सुर्खेत अदालतबाट १९ सयभन्दा बढी मुद्दा फछ्र्यौट



वीरेन्द्रनगर ।

जिल्ला अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८१–०८२ मा १ हजार ९२४ वटा मुद्दा फछ्र्यौट गरेको छ । जुन वार्षिक लक्ष्यको ९१.७९ प्रतिशत प्रगति हो । अदालतले कूल २ हजार ९१२ वटा मुद्दामध्ये ६६.०७ प्रतिशत मुद्दाको छिनोफानो गरेको जनाएको छ । अदालतले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको सुरुवातमा जिम्मेवारी सरी आएका १ हजार ३ वटा र नयाँ दर्ता भएका १ हजार ९०९ गरी कूल २ हजार ९१२ मुद्दा विचाराधीन थिए ।

अदालतले यस अवधिमा २ हजार ९६ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा १ हजार ९२४ थान मुद्दा फछ्र्यौट गर्न सफल भएको हो । तर अझै ९८८ वटा मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् । बाँकी रहेका मुद्दामध्ये ७ वटा मुद्दा दुई वर्षभन्दा पुराना छन्, भने ४१ वटा मुद्दा १८ महिना नाघेका छन् । त्यसैगरी एक वर्ष नाघेका मुद्दाको संख्या १६३ रहेको अदालतले जनाएको छ ।

पुराना मुद्दाको संख्याले न्याय प्रक्रियामा अझै चुनौती रहेको देखाउँछ । मुद्दा फछ्र्यौटमा न्यायाधीशहरूको कार्यसम्पादन हेर्दा जिल्ला न्यायाधीश दीपक ढकालले सबैभन्दा बढी ७५६ वटा मुद्दा फछ्र्यौट गरेका छन् । त्यसैगरी जिल्ला न्यायाधीश वसन्तराज जोशीले ६११ र निलकण्ठ बरालले ५२३ वटा मुद्दा फछ्र्यौट गरेका छन् । यसै अवधिमा न्यायाधीश हिरण्यप्रसाद भण्डारीले १९ वटा र मनोज श्रेष्ठले १५ वटा मुद्दा फछ्र्यौट गरेको उल्लेख छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार