कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० को एकतानगरदेखि चटार जोड्ने सडक वर्षाका कारण हिलाम्मे र जोखिमपूर्ण बनेपछि स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन् । स्थानीयका अनुसार सडकमा हिलो र पानी जम्दा पैदलयात्री, विद्यार्थी तथा सवारीसाधन आवागमनमा निकै कठिन भएको उनीहरूको गुनासो छ ।
सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायले ध्यान नदिएको भन्दै विरोध स्वरुप सडकमै धान रोपेर विरोध गरिएको हो ।
कोहलपुर–१० को चटारदेखि एकतानगर टोल जाने मुख्य सडकको दयनीय अवस्थाको विरोधमा स्थानीयहरूले सडकमै धान रोपेर सांकेतिक विरोध गरेका हुन् । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सडक निर्माण तथा स्तरोन्नतिका लागि पहल नभएपछि बाध्य भएर सडकमै स्थानीयहरू मिलेर धान परेको उनीहरूले बताएका छन् । स्थानीय विष्णु जैशी भन्छन्, ‘सडकमा धान रोप्नु हाम्रो रहर होइन, विकासका नाममा भएको लापरवाहीप्रतिको सांकेतिक विद्रोह हो ।’
उनले स्थानीयले सडकको तत्काल मर्मत तथा स्तरोन्नतिको काम अघि बढाउन कोहलपुर नगरपालिका र सम्बन्धित निकायसँग माग गरिरहेको बताए । उनका अनुसार लामो समयसम्म आधिकारिक निकायमा धाउँदासम्म सुनुवार्इँ नभएका कारण बाध्य भएर धान रोपाइँ गरिएको हो । आफूहरूले सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउने काम गरेको भन्दै अब बाँकी काम गर्ने पालो स्थानीय सरकारको भएको बताए ।
स्थानीयले बाटोमै धान रोपेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा अहिले भाइरल नै भएको छ । कोहलपुर–१० का स्थानीय र स्थानीय सञ्चारमाध्यमहरूले भिडिओ पोष्ट गरिरहेका छन् । वडामा सडक नबनेको भन्दै स्थानीयले धान रोपेको भिडियो भाइरल भएपछि कोहलपुर नगरपालिका वडा नम्बर १० को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वडाध्यक्ष गौराकुमारी भट्टराईले अहिले बाटोमा धान रोपेको विषयमा आफूलाई जानकारी प्राप्त भएको बताइन् ।
उनका अनुसार उक्त सडकमा एकातर्फ नाली बनाइएको छ । नाली बनाउँदा उठाएको माटोका कारण समस्या भएको उनले बताइन् । उक्त सडकमा गत आर्थिक वर्ष २०८२–०८३ मा लुम्बिनी प्रदेशबाट नाली निर्माणका लागि २० लाख बजेट विनियोजन भएको थियो । ‘त्यहाँको अवस्थाको विषयमा वडा कार्यालयको ध्यानाकर्षण भएको छ। शनिबार र आइतबार बिदा भयो । सोमबार (आज) त्यहाँको काम जसरी पनि गर्छौ,’ वडाध्यक्ष भट्टराईले भनिन् । उनले वडा कार्यालयसँग धेरै आर्थिक स्रोत नभएको र जनताका जनअपेक्षा बढी भएका कारण समस्या उत्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाले प्रत्येक वर्ष वडा कार्यालयलाई ५० लाख बजेट दिन्छ । वडा नम्बर १० मा रहेका आठ वटा टोलको विकासका लागि उक्त बजेट अपर्याप्त रहेको उनको भनाइ छ । नगरपालिकामा एकतानगर हुँदै चटार जोड्ने बाटो निर्माणको लागि नगरपालिकामा बहुुवर्षीय योजना टिपाएको उनले बताइन् ।









प्रतिक्रिया दिनुहोस्