गोदावरीमा थारू माघ महोत्सव सुरु



गोदावरी (कैलाली) ।

गोदावरी नगरपालिकामा थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्ने उद्देश्यसहित गोदावरी नगरस्तरीय थारू माघ महोत्सव सोमबारदेखि सुरु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मझगाउँमा थारू कल्याणकारिणी सभा, मझगाउँ थारू सामुदायिक होमस्टे लगायतका संस्थाहरूको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको उद्घाटन प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिमका कुलपति डाक्टर टिएन जोशीले दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुलपति डाक्टर जोशीले थारू समुदाय नेपालको प्राचीन र समृद्ध सांस्कृतिक समुदाय भएको उल्लेख गरे । उनले थारू समुदायका संस्कार, भाषा, कला र परम्परा राष्ट्रिय सम्पदा भएको भन्दै यस्ता महोत्सवहरूले सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

महोत्सव थारू समुदायले हर्षोल्लासका साथ मनाउने माघी पर्वको अवसरमा आयोजना गरिएको हो । थारू समुदायमा नयाँ वर्षका रूपमा मनाइने माघी पर्वले सामाजिक एकता, मेलमिलाप र सांस्कृतिक निरन्तरताको सन्देश दिने आयोजकको भनाइ छ । महोत्सवमार्फत थारू समुदायका मौलिक नाचगान, भेषभूषा, खानपान, स्थानीय कला तथा जीवनशैलीलाई व्यापक रूपमा प्रस्तुत गरिनेछ ।

कार्यक्रममा मझगाउँ थारू सामुदायिक होमस्टेका अध्यक्ष कल्पना चौधरीले स्वागत मन्तव्य राख्दै महोत्सवले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । उनले थारू सामुदायिक होमस्टेमार्फत आगन्तुकलाई थारू जीवनशैली नजिकबाट बुझ्ने अवसर प्रदान गरिँदै आएको जानकारी दिइन् ।

गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा सदस्य हरिराम चौधरीले थारू समुदायको पहिचान संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्पराप्रति आकर्षित गर्ने उल्लेख गरे । कार्यक्रमको अध्यक्षता थरूहट कल्याण सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले गरेका थिए ।

अध्यक्ष चौधरीले थारू समुदायको ऐतिहासिक योगदान र सांस्कृतिक महत्वबारे चर्चा गर्दै परम्परागत ज्ञान र मूल्यलाई पुस्तान्तरण गर्न यस्ता महोत्सव आवश्यक रहेको बताए । कार्यक्रममा पूर्वप्रदेशसभा सदस्य चुनकुमारी चौधरीले पनि मन्तव्य राख्दै थारू समुदायले भोग्दै आएका सामाजिक, सांस्कृतिक र आर्थिक चुनौतीबारे चर्चा गरिन् ।

उनले राज्यका सबै निकायले थारू समुदायको भाषा, संस्कृति र अधिकार संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । महोत्सव अवधिभर थारू समुदायका परम्परागत नृत्य, लोकगीत, सांस्कृतिक झाँकी, हस्तकला प्रदर्शनी तथा स्थानीय परिकारहरूको स्वाद लिन सकिने व्यवस्था गरिएको छ । साथै, स्थानीय कलाकारहरूको प्रस्तुति र सांस्कृतिक कार्यक्रमले महोत्सवलाई अझ आकर्षक बनाउने आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन सानू चौधरीले गरेकी थिइन् । महोत्सवमा स्थानीय बासिन्दा, विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । आयोजकका अनुसार महोत्सवले थारू समुदायको सांस्कृतिक पहिचान सुदृढ गर्नुका साथै सामाजिक सद्भाव र पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । मोहत्सव १४ गतेसम्म सञ्चालन हुने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार