सारंगी बजाएर जीविकोपार्जन गर्ने ‘यायाबर’ जाति हो गन्धर्व । गौरवपूर्ण इतिहास बोकेको यो जाति वर्तमानमा भने सीमान्तकृत अवस्थामा छ । हालसम्म राज्यको मूलप्रवाहमा आउन नसकेको गन्धर्व समुदायको मुख्य पेसा नै अहिले लोपोन्मुख अवस्थामा छ ।नेपाली नागरिकका रूपमा केवल नागरिकता छ । भूमिहीन र सुकुम्वासीको परिचय बोकेर जीवनयापन गरिरहेको गन्धर्व समुदाय राज्यविहीनताको अवस्थामा छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
अन्धकारको भुमरीमा, बल्झियो हाम्रो जीवन
कतै आँसु, कतै जीवन रेटियो, हाम्रो जीवन ।।
सांरगीवादक, स्रष्टा तथा अभियन्ता स्वर्गीय वीरबहादुर गन्धर्वले लेखेको गीतको हरफ हो यो । प्रस्तुत गीतको हरफले भनेझैँ गन्धर्वको जीवन अहिलेपनि अन्धकारको भुमरीमा छ । इतिहासमा स्वर्णीम अक्षरले लेखिएको गन्धर्वको जीवनगाथा मेटिने अवस्थामा छ । दोस्रो दर्जाको नागरिकको उपमा बोकेर बस्न बाध्य छन् । पिछडिएको जातिको रूपमा देशभर छाप्रा र खरको छानाका भरमा कठोर जिन्दगी व्यथित गरिरहेका छन् । गन्धर्वमा अहिलेपनि जागरणको कमी छ । राजकीय भूमिकामा गन्धर्वको उपस्थिति निकै कम छ । जीवनको सारथी छ त केवल एउटै सारंगी । राजादेखि गणतन्त्रका राजाहरूसम्मका लागि प्रिय बन्यो सारंगी । तर त्यही सारंगी रेट्ने गन्धर्व किन अछुत र सीमान्तकृत बन्न पुगे ? गन्धर्व समुदायले अहिलेपनि भोगिरहेको दुःखान्तबारे वीरबहादुर थप लेख्छन् ।
सम्पत्तिको नाममा हाम्रो यही सारंगी बाजा ।
बज्नै छाड्यो भन्छन्, सबले गाउँघरमा आज ।।
गन्धर्वको सबथोक यही सारंगी नै हो । हिजोआज चौतारा, घर–घरमा बज्न छोडिसकेको छ । अहिले सबैको हात–हातका मोबाइलमा ¥याप, पप अनि आधुनिक गीत बज्न थालेका छन् । तीव्र प्रविधि विकासको चेपुवामा सांरगी परेको छ । सारंगीको रेटाइमा गन्धर्वको वर्तमानको कथा–व्यथा बोल्ने सारंगी लोप हुने अवस्थामा छ ।
उनी आजभन्दा पाँच दशकअघि दाङबाट बाँकेको कोहलपुर झरेका थिए । उनको दुई वर्षअघि निधन भइसकेको छ । बाँचुञ्जेल तत्कालीन सत्ता (स्थानीय सरकार)सँग निकै संघर्ष गरेर बसाल्न सफल भएको बस्ती हो, कोहलपुर नगरपालिका वडा नम्बर ११ लोकनगरस्थित ‘गन्धर्व बस्ती’ ।
यो त्यही बस्तीले भोगिरहेको राज्यविहीनता, अभाव, आशा र अपेक्षाको दुःखान्त हो ।
एक सीमान्तबस्ती ः ‘गन्धर्व बस्ती’
बाँकेमा आठ स्थानीय तह छन् । तीमध्येको एक हो कोहलपुर नगरपालिका । कोहलपुरमा जम्मा १५ वटा वडा रहेका छन् । तीमध्येको एक हो, वडा नम्बर ११ । जुन कोहलपुर नगरपालिकाको मुटु हो । कोहलपुरको मुख्य मुकाम रहेको वडासमेत हो, वडा नम्बर ११ । सामान्यत मुकामलाई अरुको भन्दा बढी सुविधा, विकास र उपलब्धता भएको क्षेत्रको रूपमा हेरिन्छ । जहाँ मानिसका आधारभूत आवश्यकताका साथै सडक, विद्युत्, खानेपानीसहित अन्य सुविधाको पहुँच हुन्छ ।
तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट कोहलपुर चौराहाको पश्चिमतर्फ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर–धनगढी सडकखण्डको मूलसडकदेखि पूर्वतर्फ पाँच सय मिटर दूरीमा पर्छ लोकनगर । यही लोकनगरमा अवस्थित छ, ‘गन्धर्व बस्ती’ । यस बस्तीमा २० घरधुरी छन् । यो बस्ती २०७६ साल १३ गते पहिलोपटक स्थानान्तरण भएको हो । पहिलोपटक नगरपालिकाले १० जना गन्धर्व परिवारलाई कोहलपुर–११ स्थित डुडुवा नालाबाट यहाँ स्थानान्तरण गरेको थियो । दोस्रो चरणमा २०७८ सालमा थप १० जना परिवारलाई डुडुवा नालाबाटै ल्याइएको थियो ।
डुडुवा नाला क्षेत्रमा दर्जनाँैको सङ्ख्यामा उनीहरू बेवारिसेरूपमा बसोबास गर्दै आएका थिए । यद्यपि त्यहाँ अहिलेपनि गन्धर्व समुदायका साथै अन्य समुदायका सयौँ भूमिहीन सुकुम्वासीहरूको बसोबास रहेको छ । कोहलपुर नगरपालिकाले नमुना बस्ती निर्माण कार्यक्रमअन्तर्गत यो बस्ती निर्माण गरेको थियो । लुटबहादुर रावत नगरप्रमुख हुँदा सम्पन्न भएको नमुना बस्ती निर्माण योजनाअन्तर्गत २५ घर बनाउने योजना थियो । एक करोडभन्दा बढी लागतमा यो बस्ती निर्माण गरिएको हो ।
बस्तीमा ३ वटा कोठा, शौचालय, बाथरुमसहितको आवास रहेका छन् । उक्त बस्तीमा एउटा घरमा न्यूनतम ४ जनादेखि अधिकतम १० जनाको परिवार बसोबास गर्दै आएका छन् । २० वटा घरमा अन्दाजी १५० जनासम्म ‐आधिकारिक तथ्यांक छैन्) जनसङ्ख्या रहेको छ । गन्धर्व समुदायको मुख्य पेसा सारंगी बजाउने हो । गन्धर्व समुदायका पुरुषहरू सांरगी बजाउँछन् । महिलाहरू गृहिणी छन् । युवाहरू मजदुरी गर्छन्। यस बस्तीका बालबालिका सरकारी विद्यालयमा अध्ययन गर्छन् ।
लोकनगरमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा उनीहरू अध्ययन गर्छन् । जुन सरकारी विद्यालय हो । उक्त बस्तीका तीनजना भने संस्थागत विद्यालयमा अध्ययन गर्छन् । उक्त बस्तीमा हाल कुनैपनि व्यक्ति सरकारी जागिरे छैनन् । लालबहादुर बैगार भने नेपाल प्रहरीका सेवानिवृत्त हुन् । प्रहरी जवानबाट जागिर सुरु गरेका उनी असई पदसम्म पुगेर रिटायर्ड भए । प्रेम वादी ब्याचलर पास गरेर एनजीओमा काम गर्छन् । त्यहाँका तीनजना युवा वैदेशिक रोजगारका लागि विदेश छन् ।
