अशान्त बन्यो देशको पूर्वी क्षेत्र



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

पूर्वी नेपालका कोशी र मधेश प्रदेशका केही जिल्ला अशान्त बनेका छन् । १० साउन रातदेखि कोशी प्रदेशको सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा चोकमा राखिएको झण्डालाई लिएर सुरु भएको विवाद साम्य नहुँदा पूर्वी नेपाल नै अशान्त बनेको हो । विवाद झडपमा परिणत भएपछि आइतबार रातिदेखि सुनसरीको देवानगञ्ज क्षेत्र तनावग्रस्त छ । सोही घटनामा परी अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन् ।

गत साउन १० गते सुनसरीमा भएको झडपमा २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको थियो । सोही झडपमा घाइते भइ उपचारका क्रममा बिहीबार जयप्रकाश मेहताको निधन भएको छ । उक्त घटनामा अन्य १० जना घाइते भएका थिए । कप्तानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशकै सिरहा जिल्लामा समेत झडपमा परी एक जना युवकको मृत्यु भएको छ । कफ्र्यु आदेश जारी भएपछि पनि सिरहाको गोलबजार क्षेत्रमा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो ।

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सुरक्षाकर्मीको गोली लागेर औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको जानकारी दिए । घाइते एक जनाको स्थानीय गोलबजारस्थित क्लिनिकमा उपचार भइरहेको छ । गोलबजारमा बिहीबार पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । सुनसरी, धनुषा र सिराहामा कफ्र्यु लगाइएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीको कप्तानगञ्जबाट आइतबार रातिदेखि फैलिएको तनाव मधेश प्रदेशतिर सर्दै गर्दा भौतिक क्षति पनि बढेको हो ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा पनि दुई समुदायबीचको तनाव बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले जनकपुरधामसहित केही नगरपालिका क्षेत्रमा अहिले साढे ३ बजेदेखि कफ्र्यु आदेश जारी गरेको छ । मधेस प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशको वर्तमान शान्तिसुरक्षा अवस्थाको समीक्षा गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो ।

मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्ने निर्णय गरिएको उल्लेख छ । सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवले बताएका छन् । पूर्वी नेपालको अवस्था झन् झन् अनियन्त्रित बन्दै गएपछि राष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वराजादेखि राजनीतिक दलका प्रमुखहरुले संयमित हुन अपिल गरेका छन् । राजनीतिक माग, पहिचानको आन्दोलन वा बेलाबखत धर्मसँग जोडिएर आउने विवाद हुन्, मधेसका जिल्लाहरूमा त्यसको विस्तार निकै तीव्र देखिने गरेको छ ।

के गर्दैछन् सरकार र रास्वपा

१० साउन रातिदेखि कोशी प्रदेशको सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा चोकमा राखिएको झण्डाका कारण विवाद भएको पाँच दिन पुग्यो । सोही दिन एकजनाको मृत्यु भएको थियो । एक दर्जन बढी घाइते भएका थिए । घटनालगत्तै सरकारले सुनसरीका सिडिओ, एसपीसहित सुरक्षा अधिकारीको जिम्मेवारी खोस्यो । घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन ग¥यो । घटना भएको पाँच दिन पुग्दा अवस्था झन् जटिल बन्दै गएको छ ।

देशको अवस्था जटिल बन्दै जाँदा यतिबेला सरकार र सत्तारुढ दल रास्वपाको व्यापक खोजी भइरहेको छ । यता सरकार र सत्ताधारी रास्वपाले दुई दिनयता सक्रियता बढाएका छन् । बुधबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरे । बैठकले सुनसरीलगायतका जिल्लामा विकसित घटनालाई लिएर शान्ति र सद्भावको लागि सामूहिक अपिल जारी गरेको थियो । बैठकमा सहभागी राजनीतिक दलहरुले ७ बुँदे अपिल निकाल्दै ९ दलका शीर्ष नेताले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गरे ।

बुधबार साँझ प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिए । त्यसअघि गृहमन्त्री सुधन गुरुङले समेत नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलसँग सामूहिक छलफल गरेका थिए । उक्त भेटमा सुरक्षा प्रमुखहरुले राजनीतिक तहबाट विवादको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

बिहीबार १८ दिनपछि चलेको प्रतिनिधिसभा बैठकले दलहरुले सुनसरी घटनाका सम्बन्धमा सरकारले गरेका कामका बारेमा सरकारको जवाफ खोजेका थिए । तर बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ अनुपस्थित थिए । प्रतिनिधिसभा बैठक चलिरहँदा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्का बैठक चलिरहेको थियो । बिहीबार दिउँसो पूर्वी नेपालको अवस्था झन् जटिल बन्यो । सुनसरीको झडप र विवादको श्रृंखला सिरहा र धनुषा लगायतका जिल्लामा पुग्यो । एकजनाको मृत्यु नै भयो ।

देशको अवस्था जटिल बन्न थालेपछि पूर्वी नेपालको अवस्था झन् झन् अनियन्त्रित बन्दै गएपछि राष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वराजादेखि राजनीतिक दलका प्रमुखहरुले संयमित हुन अपिल गरे । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भयो । लगत्तै गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता सुनसरी गए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन शाहसँगको भेटपछि गृहमन्त्री त्यता जान लागेका हुन् । यता रास्वपा सभापति रवि लामिछानेले मधेश र कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरुसँग सामूहिक रुपमा छलफल गरे ।

सुनसरी, सिरहालगायत पूर्वी जिल्लाहरूमा बढ्दो तनावबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई आ–आफ्नो क्षेत्र गएर समन्वयकारी भूमिका खेल्न निर्देशन दिएका छन् । अपराह्न पार्टी कार्यालयमा कोशी र मधेस प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् । मधेसकेन्द्रित चार दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले ८ बुँदे विज्ञप्ति जारी गरेका हुन्।

रामचन्द्र पौडेल, राष्ट्रपति

सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा हो । राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु । नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्नेछ । आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ ।

विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका समुदायबीचको आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्व नै नेपाली समाजको गौरव र राष्ट्रिय शक्तिको आधार हो । वर्तमान संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अपनाउन आग्रद गर्दछु । अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहनुपर्छ ।

केपी शर्मा ओली, एमाले अध्यक्ष

राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुगेको छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ ।

पुष्पकमल दाहाल, नेकपा अध्यक्ष

सुनसरी घटनाप्रति चिन्तित छु । सामाजिक सद्भाव कायम राख्न र राष्ट्रिय एकता अहिलेको आवश्यकता हो । सम्पूर्ण देश एकताबद्ध रूपमा यो तनाव कम गर्न समर्पित हुनुपर्छ । ९ दलले सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल जारी गरेका छौँ । असहज परिस्थितिमा सबभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधानतः, कानुनतः र व्यवहारतः प्रधानमन्त्रीले नै हो ।

ज्ञानेन्द्र शाह, पूर्वराजा

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश हो । विविधता नै देशको गौरव तथा पहिचान हो । देशको मौलिक मान्यताविपरीत यस्ता अवाच्छित घटनाहरू हुनु चिन्ताको विषय हो । जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ । आजको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार