्चा चलेको थियो । बार्सिलोना र पेरिस सेन्ट–जर्मेन (पिएसजी)का पूर्वफरवार्ड मेसीले विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने वार्षिक बालोन डि’ओर अवार्ड अहिलेसम्म आठपटक जितिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्