व्यवसायीले सुनाए करदेखि सवारी व्यवस्थापनका समस्या



नेपालगन्ज ।

बाँके नेपालगन्जका व्यवसायीहरूले सरोकारवालाहरूसमक्ष आफ्ना समस्याहरू सुनाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा भएको दसैँतिहारलगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरूले आफ्ना समस्याहरू सुनाएका हुन् । कार्यक्रममा बोल्ने व्यवसायीहरूले मुख्यगरी उद्योग वाणिज्य संघमा न्यायोचित प्रतिनिधित्व, घरबहाल कर, सहरको यातायात व्यवस्थापन एवं स्पा, मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरणको मापदण्ड पालना तथा बजार अनुगमनबारे ध्यानाकर्षण गराएका छन् ।

संघमा नयाँ कार्यसमिति निर्वाचत भएपश्चात् भएको पहिलो सार्वजनिक महत्वको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ तथा जिल्लाका व्यवसाय क्षेत्रमा सरोकार राख्ने सरकारी निकायका अधिकारीहरूसमेत उपस्थित थिए ।उक्त कार्यक्रममा बोल्दै कृषि उद्यमी सुजाता खरेलले नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा संघको कार्यक्षेत्रमा पर्ने सबै क्षेत्रका व्यवसायीको प्रतिनिधित्व हुन नसकेको बताइन् ।

भूगोलको मात्रै नभई अहिले नेपालगन्जको केही क्षेत्रका व्यापारीहरूको मात्रै वर्चस्व रहेको भन्दै आगामी दिनमा उद्योगीहरूको प्रतिनिधित्व गराउनुपर्ने सुझाव दिइन् । उनले संघमा कृषि उद्यमीलाई मतदाताको रूपमा मात्रै हेरिएको महसुस भएको पनि दुःखेसो पोखिन् । सोही कार्यक्रममा व्यवसायी धु्रव दाहालले घरबहाल कर घरमालिकले तिर्नुपर्नेमा नेपालगन्जमा व्यवसायीहरूलाई नै तिराउने काम भइरहेको तर, स्थानीय सरकारले निकास दिन नसकेको बताए ।

उनले स्थानीय सरकारले स्पष्ट कार्यविधि बनाएर घरबहाल कर तिर्नका लागि घरमालिकलाई नै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । अर्का व्यवसायी पूर्णप्रसाद गौतमले प्रशासन र स्थानीय सरकारले नेपालगन्जको यातायात व्यवस्थापन गर्न नसकेको बताए । उनले यात्रुबाहक सवारीसाधनहरू नेपालगन्ज बसपार्कबाट छुट्ने व्यवस्था कडाइपूर्वक लागू गर्नुपर्नेमा त्यसो नगरी सडकमै रोकेर यात्रु झार्ने र चढाउन छुट दिइरहेको बताए । त्यसले सहरको यातायात व्यवस्था अस्तव्यस्त भएको, दुर्घटनाको जोखिम बढेको तथा यातायात व्यवस्था प्रभावित भइरहेको उनको भनाइ थियो । साथै केही भारतीयहरूले नक्कली इलेक्ट्रिोनिक सामानहरू ल्याएर सहरमा घुम्दै बिक्री गरिरहेकोले त्यसतर्फ पनि ध्यानाकर्षण गराए ।

व्यवसायी दीपेन्द्रकुमार जोशीले नेपालगन्जमा स्पाका नाममा खुलेका व्यवसाय तथा मदिरा एवं सुर्तीजन्य पदार्थको बिक्रीविरतणको मापदण्ड पालना भए नभएको बारे अनुगमन नभएकोमा प्रश्न उठाए । उनले सहरमा छोटो समयमै खुलेका दर्जनौँ स्पा तथा मसाज सेन्टरभित्र अवान्छित र अनैतिक कामहरू भइरहेको व्यापक जनगुनासो रहेपछि अनुमगन नभइरहेको बताए । लागूपदार्थविरुद्ध सचेतीकरणको काममा पनि संलग्न जोशीले होटल तथा रेस्टुरेन्टहरूमा हुक्का सेवनमा बालबालिकाहरू पनि संलग्न हुने गरेको बताउँदै त्यसबारे पनि अनुगमन गरी मापदण्ड पालना गराइनुपर्ने बताए । यसैगरी विद्यालय तथा निषेधित क्षेत्रमा पनि मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्रीवितरणलाई रोक्नुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै किराना व्यवसायी संघ नेपालगन्जका अध्यक्ष फणाधर भण्डारीले बजारमा खाद्यमा प्रयोग गर्न नमिल्ने पूजाको प्रयोगका लागि उत्पादित भनिएको तेल बिक्री भइरहेको तर त्यसको अनुगमन नभइरहेकोतर्फ ध्यानाकर्षण गराए । साथै, उनले व्यवसायीहरूको क्षमता वृद्धि तथा नियमकानुनबारे सचेत बनाउन पनि स्थानीय सरकारले काम गर्नुपर्ने बताए । जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले राज्यले जडीबुटीको व्यावसायिक खेती र त्यसको सहज निर्यातका लागि काम गर्न नसकेकोे बताए । उनले जडीबुटी व्यवसायले रोजगारी सिर्जनाका साथै राजस्व वृद्धिमा ठूलो योगदान दिनसक्ने कुरामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

व्यवसायी रचना श्रेष्ठले जेनजी आन्दोलनका बेला आन्तरिक राजस्व कार्यालय नेपालगन्ज जलेपछि त्यससँगै कागजातहरू पनि जलेका कारण अहिले करदतताहरूले समस्या भोगिरहेको बताइन् । उनले भनिन्, ‘मैले सबै कर तिर्दै आएको र कर चुक्ताको प्रमाणपत्रहरू समेत पाइसकेको अवस्थामा अहिले मेरो नाममा १० लाख बढीको कर तिर्नुपर्ने रेकर्डमा देखिएको छ । यस्तो समस्या अरु व्यवसायीहरूले पनि भोगिरहेका छन् ।’

यसैगरी कार्यक्रममा बोल्ने अरु व्यवसायीहरूले पनि भन्सार प्रणालीमा कतिपय वस्तुको दरबारे समयानुकूल सुधार हुन नसकेको, स्थानीय सरकारले व्यवसायीहरूमाथि ठूलो भार पर्नेगरी अनेक कर लगाउने र दर बढाउने गरिरहेको गुनासो गरेका थिए । उक्त कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका मेयर बिष्टले घरबहाल कर घरमालिकले नै तिर्नुपर्ने भए पनि व्यवहारिक रूपमा बहालमा बसेका व्यवसायीहरूले तिरिरहेका बताए । ‘हामीले घरमालिकबाटै लिने हो । तर, व्यवसायीले आएर तिर्छु भन्दा नलिने कुरा भएन । तर, यसबारेमा भएका जटिलताहरू फुकाउनेबारे पहल भइरहेको छ,’ बिष्टले भने ।

यसैगरी नेपालगन्जमा स्पाहरूको सञ्चालनबारे स्पष्ट मादण्ड बनाउनुपर्ने आवश्यकता महसुस गरिएको पनि बिष्टले बताए । उनले पनि स्पा तथा मसाज सेन्टरहरूमा अवान्छित क्रियाकलापहरू हुने गरेको भन्दै गुनासो आउने क्रम बढेको र स्थानीयवासीहरूमा पनि यसप्रति नकारात्मक धारण बढ्दै गएकोले व्यवस्थित रूपले व्यवसाय गर्न पाउनेगरी निश्चित मापदण्ड बनाइने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले नेपालगन्जको यातायात व्यवस्थापनका आफूहरू असफल भएको स्वीकार गरे ।

उनले इ–रिक्सादेखि ठूला सवारीसाधनको सञ्चालन र पार्किङ व्यवस्थापनका लागि पटक पटक छलफल भए पनि परिणाम निस्कन नसकेको बताए । त्यसमा व्यवसायीरु बीचको अस्वस्थ प्रतिस्पर्धा, गलत बुझाइ र चेतनाको कमी मुख्य कारण रहेको उनको भनाइ थियो । स्पा, सुर्तीजन्य पदार्थ तथा मदिराको मापदण्ड सम्बन्धमा सिधै कानुनी कारबाहीभन्दा पहिले सचेतना जागरण आवश्यक रहेको बताए । यद्यपि स्पामा प्रहरीले पटक पटक छड्के अनुगमन गरिहेको उनको भनाइ छ । स्थानीय सरकारले अब स्पाबारे स्पष्ट मापदण्ड बनाउनु जरुरी रहेको धारणा पनि उनले व्यक्त गरे ।

संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीले अहिले नेपालगन्जका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको भन्सार व्यवस्थापनका केही सुधार आएको बताए । उनले आफूले व्यवसायीका समस्याहरू संसदीय समितिमा गएर पनि उठाएको जानकारी दिए । विद्यमान समस्याहरू समाधानमा संघले पहल गर्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा बोल्दै मन्त्री अहिरले व्यवसायीका समस्या समाधानमा प्रदेश सरकार साथमा रहेको बताएका थिए । अध्यक्ष ओलीको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्वअध्यक्षहरू अब्दुल वाहिद मन्सुरी, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले आउँदै गरेका चाडबाडको शुभकामना व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार