हुम्लाबाट ४८ करोड बजेट फिर्ता



हुम्ला ।

गत आर्थिक वर्ष २०८१–०८२ को बजेटअन्तर्गत हुम्लाबाट ४८ करोडभन्दा बढी बजेट फिर्ता भएको छ । जसमा पुँजीगत बजेट बढी फिर्ता गएको हो । जिल्लाको चालू र पुँजीगत गरि कूल १ अर्ब ९५ करोड ८० लाख १७ हजार बजेटमध्ये ४८ करोड ८ लाख ३९ हजार ३४० रुपैयाँ फिर्ता गएको प्रदेश लेखा इकाई कार्यालय हुम्लाले जनाएको छ ।

कार्यालय प्रमुख रामदत्त पाण्डेयका अनुसार पुँजीगततर्फ १ अर्ब ३४ करोड ८१ लाख १७ हजार बजेट विनियोजन भएकोमा १ अर्ब १७ लाख ६३ हजार ८८५ रुपैयाँ खर्च भएको थियो भने ३४ करोड ६३ लाख ८२ हजार ८८५ रुपैयाँ फिर्ता गएको छ । चालूतर्फ ७० करोड ६१ लाख ९३ हजार ५०० रुपैयाँ बजेट विनियोजन भएकोमा ५७ करोड १७ लाख ३६ हजार १८५ रुपैयाँ खर्च भएको छ भने १३ करोड ४४ लाख ५७ हजार ३१५ रुपैयाँ फिर्ता भएको छ ।

हुम्लामा रहेका ११ वटा प्रदेश मातहतका कार्यालयहरुको यो बजेट फ्रिज गएको हो । विनियोजित पुँजीगत र चालूतर्फ आएको कूल बजेमा यसरी ठुलो रकम फिर्ता भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी पूर्वधार विकास, खानेपानी सिँचाइ तथा ऊर्जा विकास र स्वास्थ्य सेवा कार्यालयको बजेट फिर्ता भएको छ ।

यसरी फिर्ता जाने कार्यालयहरुमा डिभिजन वन कार्यालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय, कृषि विकास कार्यालय, सामाजिक विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । यसरी बजेट फ्रिज हुनुको कारण ढिला बजेट निकासा हुनु र भौगोलिक कारणले काम गर्न नसक्नु, उपभोक्ता समितिको विवादको कारण काम ढिलो सुरु हुनु रहेको छ ।

योजना निर्माण कार्य समयमै नभएकोले बजेट फिर्ता गएकोे खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए ।
त्यसैगरी कूल बजेटको ठुलो हिस्सा फिर्ता हुनुमा समयमा अख्तियारी नआउनु, स्थानीय स्तरका जनताले विकास निर्माणको प्रक्रिया नबुझ्नु र विभिन्न निकायका जिम्मेवार व्यक्तिको चरम लापरवाही जस्ता कारण रहेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार