वीरेन्द्रनगर ।
कर्णालीमा आजदेखि प्रादेशिक औद्योगिक प्रदर्शनी हुँदैछ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको आयोजनामा हुन लागेको प्रदर्शनी कार्यक्रम लघु औद्योगिक ग्राम वीरेन्द्रनगरमा सञ्चालन हुनेछ । निर्देशनालयले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रादेशिक ओैद्योगिक प्रदर्शनी कार्यक्रम २०८२ का बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कर्णाली प्रदेशभित्रका लघु उद्यमी, घरेलु तथा साना उद्योगबाट उत्पादन भएका बस्तुको प्रदर्शनी गरिने जनाइएको छ ।
प्रदर्शनीमा कर्णालीका १० वटै जिल्लाबाट सहभागी कूल ६० वटा उद्योगले स्टल राख्ने तयारी पूरा भएको छ । प्रदर्शनीमा सहभागीहरूलाई निष्पक्ष मूल्याङ्कद्वारा आकर्षक नगद पुरस्कार तथा सम्मानको पनि व्यवस्था गरिएको छ । प्रथम हुनेलाई नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुने उद्यमीलाई नगद २० रूपैयाँँसहित प्रमाणपत्र दिएर सम्मान गर्ने तयारी छ । निर्देशनालयका निर्देशक देविलाल सापकोटाका अनुसार स्थानीतस्तरमा उत्पादन हुने बस्तु, सोको ब्राण्ड, गुणस्तर र परिमाणका विषयमा जानकारीसहित परम्परागत तथा सुधारिएको प्रविधिको पनि प्रदर्शनी गरिनेछ ।
यस्तै स्थानीयस्तरमा उपलब्ध हुने कच्चापदार्थको जानकारीसहित राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा प्रत्येक दिन विविध सांस्कृतिक कार्यक्रमहरू प्रदर्शनी रहने उनले बताए । उनले भने, ‘यो कार्यक्रम कर्णाली प्रदेश सरकारद्वारा दोस्रो पटक व्यवस्था गरिएको कार्यक्रम हो । यो कार्यक्रमको मूल उद्देश्य भनेको कर्णाली प्रदेशका लघु, घरेलु तथा साना उद्यमीबीच बस्तु तथा सेवाको उत्पादन, सोको गुणस्तर, ब्रान्ड तथा परिमाणका बारेमा आम सर्वसाधारण, व्यापारी तथा सरकारी निकायलाई जानकारी एवम् सूचना उपलब्ध गराई उत्पादित बस्तुको प्रवद्र्धन तथा बजारीकरण मार्फत उपभोगमा वृद्धि गराउने रहेको छ ।’
कार्यक्रम आज २० गते शुक्रबारदेखि २२ गते सम्म (३ दिन) सञ्चालन हुनेछ । उक्त दिनहरूमा प्रदर्शनी हुने समय बिहान ८ देखि साँझ ६ बजे सम्म हुनेछ । पहिलो दिन उद्घाटन कार्यक्रम मंगलगडीदेखि लघु औद्योगिक ग्रामसम्मको ¥यालीसहित बजार परिक्रमा र कर्णालीको मौलिकतामा आधारित सांस्कृतिक कार्यक्रम हुनेछन् । जिल्लामा रहेका उद्योगहरूलाई बजारीकरणको सहयोग प्रदान गर्दै स्थानीय उत्पादन, कच्चा पदार्थ, परम्परागत प्रविधि आदिको प्रवद्र्धन गर्न यो कार्यक्रमको आयोजना गरिएको हो ।
निर्देशक सापकोटाका अनुसार चालू आव ०८१–८२ मा कर्णाली प्रदेशका सबै उद्योग तथा उपभोक्ता हित संरक्षण, कार्यालयहरूमा औद्योगिक प्रदर्शनी गरिएको छ भने निर्देशनालय सुर्खेतमा प्रादेशिक औद्योगिक प्रदर्शनी कार्यक्रम गर्न १० लाख बजेट विनियोजन भएको छ । कार्यक्रम कार्यविधिको व्यवस्थाअनुसार निर्देशनालयले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । कूल ६० उद्योगको आवेदन परेको थियो ।
जसअन्तर्गत खाघ प्रशोधन, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य, बहुमुल्य रन पत्थर, अल्लो, वैकल्पिक नवीकरणीय ऊर्जा, छाला जुत्ता तथा राडी उद्योग आदि मुख्य रहेका छन् भने भौगोलिक सहभागिताको हकमा कर्णाली प्रदेशका १० वटै जिल्लाहरूबाट सहभागिता जनाइएको छ । सोका अतिरिक्त लघु औद्योगिक ग्रामस्थित उद्योगलाई समेत प्रदर्शनीको सहभागी मानिनेछ भने ग्रामअन्तर्गतका उद्योग÷उत्पादन समेतको अवलोकनकर्ताले अवलोकन गर्न पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्