मन्त्री चयनकै झमेलामा अल्झिँए सुदूरपशिचमका मुख्यमन्त्री



धनगढी ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई आफ्नै दलबाट मन्त्री छनोट गर्न सकस भएको छ । मन्त्रीका आकांक्षी धेरै भएपछि सरकार गठन भएको केही दिन बितिसक्दा पनि नेकपाले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

सत्ता साझेदार दल नेकपा एमालेले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकासमन्त्री, चक्रबहादुर मल्ललाई आर्थिक मामिलामन्त्री, दमनबहादुर भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र जानकी ऐर बमलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिसकेको छ । तर, सरकारको नेतृत्वकर्ता नेकपाले भने मन्त्री छनोट गर्न नसकेपछि आफ्नो भागमा परेका मन्त्रालयमा अहिलेसम्म नियुक्ति गरेको छैन् ।

मुख्यमन्त्री भट्टले एमालेबाट नियुक्त भएका मन्त्रीहरूको उपस्थितिमै मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न गर्नुपरेको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका भट्टले आफ्नै पार्टीबाट मन्त्री छान्न नसक्दा प्रदेश सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ । मुख्यमन्त्री भट्टसामु एकीकृत पार्टीमा रहेका साविक माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेकपा एकीकृत समाजवादीका सांसदलाई समेत व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।

हाल भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । तीन मन्त्री र दुई राज्यमन्त्रीका लागि नेकपाभित्र आकांक्षीबीच हानथाप चर्किएको बताइएको छ । सरकारलाई तत्काल पूर्णता दिन साविक नाउपालाई राज्यमन्त्रीसहित एक मन्त्रालय, माओवादीलाई राज्यमन्त्रीसहित एक मन्त्रालय र एकीकृत समाजवादी पक्षलाई एउटा मन्त्रालय दिने गरी छलफल अघि बढेको स्रोतको दाबी छ ।

यद्यपी साविक माओवादी केन्द्रभित्र देखिएको आन्तरिक विवादका कारण मन्त्री छनोट प्रक्रिया थप जटिल बनेको बताइएको छ । स्रोतका अनुसार पार्टी केन्द्रले सुदूरपश्चिम प्रदेश कमिटीलाई मन्त्री बन्न चाहने सांसदहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ । तर आकांक्षीको सङ्ख्या धेरै भएकाले नाम सिफारिसमै समस्या भइरहेको प्रदेश कमिटीका एक नेताले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार