सम्पादकीयः खिरसँग जोडिएको संस्कृति र कृषि



नेपालमा साउन १५ लाई ‘खिर खाने दिन’का रूपमा मनाउने परम्परा केवल एउटा खानाको संस्कृतिमा सीमित छैन । यो नेपाली कृषि सभ्यता, पारिवारिक आत्मीयता र श्रमप्रतिको सम्मानसँग गाँसिएको पर्व हो । असारभरि हिलोमा पसिना बगाएर धान रोपाइँ सम्पन्न गरेका किसानका लागि यो दिन श्रमको उत्सव हो भने परिवारका लागि सँगै बसेर खुसी बाँड्ने अवसर । तर परम्पराको यो मिठाससँगै आज नेपाली कृषिको तितो यथार्थ पनि जोडिएको छ । खिरका मुख्य सामग्री दूध, चामल र चिनी हुन् । यी तीनै वस्तु नेपालको कृषि उत्पादनसँग सम्बन्धित छन् । तर विडम्बना, यिनै वस्तुमा मुलुकको आत्मनिर्भरता चुनौतीपूर्ण बन्दै गएको छ । धान उत्पादन गर्ने किसानले उत्पादनको उचित मूल्य पाउन संघर्ष गर्नुपरेको छ । दुग्ध किसानले भुक्तानी नपाएको गुनासो दोहोरिइरहेको छ । खेतीयोग्य जमिन बाँझो बस्ने क्रम बढ्दो छ भने कृषि पेशाबाट युवा पलायन हुने प्रवृत्ति पनि उस्तै चिन्ताजनक छ । यस्तो अवस्थामा खिर खाने दिनले हामीलाई एउटा गम्भीर प्रश्न सोध्छ—के हामी कृषिलाई साँच्चिकै सम्मान गरिरहेका छौँ ? परम्पराले कृषकको श्रमलाई सम्मान गर्न सिकाउँछ । तर व्यवहारमा किसान अझै पनि सबैभन्दा उपेक्षित वर्गमध्ये एक बनेका छन् । मल, बीउ, सिँचाइ, बजार र उत्पादनको उचित मूल्यजस्ता आधारभूत समस्याले किसानलाई हरेक वर्ष सताइरहेकै छन् ।

कृषि आधुनिक बनाउने प्रतिबद्धता धेरै सुनिन्छ, तर त्यसको प्रभाव गाउँका खेतसम्म पर्याप्त रूपमा पुग्न सकेको छैन । परिणामस्वरूप खेती गर्ने मानिस घटिरहेका छन् र आयातमा निर्भरता बढिरहेको छ । यो अवस्था कुनै पनि कृषि प्रधान मुलुकका लागि सुखद संकेत होइन । अर्कोतर्फ, खिर खाने दिनले सामाजिक र सांस्कृतिक मूल्य पनि सम्झाउँछ । आधुनिक जीवनशैली, व्यस्तता र सामाजिक सञ्जालको प्रभावले परिवारबीच सँगै बसेर समय बिताउने अवसर घट्दै गएका छन् । यस्ता पर्वले परिवारका सदस्यलाई एउटै भान्सामा, एउटै टेबलमा र एउटै भावनामा जोड्ने काम गर्छ । संस्कृतिको संरक्षण भनेको केवल परम्परा दोहो¥याउनु मात्र होइन, त्यसको भावनालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि हो । यही कारणले खिर खाने दिनको सन्देश पुस्तान्तरणसँग पनि जोडिएको छ । यस अवसरलाई स्थानीय उत्पादनको प्रवद्र्धनसँग पनि जोड्न सकिन्छ । आफ्नै गाउँ–ठाउँमा उत्पादन भएको दूध, चामल र अन्य कृषि उपजको प्रयोग बढाउँदा किसानलाई प्रत्यक्ष लाभ पुग्छ । उपभोक्ताले स्वदेशी उत्पादन रोज्ने बानी बसाल्न सके कृषि अर्थतन्त्रलाई नयाँ ऊर्जा मिल्न सक्छ । यसका लागि सरकारको नीति, निजी क्षेत्रको सहकार्य र उपभोक्ताको सचेत व्यवहार समान रूपमा आवश्यक छन् । साउन १५ को महत्व मिठो परिकारमा मात्र सीमित छैन । यसले श्रमको सम्मान, कृषिप्रतिको विश्वास, परिवारको एकता र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकतालाई एकैसाथ स्मरण गराउँछ ।

त्यसैले खिर खाने दिनलाई औपचारिक शुभकामनामा सीमित नराखी कृषकको जीवन सहज बनाउने, कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउने र स्थानीय उत्पादनको प्रयोग बढाउने राष्ट्रिय संकल्पका रूपमा रूपान्तरण गर्न सक्नुपर्छ । किसानको अनुहारमा मुस्कान नफर्केसम्म खिरको मिठास पूर्ण हुँदैन । साउन १५ को वास्तविक सन्देश पनि यही हो—कृषिको सम्मान गरौँ, किसानको श्रमको मूल्य चुकाऔँ र परम्परालाई उत्पादनसँग जोडेर आत्मनिर्भर नेपालको आधार बलियो बनाऔँ । खिर खाने दिन वर्षमा एकपटक आउने सांस्कृतिक अवसर मात्र होइन, हाम्रो कृषि, खाद्य सुरक्षा र सामाजिक मूल्यबोधको पुनः समीक्षा गर्ने क्षण पनि हो । परम्परालाई जीवित राख्ने सबैभन्दा प्रभावकारी उपाय त्यसलाई वर्तमान आवश्यकता र व्यवहारसँग जोड्नु हो । किसानको श्रमको उचित सम्मान, स्थानीय उत्पादनको संरक्षण र उपभोगमा आत्मनिर्भरता बढाउने सामूहिक प्रयासबाट मात्र यस्ता पर्वको सार्थकता कायम रहन्छ । साउन १५ ले हामीलाई मिठो स्वादभन्दा ठूलो सन्देश दिन्छ—समृद्ध समाजको आधार खेतमा पसिना बगाउने हात हुन् । ती हात सुरक्षित, सम्मानित र उत्साहित भए मात्र हाम्रो संस्कृति पनि जीवन्त रहन्छ र भविष्यका पुस्ताले यसको वास्तविक महत्व अनुभूति गर्न सक्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार