सल्यान ।
जिल्लाको त्रिवेणी गाउँपालिकाबाट ३ करोड २६ लाख मुल्य बराबरका खसी बोका निर्यात भएका छन् । गाउँपालिकामा रहेका विभिन्न समूह तथा सहकारीमा आबद्ध किसानहरूले एक वर्षमा खसी बोका बिक्री गरेर ३ करोड २६ लाख ४३ हजार रुपैंया कमाएका हुन् । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत खसी बोका बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको छ ।
यो कार्यक्रमले किसानहरू बाख्रा पालनतर्फ आकर्षित भएका छन् । किसानहरूले खसी बोका बिक्री गरेर राम्रो आम्दानी गरिरहको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए । सहकारी मार्फत खसी बोकाको बजारीकरण भएपछि किसानहरू पनि खुसी भएको उनको भनाइ छ । उनका अनुसार यसअघि व्यापारीहरूले आफूखुसी खसी बोकाको मूल्य निर्धारण गर्दा किसानहरू मारमा पर्ने गरेको गुनासो आएको थियो ।
त्रिवेणी गाउँपालिकाले आ.व. २०८१–०८२ मा वार्षिक न्यूनतम १०० किलो खसी बिक्री गर्ने ३०८ जना कृषकहरूलाई २० रूपैयाँको दरले १० लाख ८० हजार ९२० रूपैयाँँ अनुदान दिएको पशु विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिए । उनका अनुसार दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १२० जना कृषकलाई ५ लाख २८ हजार २२० रूपैयाँँ अनुदान प्रदान गरिएको छ । यो सहकारीमा आबद्ध किसानहरूले १ करोड ४६ लाख १६ हजार ७८५ रूपैयाँँ बराबरको खसी निर्यात गरेका थिए ।
यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारीबाट ७३ जना कृषकहरूलाई अनुदान वापत २ लाख ३२ हजार १२० रूपैयाँँ दिइएको छ । भने यो सहकारीबाट ७० लाख ४२ हजार १८४ रूपैयाँँ बराबरको खसी निर्यात भएका थिए । उपहार सामाजिक उद्यमी महिला सहकारीबाट ६२ जना कृषकहरूलाई १ लाख ८७ हजार ४०० रूपैयाँ अनुदान दिइएको छ । यो सहकारीबाट ७१ लाख ५२ हजार ४६४ रूपैयाँँ बराबरका खसी बिक्री भएका थिए ।
यसै गरी त्रिवेणी पशुपालन व्यवसायी सहकारीबाट ५३ जना कृषकहरूलाई १ लाख ३९ हजार ८३९ रूपैयाँँ अनुदान दिइएको छ । उनीहरूले ३८ लाख ३२ हजार १७० रूपैयाँँ बराबरको खसी निर्यात गरेका थिए । गाउँपालिकाले गत आर्थिक वर्षभन्दा करिब १ करोड रूपैयाँँ बढीका खसी निर्यात गरेको पशु विकास शाखा प्रमुख रावतले जानकारी दिए । गत आर्थिक वर्षमा त्रिवेणीका किसानहरूले सहकारी मार्फत २ करोड ३६ लाख ३० हजार ६२९ रूपियाँको खसी बिक्री गर्दै पालिकाको अनुदान समेत पाएका थिए ।
खसी बिक्रीका लागि गाउँपालिकामा समूह, सहकारी गरी ५ वटा संस्था सूचीकृत भएका थिए । गाउँपालिकाले पशु सेवा शाखामार्फत पशु स्वास्थ्य सेवा, पशु आहारा विकास कार्यक्रम, पशु प्रजनन सेवा, तालिम तथा पशु सेवा प्रसार कार्यक्रम, पकेट प्याकेज कार्यक्रम, व्यावसायिक फार्म प्रवद्र्धन कार्यक्रम, पशुपक्षी बजार प्रवद्र्धन र नियमनका कार्यक्रम सञ्चालन गरेको थियो ।
कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाले सहकारी तथा समूहमार्फत १०० किलो भन्दा बढी खसी बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रूपैयाँ उपलब्ध गराउँदै आएको छ । साथै व्यवस्थापनका लागि प्रतिकिलो १ रूपैयाँको दरले सहकारीलाई समेत रकम उपलब्ध गराउने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखी नै गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको हो । त्रिवेणी गाउँपालिकाकाले वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरेको छ । सोही अनुसार आवश्यक कार्यक्रम सञ्चालन भइरहेको पालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्