बाँकेमा बेलाइती कुकुर पाल्नेहरू बढी छन्



बर्दिया ठाकुरबाबा नगरपालिकाका स्थायी बासिन्दा जीवलाल चौधरी अहिले कोहलपुर–११ एनटीभी रोडमा केनल क्लब सञ्चालन गरिरहेका छन् । कोहलपुरमा केनल क्लब सञ्चालन गर्ने आफू पहिलो व्यवसायी भएको उनको दाबी छ । तीन वर्षअघि सन् २०२३ देखि उनले बागेश्वरी केनल क्लब सञ्चालनमा ल्याएका हुन् । उनले हालै नेपालगन्जमा पनि आफ्नो शाखा विस्तार गरेका छन् ।
चौधरी भेटेनरीका स्नातक हुन् । तर नेपालमा केनलसम्बन्धी औपचारिक अध्ययन नहुने भएकाले आफूले केनलसम्बन्धी औपचारिक अध्ययन गर्न नपाएको उनले गुनासो गरे । तर यससम्बन्धी विभिन्न तालिम लिएर त्यसलाई व्यावसायिक रूप दिएको उनले
बताए । उनले नेपाल, भारत र इजरायलसम्म पुगेर केनलसम्बन्धी विभिन्न तालिम लिएको बताए । उनै चौधरीसँग मिसन टुडेले गरेको कुराकानीको सम्पादित अंश ः

जीवलाल चौधरी
सञ्चालक
बागेश्वरी केनल ब्लब, कोहलपुर

१. कोहलपुर आसपासमा पेट लभर्स अर्थात कुकुर पाल्ने शौखिनहरू कत्तिको रहेछन् ?

कुकुर पाल्ने शौख त मान्छेहरूमा देखिएको छ । पालिरहेका पनि छन् । तर व्यवस्थित रूपमा पाल्न सकिरहेका छैनन् । कुकुरलाई कुकुरजस्तै पालिरहेका छन् । कुकुरलाई कुकुरकै व्यवहार गरिरहेका छन् ।

२. गर्नुपर्ने के थियो त ?

वास्तवमा एउटा पप्पी घरमा ल्याइसकेपछि त्यसलाई पनि परिवारको एउटा सदस्य जस्तै व्यवहार गर्नुपर्ने हुन्छ । उसलाई बस्नका लागि राम्रो बास बनाइदिने, पालनपोषण गर्ने, सही समयमा खान दिने, उसलाई बेलाबेलामा खोप लगाइदिने आदि गर्नुपर्ने हुन्छ ।

३. मान्छेले कुकुर पाल्ने रहर त गर्ने तर ‘एफर्ड’ गर्न नसकेर हो कि ?

यो खासै कस्टली पनि होइन । तर मान्छेहरूले बुझेका छैनन् । विस्तारै बुझ्दै जालान्् ।

४. केनलसम्बन्धी औपचारिक अध्ययन गरेर तपाईं यो क्षेत्रमा आउनुभएको हो कि ?

म यो क्षेत्रसँग टच भएको २०६१ सालदेखि हो । २०६४ सालदेखि म एउटा क्लबमा स्टाफका रूपमा आबद्ध भएँ ।

२०६६ सालमा कुकुरसम्बन्धी तालिम लिएँ । मेरो औपचारिक अध्ययन पनि भेटेनरी नै हो । मैले यही अवधिमा सँगसँगै आफ्नो औपचारिक अध्ययन पनि अगाडि बढाएँ । भेटेनरीमा स्नातक गरेँ । भेटेनरीमा भए पनि केनलसम्बन्धी नेपालमा औपचारिक अध्ययन हुँदैन ।

त्यसैले केनलसम्बन्धी तालिम गरेँ । नेपालमा सन् १९७३ मा नेपाल केनल क्लब खुलेको हो । त्यसैमार्फत केनलसम्बन्धी विभिन्न तालिम, प्रशिक्षण हुँदै आएका छन् । त्यसैमार्फत नेपालमा केनलसम्बन्धी प्रचारप्रसार पनि हुँदै आएको छ ।

मैले पनि यसैमार्फत डग ट्रेनरको तालिम लिएको हुँ । तालिमपछि म विभिन्न स्थानमा डग ट्रेनरका रूपमा काम गरेँ । मैले ‘ब्रिड वार्डेन’ (कुन प्रजाति हो भनेर कुकुर चिन्ने) तालिम पनि लिएँ । भारत र इजरायलसम्म पुगेर मैले विभिन्न किसिमका केनलसम्बन्धी तालिम पनि लिएको छु । त्यसपछि मैले यहाँ आएर यसलाई व्यावसायिक रूपमा अगाडि बढाउने निर्र्णय गरेको हुँ ।

५. अहिले केनल व्यवसायको अवस्था कस्तो छ त यो क्षेत्रमा ?

अहिले सबैतिरको आर्थिक अवस्था खस्किएको छ । त्यसकारण पनि होला जति गति लिनुपर्ने हो त्यति लिएको छैन । कोहलपुरमा नै यो मेरो पहिलो र एकल व्यवसाय भएका कारण पनि अहिलेसम्म ठीकै चलिरहेको छ ।

६. नेपालमा कति प्रजातिका कुकुर पाइन्छन् ?

विश्वमा अहिले अढाई सय प्रजातिका कुकुर पाइन्छ । नेपालमा पनि विभिन्न प्रजातिका कुकुर भित्रिइसकेका थिए । आकार, गुण र कामका आधारमा कुकुरहरुका पनि समूह हुन्छन् ।

उन्नत जातका कुकुरका विभिन्न समूह छन् । कुनै गार्ड गु्रपका हुन्छन्, कुनै हन्टिङ गु्रपका, कुनै फेरि टोय गु्रप अर्थात साना जातिका कुकुरको समूह छुट्टै हुन्छ । स्पोटिङ गु्रप, हाउन्स गु्रपलगायत ८÷९ वटा गु्रप छन् । यिनीहरूका जिन पनि छुट्टाछुट्टै हुन्छन् ।

७. कुकुर किन पाल्छन् मान्छेहरू ?

कुकुर परापूर्व कालदेखि नै मानिसले पाल्दै आएका हुन् । धार्मिक रूपमा पनि कुकुरको महत्व पाइन्छ । कुकुरलाई यमराजको दूतको रूपमा लिइन्छ र मान्छेले तिहारका बेला कुकुरको पूजाआजा गर्ने गर्दछन् । मान्छेका विभिन्न शौख हुन्छन् ।

ती शौख अनुसार कुकुरका विशेषता पनि हुन्छन् । कोही मानिस पप्पीसँग खेल्न मन पराउँछन् । त्यस्तै प्रजातिका कुकर पाल्छन् । कोही कुकुरले आफ्नो घरको सुरक्षा गरोस् भन्ने चाहन्छन् । कोही भने आफ्नो एकान्तपना टाढा गर्नका लागि साथीका रूपमा कुकुर पाल्न चाहन्छन् । कुकुरका पनि छुट्टाछुट्टै जातिमा छुट्टाछुट्टै गुण हुन्छन् । जसले मानिसका शौख पूरा गर्छन् ।

फेरि कुकुर पाल्नुका फाइदा पनि धेरै छन् । सबैभन्दा पहिलो कुुरा त सुरक्षा नै हो । अधिकांश मानिस घरको सुरक्षा प्रयोजनका लागि कुकुर पाल्छन् । अर्को रिफ्रेसमेन्टका लागि कुकुर पाल्छन् । अहिलेको समयमा मानिस घरभित्र पनि एक्लोजस्तो हुँदै गएको छ । उनीहरूले खेल्ने, गफ गर्ने साथीको रूपमा कुकुर पाल्ने गरेका छन् ।

८. कुकुर नै किन अन्य प्राणी पनि त पाल्न सकिन्न र ?

हेर्नोस् कुकुर भनेको आज्ञाकारी प्राणी हो । जनावरहरूमा सबै भन्दा आज्ञाकारी कुकुर नै हो । कुकुरलाई जस्तो सिकायो त्यस्तै गर्छ । यो मालिकप्रति अत्यन्तै वफादार पनि हुन्छ ।

९. कुकुरहरू कसरी उपलब्ध गराउनुहुन्छ ?

हामीले बाहिरबाट ल्याएका उन्नत जातका कुकुरहरूलाई ब्लड गु्रप फरक पारेर क्रस गराएर तिनीहरूबाट बच्चा उत्पादन गर्छौं ।

१०. उन्नत प्रजातिका कुकुरको मूल्य महँगो पर्छ भनिन्छ । कतिसम्म मूल्य पर्छ ?