एकजना महिला पनि हाल विदेशमा छिन् भने एकजना दुई वर्ष विदेश बसेर भर्खरै घर फर्किसकेकी छन् । बस्तीमा दुईजनाले खुद्रा पसल खोलेका छन् । कोहलपुर नगरपालिकामा सबैभन्दा धेरै गन्धर्वहरूको बसोबास रहेको बस्ती वडा नम्बर २ मा छ । त्यहाँ अन्दाजी २९ घरधुरी गन्धर्व समुदाय रहेका छन् । उसो त कोहलपुरका अन्य वडामा समेत गन्धर्व समुदायको छिटफुट बसोबास रहेको छ । कोहलपुर–११ को डुडुवा खोला बस्तीमा अहिले १० घरधुरी गन्धर्व समुदायका व्यक्तिहरूको बसोबास रहेको छ । वडा नम्बर १२ मा ६ घरधुरी र वडा नम्बर १३ मा ५ घरधुरी गन्धर्व समुदायको बसोबास रहेको छ ।
गन्धर्वहरू भन्छन्, ‘यस्तो जिन्दगी खै के जिन्दगी’
६० वर्षीय प्रेम गन्धर्वले जीवन पाँच दशक सारंगी बजाएरै बिताए । उनले दश वर्षको उमेरदेखि सारंगी बजाउन सुरु गरेका थिए । उनले दुई वर्षअघिसम्म निरन्तर सारंगी रेटे । दुई वर्षअगाडि बस्तीका साथीहरूसँग सारंगी बजाएर जीविकोपार्जनकै लागि सल्यानको सल्लीबजार गएको बेला उनलाई एक्कासि प्यारालाइसिस भयो । त्यतिबेलादेखि उनको आधा शरीर चल्दैन । दायाँतिरको शरीर काँधदेखि खुट्टा चल्दैनन् । उनी एक्कासि बिरामी परेपछि कोहलपुर ल्याइएको थियो ।
लगत्तै उपचारका लागि कोहलपुरस्थित कौशिल्या अस्पताल लिएर एक महिनासम्म उपचार गरिएको श्रीमती भगवती गन्धर्व बताउँछिन् । उनका अनुसार हालसम्म प्रेमको उपचारका लागि ६ लाख रूपैयाँभन्दा धेरै खर्च भइसकेको छ । ‘घरको कमाउने नै उहाँ हुनुहन्थ्यो । प्यारालाइसिस भएपछि हाम्रो त आम्दानीको स्रोतनै रोकिएको छ । ऋण गरेर उपचार गराउँदा ६ लाख रूपैयाँ खर्च भयो । तर उहाँलाई सञ्चो हुन सकेन् । जीवन र मरणको अवस्थामा हुनुहुन्छ ।’ आम्दानीको स्रोत नहुँदा साँझबिहान हातमुख जोड्ने समस्या भएको उनी बताउँछन् ।
उपचारको लागि खर्च व्यवस्थापन नहुँदा प्रेम घरमै थलिएका छन् । उनलाई दिशा पिसाब गराउनसमेत अरुले नै बोक्नुपर्ने अवस्था छ । उनले जिन्दगीभर सांरगी रेटे । यस्तै नियति भोगिरहेको छ, शेरबहादुर गन्धर्वको परिवारले । ५० वर्ष कटिसकेका उनी अहिलेपनि सांरगी रेट्दै देशका विभिन्न जिल्ला घुमिरहन्छन् । उनीसहितको टोली गत महिनामात्रै कर्णालीका विभिन्न जिल्लामा घुमेर आएको थियो । शारीरिकरूपमा अशक्त भएपनि उनी दशजनाको परिवार पाल्नकै लागि सांरगी बजाउन बाध्य छन् । भन्छन्, ‘आफ्नो हालत खराब छ । परिवार पाल्नकै लागि सांरगी बजाउने गरेको छु । जिन्दगी चलाउन गाह्रो छ ।’
उनले रोजगारीको उचित व्यवस्था नहुँदा सांरगी रेटेर मात्र जीवन चलाउन धौ धौ रहेको सुनाए । उनको घर कुनैपनि सदस्य रोजगार छैनन् । अन्न फलाउने जमिन नहुँदा र रोजगारी नहुँदा आफूहरूलाई जीविकोपार्जनमा समस्या रहेको उनले बताए । आफूले सिकेको पेसा सांरगी बजाउने मात्रै भएकोले सक्ने बेलासम्म सारंगी बजाउने शेरबहादुरको भनाइ छ । प्रेम र शेरबहादुर प्रतिनिधि पात्र मात्र हुन् ।
गन्धर्व बस्तीमा एक प्रकारको उकुसमुकुस छ । जहाँ उनीहरू अभावै अभावमा स्वास फेरिरहेका छन् । त्यहाँका पुरुषहरू सांरगी बजाउँछन् । महिलाहरू घरायसी काम गर्छन् । ज्याला मजदुरी उनीहरूको मुख्य आम्दानीको स्रोत हो । युवाहरू भने कोही विदेश त कोही कालापहाडमा मजदुरी गर्न जान्छन् । केही युवायुवती भने कुलतमा फसेका छन् ।
सारंगीसँगै रेटिएका गन्धर्वहरू ः राज्यसँग गुनासैगुनासा
लोकनगरमा गन्धर्व बस्ती एक छ । तर त्यहाँका अभाव, दुःख र गुनासाका अनेक किस्सा छन् । गन्धर्व समुदायको इतिहास गौरवपूर्ण छ । तर वर्तमान अभावै अभावमा रुमलिएको छ । राज्यसँग गुनासाका पोका छन् उनीहरूसँग । गन्धर्व अगुवा दलबहादुर गन्धर्व राज्यले नै गन्धर्व समुदायलाई उपेक्षामा पारेको बताउँछन् । उनका अनुसार गन्धर्व समुदायको गौरवपूर्ण इतिहास छ । तर राज्यको मूलप्रवाहमा कहिल्यै आउन सकेनन् । राज्यले सबैभन्दा धेरै उपेक्षा गरेको समुदाय गन्धर्व नै रहेको उनले बताए ।
‘हामी पनि नेपाली नागरिक हौँ । हामीसँग नेपाली नागरिकता छ । तर हामीसँग सरकार छैन् । सरकार भएको अनुभूति हामीलाई कहिल्यै भएन।’ उनी प्रतिप्रश्न गर्छन्, ‘सरकार के हामी नेपाली नागरिक होइनौँ र ? हामीमाथि मात्रै किन सधैँ सौतेनी व्यवहार ?’ देशमा तीन तहका सरकार छन् । घर नजिकैको सिंहदरबारको रूपमा रहेको स्थानीय सरकारले समेत आफूहरूलाई उपेक्षा गरेको बताउँछन् स्थानीय सुरेश गन्धर्व । उनका अनुसार गन्धर्व समुदायमा सरकार र नेता आउने भनेको चुनावमा मात्रै हो । ‘चुनावको बेला हामी तपाईँहरूको बस्ती विकास गर्छौँ ।
रोजगार दिन्छौँ भन्छन् । भोट हालेपछि अहिलेसम्म फर्किएका छैनन् । फेरि चुनाव आउँदैछ । फेरि आउने होलान्,’ उनले भने । अब आफूहरूलाई आश्वासनभन्दा काम चाहिएको सुरेशले बताए । आफ्ना मुद्दा र मागहरू सम्बोधन गर्न सक्ने नेता चाहिएको उनको भनाइ छ ।स्थानीय सरकारले समेत आफूहरूका कुरा नसुनेको उनीहरूको आरोप छ । गन्धर्व समुदायको हकहितका लागि काम गरिदिन पटकपटक लिखितरूपमा आग्रह गर्दासमेत आफूहरूको माग सुनुवाइ हुन नसकेको उनले बताए ।
वडा सरकारले योजना सञ्चालन गर्दा आफूहरूलाई कहिल्यै पनि प्राथमिकतामा नराखेको गन्धर्वको भनाइ रहेको छ । अहिले २० घरधुरी बसोबास गरिरहेको बस्ती २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगरप्रमुख लुटबहादुर रावतको पालामा निर्माण गरिएको हो ।तत्कालीन नगरप्रमुख रावतले गन्धर्व समुदायको लागि आफूहरूको राम्रो काम गरेको अर्का स्थानीय रामबहादुर गन्धर्वले बताए ।
