एक अर्ब ६३ करोड बढीको कृषिजन्य वस्तु निकासी



oppo_0

सल्यान ।

जिल्लामा कृषि उत्पादनसँगै किसानको आम्दानी पनि वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा जिल्लाबाट एक अर्ब ६३ करोड रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य वस्तु निकासी भएका हुुन् । बजार मूल्य र बजारीकरणले किसानको आम्दानी निर्धारण गर्ने तथ्य उजागर गरेको छ । तर अघिल्लो आर्थिक वर्षको तुलनामा किसानले झन्डै साढे चार करोड रुपैयाँ कम आम्दानी गरेका छन् । कृषि विकास कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा जिल्लाबाट तीन लाख ५७ हजार २३२ मेट्रिकटन कृषिजन्य वस्तु निकासी हुँदा एक अर्ब ६३ करोड ३६ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा तीन लाख ५५ हजार ५९३ मेट्रिकटन उत्पादन निकासी भई एक अर्ब ६९ करोड १० लाख ४ हजार रुपैयाँ आम्दानी भएको थियो । तथ्यांकअनुुसार एक वर्षमा एक हजार ६३९ मेट्रिकटन उत्पादन बढे पनि किसानको आम्दानी चार करोड ६४ लाख ८८ हजार रुपैयाँले घटेको छ । कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यका अनुसार उत्पादनमा वृद्धि भए पनि बजारमा कृषिजन्य वस्तुको मूल्य घट्दा किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।

जिल्लाबाट सबैभन्दा बढी ताजा मौसमी तथा बेमौसमी तरकारी निकासी भएको छ । आठ हजार ४८७ मेट्रिकटन तरकारी बिक्रीबाट किसानले ४९ करोड ७६ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका छन् । त्यस्तै आठ हजार ४६५ मेट्रिकटन अदुवा निकासीबाट ४० करोड २० लाख ८७ हजार रुपैयाँ प्राप्त भएको छ । सुन्तला, कागती र किवी चार हजार ५८४ मेट्रिकटन बिक्री हुँदा ३९ करोड ९२ लाख ३२ हजार रुपैयाँ भित्रिएको छ ।

आलुबाट पनि उल्लेख्य आम्दानी भएको छ । आठ हजार २५० मेट्रिकटन आलु निकासीबाट २३ करोड ५० लाख ३० हजार रुपैयाँ प्राप्त भएको छ । यसैगरी एक हजार ५५० मेट्रिकटन मकै तथा बीउ बिक्रीबाट चार करोड ९६ लाख रुपैयाँ, तीन लाख २५ हजार ५५० वटा फलफूलका नर्सरी बिक्रीबाट एक करोड ९४ लाख ६६ हजार रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ ।

अन्य कृषिजन्य वस्तुमध्ये नौ मेट्रिकटन महबाट ९० लाख रुपैयाँ, दुुई मेट्रिकटन अलैचीबाट ४० लाख ५० हजार रुपैयाँ, ९५ मेट्रिकटन बेसारबाट २२ लाख ५० हजार रुपैयाँ र तिल, भांगो, सिमी, भटमास र बदाम गरी १७० मेट्रिकटन निकासीबाट २० लाख १० हजार रुपैयाँ आम्दानी भएको छ । सल्यानमा उत्पादन भएका कृषिजन्य वस्तु दाङ, नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँलगायतका प्रमुख बजारमा पुग्ने गरेका छन् ।

तर उत्पादन बढ्दै जाँदा पनि किसानले उचित मूल्य नपाउँदा आम्दानी घट्नु कृषि क्षेत्रका लागि चिन्ताको विषय बनेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उत्पादन वृद्धिसँगै मूल्य स्थिरता, भण्डारण, प्रशोधन उद्योगको विस्तार र व्यवस्थित बजार पहुँच सुनिश्चित गर्न नसके किसानको आर्थिक अवस्था सुदृढ हुन कठिन छ । जिल्लाको पछिल्लो तथ्यांकले पनि कृषिमा उत्पादन बढाउनु मात्र नभई त्यसको उचित मूल्य सुनिश्चित गर्नु अहिलेको मुख्य चुनौती देखिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार