वीरेन्द्रनगर ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बर्खेमेला अर्थात् दैलेखी लाखेनाच प्रस्तुत गरिने भएको छ । दैलेखी सेवा समाज सुर्खेतको आयोजनामा कला संस्कृति जगेर्ना तथा प्रचारप्रसारका लागि आज र भोलि लाखेनाच देखाइने भएको हो । परम्परागत कला संस्कृतिको उत्थान गर्न लाखेनाच २०८२ अन्तर्गत वीरेन्द्रनगरका विभिन्न स्थानमा लाखेनाच देखाउन लागिएको दैलेखी सेवा समाजले जनाएको छ ।
राजस्व कार्यालयनजिक रहेको समाजको कार्यालयमा स्वागतसँगै कालिनचौकमा रहेको कृष्ण मन्दिरबाट आज दिउँसो २ बजे लाखेनाच सुुरु हुनेछ । कालिनचौकबाट वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडी हुँदै घण्टाघरमा पनि नाच देखाइने जनाइएको छ । घण्टाघरपछि लाटीकोइली डाँडामा लाखेनाच देखाइने कार्यक्रम छ । भोलि साँझ ५ बजेबाट मंगलगढी चौक हुँदै गणेश चौकसम्म लाखेनाच देखाउने कार्यक्रम तय भएको छ ।
वीरेन्द्रनगरमा रहेका विभिन्न बजारहरु, विद्यालयहरु, होटल तथा टोलहरुको मागअनुसार लाखेनाच देखाउने तयारी छ । दैलेखमा देखाइने परम्परागत लाखेनाच वीरेन्द्रनगरमा देखाइनु कला संस्कृतिको प्रचार र सिकाइ आदानप्रदान समेत हुने विश्वास लिइएको समाजसेवी सुशील केसीले बताए । दुई दिनसम्म देखाइने लाखेनाच परम्परागतरूपमा चल्दै आएको मौलिक नाच हो ।
नयाँ पुस्ताले नाच र बाजाको मौलिकता अंगाल्न नसकिरहेको अवस्थामा कला संस्कृति आदानप्रदान समेत हुने विश्वास दैलेखी सेवा समाजले लिएको छ । उता दैलेख सदरमुुकामा पनि भगवति क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबको तीन वटा लाखेनाच देखाउने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्