तर २०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरूले गन्धर्व समुदायको लागि कुनैपनि काम नगरेको उनको भनाइ छ । दलित समुदायबाटै निर्वाचित जनप्रतिनिधिहरूले समेत आफूहरूलाई आश्वासन मात्रै दिएको उनले बताए । ‘हामीलाई आश्वासन चाहिएको छैन् । विकास चाहिएको छ । रोजगार र शिक्षा चाहिएको छ ।’ उनले मिसन टुडे दैनिकसँग भने ।
बस्तीका प्रमुख समस्या ः रोगदेखि विकाससम्म
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ लोकनगरस्थित गन्धर्व बस्तीका २० घरधुरी गन्धर्व परिवारले आफूहरूले आधारभूत सुविधा नपाएको गुनासो गरेका छन् । शुद्ध खानेपानी, निजी शौचालय, सडक, नालीजस्ता पूर्वाधारको अभावका कारण उनीहरूको दैनिक जीवनमा ठूलो कठिनाइ छ । जनप्रतिनिधि र स्थानीय सरकारले पटकपटक आश्वासन दिएपनि माग पूरा नगरिदिएपछि टोलवासी आक्रोशित छन् ।यतिमात्रै होइन गन्धर्व बस्तीले बहुआयामिक समस्या भोगिरहेको छ ।
आधारभूत स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको यो बस्तीका नागरिक विभिन्न रोगका कारण ग्रसित छन् । मुख्य जीविकोपार्जनको स्रोत नै लोपोन्मुख अवस्थामा पुग्नु यस बस्तीको प्रमुख समस्या हो । पहिलाको जस्तो सांरगी बजाएर जीवन जिउन मुस्किल हुने यहाँका नागरिक बताउँछन् । यहाँका नागरिक मजदुरी गर्न बाध्य छन् । रोजगारीको सुविधा नहुँदा विदेशदेखि कालापहाड धाउनुपर्ने बाध्यतामा छ, गन्धर्व बस्ती । रोजगारी नभएपछि गन्धर्व बस्तीका युवाहरू कुलतमा फसेका छन् ।
कोहलपुरको विकसित वडाभित्र पर्ने भएपनि यस बस्तीमा विकास अझै छिरेको छैन । बस्तीसम्म पुग्न सडक पक्की छैन । बस्ती नजिकै व्यवस्थित नाला नहुँदा यहाँका नागरिकले समस्या भोग्नु परिरहेको छ । आफूहरूले स्थानीय सरकारसँग पक्की नालाको लागि माग गर्दा पनि सुनुवाइ हुन नसकेको गुनासो उनीहरूको छ । व्यवस्थित र पक्की नाला नहुँदा स–साना बालबालिका दुर्घटनाको उच्च जोखिममा रहेका छन् । हिडडुल गर्नसमेत समस्या रहेको छ । साइकलमा यात्रा गर्नसमेत उनीहरूलाई समस्या रहेको छ ।
बाहिरका मानिसहरूबाट आफूहरूलाई जोखिम रहेको उनीहरूले बताएका छन् । बस्तीभन्दा बाहिरका केटाहरू आएर अनावश्यक होहल्ला गर्ने गरेको उनीहरूको गुनासो छ । गन्धर्व समुदायले भोगिरहेको अर्को समस्या उनीहरू बसिरहेको घरको उनीहरूसँग स्वामित्व नहुनु हो । जतिजना घरमा बसिरहेका छन् उनीहरूको नाममा अहिलेसम्म लालपुर्जा छैन ।
राष्ट्रका कथा व्यथा गन्धर्वले गाउने ।
नेपाली भई नेपालमा बस्ने ठाउँ नपाउने ।।
अहिले बाँकेमा बसोबास गर्ने अधिकांश गन्धर्वहरूको छाप्रोको बास छ । खुला आकाश छाना, धर्ती ओछ्यान अनि सारंगीको सिरानी छ । जग्गा, जमिन, लालपुर्जा आफ्नो भन्नु केही छैन् । छ त केवल राज्यले दिएको नागरिकता अनि पुर्खाको विरासत विरह गाउने सांरगी ।









प्रतिक्रिया दिनुहोस्