वेस्टर्न ट्राभल मार्टमा साढे ३० लाख खर्च



नेपालगन्ज ।

पश्चिम नेपालका पर्यटकीय गन्तव्यको प्रचार प्रसार र पर्यटन व्यवसाय प्रवद्र्धनका लागि नेपालगन्जमा जेठ २४ देखि २६ गतेसम्म सञ्चालन गरिएको वेस्टर्न ट्राभल मार्टमा साढे ३० लाख बढी खर्च भएको छ । वेस्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देलले बुधबार मार्टमा भएको खर्च सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

मार्टका लागि नेपाल पर्यटन बोर्डबाट २६ लाख र नेपालगन्ज उपमहानगरपालिकाबाट पाँच लाख रूपैयाँ बजेट प्राप्त हुने सम्झौता रहेकोमा सबै खर्च कटाएर चार लाख ४५ हजार सात सय ७० रूपैयाँ बचत भएको सिग्देलले जानकारी दिए । यसैगरी, मार्टकै अवसरमा नेपालगन्जको त्रिभुवन चोकमा रैथाने खाना प्रवद्र्धनको उद्देश्यले फुड लेन सञ्चालन गर्नका लागि पर्यटन विकास परिषद्, लुम्बिनीबाट तीन लाख र नेपालगन्ज उपमहानगरपालिकाबाट एक लाख रूपैयाँ रकम भुक्तानीका लागि पेश गरिएको उनले उल्लेख गरे ।

मार्टका अवसरमा आयोजित फुड लेनमा रैथाने खाना प्रवद्र्धन गर्ने भनिएपनि रैथाने खानाका स्टलहरू नराखिएको भन्दै जनस्तरबाट आलोचना गरिएको थियो । यसो हुनुमा छोटो समयमा कायक्रमको तयारी हुनु र पर्याप्त समय नपाउनु कारण रहेको सिग्देलले बताए । फुड लेनले सोचेअनुरुपको लक्ष हासिल नगरेपनि नेपालगन्जमा फुड लेनको सम्भावना छ भन्ने प्रमाणित गरेको उनको दाबी छ । अब आगामी दिनमा फुड लेनलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको भएको उनको भनाइ छ । ३६ वटा स्टल राखिएको फुड लेनमा पहिलो दिन दुई हजार जना र दोस्रो दिन पाँच हजार जनाले अवलोकन गरेको अनुमान रहेको पनि सिग्देलले दाबी गरे ।

यसैगरी ट्राभल मार्टमा नेपाल, भारत र युरोपका गरी दुई सय सात जना पर्यटन व्यवसायीहरू सहभागी भएको, उनीहरूलाई नेपालका पर्यटकीय गन्तव्यबारे विभिन्न प्रस्तुतिमार्फत जानकारी गराइएको, ६८ जनालाई बाँके, बर्दिया राष्ट्रिय निकुन्जमा जंंगल सफारी, कर्णाली नदीमा ¥याफ्टिङ गराएर मिडियामार्फत यी गन्तव्यको प्रचार प्रसार गराइएकोलाई सिग्देलले उपलब्धिको रूपमा पेश गरेका छन् । यसैगरी अतिथिहरूलाई रोयल बंगाल टाइगरको चित्रलाई चिनोस्वरुप प्रदान गरिएको र स्ट्रीट फुड लेन सञ्चालन गरिएकोलाई पनि उपलब्धिको रूपमा लिइएको उनले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार