जुम्ला ।
जुम्ला विमानस्थल विस्तारका लागि १४ करोड रकम निकासा भएको छ । तर जग्गा अधिग्रहण र मुआब्जा वितरणको कामले गति लिन सकेको छैन । कर्णाली प्रदेशको सुर्खेतपछि बढी यात्रुको चाप हुने जुम्ला विमानस्थल स्तरोन्नतिको लागि वर्षेनि बजेट निकासा हुदै आएपनि काममा भने ढिलाई भएको छ । जग्गा अधिग्रहण, मुआब्जा वितरणका लागि जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको पहलमा बजेट निकासा भएपनि कामले गति लिन नसकेको हो ।
विमानस्थलको धावनमार्ग विस्तार तथा अन्य पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण गर्न कूल ५० करोड लागत लाग्ने अनुमान छ ।
काम सुरु गर्न जत्तिनै ढिला गर्यो, उतिनै जग्गा अधिग्रहण तथा मुआब्जा रकम बढ्दै जाने विमानस्थल कार्यालयले जनाएको छ । वर्षौदेखी विमानस्थल विस्तारका नाममा बजेट निकासा हुदैँ आएपनि काम भने हुन नसकेको हो । गत आर्थिक वर्ष २०८१–०८२ मा सबै गरी १० करोड विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि पुनः ४ करोड निकासा भएको छ ।
प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालका अनुसार २०७४ को निर्वाचनपछि उनी चन्दननाथ नगरपालिकाको मेयर हुदाँदेखिनै विमानस्थल विस्तारका लागि पहल सुरु भएको थियो । सांसद भएदेखीनै निरन्तर पहल गरिरहेकी सेजुवाल विमानस्थल विस्तारका कुरा मात्रै उठ्ने काम नहुने समस्या रहेको बताउँछिन् । अब चालू आर्थिक वर्षभित्रै काम हुने उनको अपेक्षा छ । तेस्रो किस्तासम्म गरेर १४ करोड विनियोजन भइसकेकोले अब जग्गा अधिग्रहण र मुआब्जा वितरणको कामले गति लिने उनले बताइन् ।
चालू आर्थिक वर्षभित्र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको थियो । जसबाट ४ करोड विनियोजन भएको छ । जुन बजेट पछिल्ला वर्षमा विस्तार हुने देशभरीका एयरपोर्ट मध्य बढी हो । जुम्ला विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा वितरणको बाँकी प्रक्रिया केही दिनमा अघि बढ्ने बताइएइको छ । हाल १४ करोड रकम निकासा भएपनि कूल अनुमानित लागत भने ५० करोड रहेको छ ।
निकासा भएको १४ करोडबाट सम्पूर्ण मुआब्जा एकैचोटि वितरण गर्ने कि किस्ताबन्दीमा दिने भन्ने विषयमा छलफल जारी छ । साथै बाँकी रहेको रकमको व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड बैठकबाट टुंगो लगाइने छ । अब क्यानले पनि विशेष प्रथामिकता दिएर काम गर्ने भनेकोले विमानस्थल विस्तारले गति लिने आशा पलाएको छ ।
१८३ रोपनी जग्गा अधिग्रहण हुने
२०५१ सालमा निर्माण भएको जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ टर्मिनल भवन निर्माण तथा धावनमार्ग विस्तार लगायत पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ । विमानस्थल विस्तारको चर्चा २०७४ यतादेखी चलेको छ । विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । विमानस्थल विस्तार तथा पूर्वाधार निर्माणका १८३.८० रोपनी जग्गा अधिग्रहण गर्न १ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ ।
जसमा मुआब्जा वितरण मात्रै ५० करोड गर्नुपर्ने छ । पहिलो चरणमा मुआब्जा दिएर जग्गा अधिग्रहण नगरी काम अघि बढ्ने अवस्था छैन् ।
त्यसैले जग्गा अधिग्रहणको प्रक्रियासँगै मुआब्जा रकम व्यवस्थापनका लागि सांसद सेजुवाल लगायत अन्य सांसदहरू खटिरहेका छन् । यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले माननीय कान्तिका सेजुवालको अथक प्रयासले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको भन्दै प्रसंशा गरे । उनका अनुसार साउन दोस्रो हप्ताबाट बाँकि प्रक्रिया अगाडि बढाउने गरी जिल्लाका सरोकारवाला लागि परेका छन् ।
माथिल्लो कर्णालीको जनजीवन र पर्यटनको आधार मानिएको जुम्ला विमानस्थल विस्तारमा सबैको हातेमालो हुन जरुरी रहेको छ । हाल ६७० मिटर लामो धावनमार्ग लाई १ हजार ५० मिटर लम्बाइको बनाउने लक्ष्य छ । त्यसका लागि धावनमार्गको पूर्वपट्टि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो । विमानस्थल विस्तारको कामलाई अघि बढाउन सबै सरोकारवाला तथा स्थानीयवासीले सहयोग गर्ने जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्