कोहलपुर (बाँके) ।
बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर बढ्दा बर्दियामा भने पाटेबाघको संख्या ह्वात्तै घटेको छ । विश्व बाघ दिवसको अवसरमा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार बाँकेमा पाटेबाघको संख्या ह्वात्तै बढ्दा बर्दियामा भने पाटेबाघको संख्या घटेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको बाघ गणनाको नतिजाअनुसार बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ५१ वटा पुगेको छ ।
सन् २०२२ मा गरिएको गणनाअनुसार बाँकेमा पाटेबाघको संख्या जम्मा २५ थियो । काठमाडौँमा कृषि तथा वनमन्त्री गीता चौधरीको उपस्थितिमा सार्वजनिक गरिएको तथ्यांकअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १२ मात्रै पाटेबाघ गणना गरिएको छ । जबकी बर्दियामा अघिल्लो गणनामा १ सय २५ बाघ थिए । चार वर्षको अन्तरमा बर्दियामा मात्रै पाटेबाघको संख्या १३ वटा घटेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बर्दियाबाहेक बाँकेसहित देशभरका अन्य निकुञ्जमा समेत पाटेबाघको संख्या बढेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी अहिभद्र आचार्यका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ७१ पुगेको छ । त्यहाँ सन् २०२२ को गणनामा ४१ पाटेबाघ थिए।
सूचना अधिकारी अहिभद्र आचार्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ५० पुगेको बताए ।
अघिल्लो गणनामा त्यहाँ कूल ३६ वटा पाटेबाघ थिए । यसपटकको गणनामा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा बाघको संख्या १ सय ४५ पुगेको छ । यसअघि चितवनमा बाघको संख्या १ सय २८ थियो । योसँगै पछिल्लो गणनाअनुसार देशभरि पाटेबाघको संख्या अब ४ सय २९ पुगेको छ । अघिल्लो पटक देशभर ३ सय ५५ बाघ थिए । क्यामेरा ट्रयाप विधि प्रयोग गरेर २०८२ पुस १६ देखि वैशाख १० गतेसम्म बाघ गणना गरिएको थियो । यसपटक देशैभरि कूल ७४ वटा पाटेबाघ बढेको विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्