नपुरिएको सशस्त्र युद्धको घाउ, घाइते कमाण्डरको नारकीय जीवन



शुभाकर विश्वकर्मा । कोहलपुर ।

इट्टा र सिमेन्टको संयोजनले बनेको छ, दुई तले घर । तल्लो तलामा तीन कोठा छन् । एक कोठामा भान्सा, अर्को सुत्ने कोठा छ । न छ ढोका न झ्याल नै सबै खुल्लै छ । एकापट्टी टाँगिएको छ च्यातिएको झुल । केही थान लुगा झुण्डाइएको छ किलामा । भूईमा छ चारपाई (खाट) । एक कुनामा दुई चार बट्टा छन् । अर्का कुनातिर थाल, कटौरा र कराई । साँधुरो गल्लीमा राखिएको प्लाइउडको खाटमा हाते पंखा हल्लाउँदै जिउँदो लास झै पल्टिरहेकी छन् उनी । अर्थात देशको मुहार फेर्छु भन्दै पढ्दापढ्दै युद्धको मोर्चामा होमिएकी मध्येकी एक हुन्, कमरेड साकार उर्फ वृक्षा उखेरा । विगत सात वर्षदेखि कोहलपुर, ११ को सुकुम्बासी बस्ती नजिकै बेवारिसे रुपमा बसिरहेकी छन् । जनयुद्धको बेला तानसेन मिसनको मेला मेरुदण्ड भाँचिएकी उनी त्यही बेला देखि बेसाहारा भएकी हुन् । त्यही बेला पूर्ण अपांगता भएकी पुर्व माओबादी लडाकु हुन्, उखेरा । बैशाखीको सहायताले उठबस गर्नु पर्ने उनको जीवन दुःखै दुःखको प्राय बनेको छ ।

अहिले उनको न कोही अघि छन्, न कोही पछि । ‘न घरको न घाटको भएको छ जीवन । बसौ बाँस छैन खाउँ गाँस छैन । जाउ कतै न कुनै गन्तव्य पनि छैन ।’ उनले भनिन् । जो अहिले पूर्ण बेसाहारा, असहाय र बेवारिसे जीवन दिइरहेकी छन् । मेरुदण्ड भाँचिएको मात्रै १३ वर्ष भइसकेको छ । पछिल्लो केही वर्षयता कृत्रिम मेरुदण्ड भएपछि काम गर्न छोडेपछि बेसाहारा भएको उनले बताइन् । अझै २५ लाख रुपैयाँ खर्च लाग्छ । यति धेरै पैसा उनको सम्पूर्ण श्री सम्पति बेचेपछि पनि आउँदैन । यो वीचले उनले देशका उपराष्ट्रपति देखि प्रचण्डसम्म गुहारिन् ।

विद्रोहका बेला ठूला ठूला सपना देखाए । हामी सिंगो जीवन दिन तयार भयांै । तर अहिले सत्तामा पुगेपछि दुई मिनेटसम्म भेट्ने समय दिदैंनन् । धेरैपटक आफू उनीहरुबाट अपमानित हुनु परेको बताउँछिन् । ‘समायोजनको बेला भारतमा उपचारको क्रममा भएकोले छुटे । केही पनि पाइन । पूर्व लडाकुलाई दिने सुविधाको परको कुरा, अपांगताका भएका व्यक्तिले प्राप्त गर्ने एक प्रमाणपत्र समेत छैन्’ उनले भनिन् । एकातिर अर्धमृत शरिर, रोगी बुढी आमा र अबोध बालबच्चासँग उनी नारकीय जीवन विताउँदै बसेकी छिन् ।

मेरुदण्डको उपचारपछि उनको जीवनमा जोडिएका थिए, माओबादीका कार्यकर्ता आशिराम रसाइली २०६४ सालमा । उनी हालको रुकुम पश्चिमका हुन् । उनी पनि सामान्य अवस्थामा थिइन्, उपचारपछि । घरबार ठिकै चलिरहेको थियो । दुःख र शसक्त शरिरको साहारा बनेका थिए । सबै कुरा ठिकठाक चलिरहेको थियो । सात वर्ष अघि बसाइँसराइँ गरेर कोहलपुर आए । घरको आर्थिक अवस्था नाजुक भएपछि धन कमाउन भारत गएका श्रीमान मरे की जिउँदै छन् अत्तोपत्तो छैन । केही वर्ष पहिले भारतको केदारनाथमा गएको बाढीमा परेको हल्ला सुनेकी छन् । खास कुरा अहिलेसम्म पनि थाहा छैन । तीन बच्चाकी आमा समेत हुन् । जेठो छोरा पनि सुस्त मनस्थितिका छन् । एक छोरो र एक छोरी वृक्षा सँगै बस्छन् । बुढी आमा पनि साथै छन् ।

उनीहरु सबैको हेरचाह भने दिदीकी छोरीले गर्दै आएकी छन् । उनका अनुसार अहिले मागेरै जिन्दगी चलाउनु पर्ने बाध्यता रहेको छ । वृक्षा भन्छिन्– ‘आफूले सँगै युद्ध लडेका मानिसहरु सत्ता छन् । धेरै आशा थियो । तर कसैले सहयोग गरेनन् । फोन समेत उठाउँदैनन् । के गर्ने यस्तै छ ।’ साँझ विहान के खाने टुंगो छैन । जिन्दगीदेखि हारिसकेकी उनका केही आशा भने राख्न छोडेकी छैनन् । जिल्ला मै दलित समुदायका विभिन्न संघ संस्थादेखि सांसद भएपनि आफ्नो दुःख कसैले नदेखेको बृक्षाले गुनासो गरिन् । स्थानीय, प्रदेश र संघीय सरकारमा पार्टी कै मानिसहरु छन् । तर कसैले पनि उनको दर्द सुनेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १६ गते मंगलबार