यसको मूल्यमा कुनै एमआपी तोकिएको हुँदैन । कुन प्रजातिलाई हाम्रो कति लगानी पर्छ त्यसमा केही मुनाफा राखेर हामीले उपलब्ध गराउने हो । मूल्य खासै महँगो पनि होइन । ४÷५ हजारदेखि सुरु भएर १÷डेढ लाखसम्मका कुकुर पनि छन् ।

अब हामीले बाहिरबाट बच्चा मगाएर उनीहरूलाई तालिम दिएर पालपोष गर्दा नै हाम्रो पनि त्यसमा लगानी भइसकेको हुन्छ । त्यसैले केही महँगो जस्तो पर्न जाने हो । तर कसैले यदि यहीँको लोकल प्रजातिको लैजान्छु भन्छ भने अलि सस्तो पनि पर्न जान्छ ।

२–३ लाख खर्च गरेर मोटरसाइकल चढ्न सक्छ भने उसले ५ हजारको कुकुर पाल्न नसक्ने भन्ने हुँदैन । यदि ऊ साँच्चै पेट लभर हो भने आफू दिन खाने चार कप चियामा आधा कटाएर भए पनि कुकुरको खाना जुटाउन सक्छ । यो मानिसको आ–आफ्नो सोचको कुरा हो । कुकुर पाल्नै नसकिने महँगो भन्ने होइन ।

११. कुकुरसम्बन्धी एसेसरीहरू कहाँबाट आउँछन् ? नेपालमै उपलब्ध छन् कि यी पनि विदेशबाटै आउँछन् ?

दुई चारवटा प्रोडक्ट हाम्रो आफ्नै पनि छ । अरू चाहिँ बाहिरबाटै आउने हो । हाम्रा डिलरहरूले विभिन्न देशबाट ल्याएर यहाँ वितरण गर्ने हुन् । भारत, थाइल्यान्ड, अमेरिकालगायतका देशबाट आउँछन् ।

१२. पहिलेपहिले पनि नेपालमा कुकुर पाल्ने चलन नभएको होइन । अहिले परम्परागतबाट व्यावसायिक रूपमा कुकुरपालन सुरु भएको हो नेपालमा पनि ?

अझै पनि यहाँ व्यावसायिक रूपमा कुकुर पाल्ने काम हुन सकेको छैन । मानिसहरू कुकुर पाल्ने शौख त राख्छन् तर कुकुरलाई चाहिने आवश्यक खानपान र व्यवस्थापन गर्ने रुचि देखाउँदैनन् । उन्नत जातका कुकुर पाल्न खोज्छन् तर उनीहरूलाई घरमै परम्परागत तरिकाका खानपान गराउँछन् ।

जसले गर्दा पप्पी बिरामी पर्ने, मर्ने समस्या हुन्छ । यसले गर्दा पप्पीको खानपानको ब्यालेन्स मिल्दैन, नुट्रिसन पुग्दैन । पप्पीको सरसफाइ र बेलाबेला दिनुपर्ने भ्याक्सिनेसनमा पनि लापरबाही गर्छन् ।

१३. मानिसहरू कुकुर पाल्ने शौख त राख्छन् । अझ पछिल्लो समयमा बच्चाबच्चीमा यो शोख विशेष रूपमा देखिन्छ । तर त्यससम्बन्धी पर्याप्त जानकारी उनीहरूमा हुँदैन । त्यसबारे उनीहरूलाई कसरी जानकारी गराउनु हुन्छ ?

अब मकहाँ आउने डग लभरहरूलाई बेसिक कुराहरू मैले सिकाइदिएको हुन्छु । अर्को अब हामीले सेल्स गरेका पप्पी त हाम्रो निगरानीमा हुने नै भए । उहाँहरूलाई कुकुर पालनसम्बन्धी बेसिक तालिम, कुकुरको मनोविज्ञान इत्यादिबारे पनि जानकारी दिन्छौँ र उचित खानपान र व्यवस्थापनबारे बुझाएका हुन्छौँ ।

१४. हामीकहाँ पनि ‘भोटे कुकुर’ ‘सिकारी कुकुर’ हिजो पालिने गरेका कुकुरहरु थिए । आज ती प्रजाति लोप हुने अवस्थामा छन भने हामी विदेशबाट कुकुर आयात गरेर पालिरहेका छौँ । यहाँका लोकल कुकुरलाई सुधार गरेर पाल्न वा बाहिर बेच्न सकिन्न ?

सकिन्छ, स्थानीय भाषामा भोटेकुकुर भनिने यसको नाम टिबेटियन म्यास्ची हो । त्यसको नश्ल सुधार गरेर बेच्न पाए राम्रो इन्कम पनि हुन्छ ।

१५. यहाँ सबैभन्दा बढी खोजिने उन्नत जातको कुकुर कुन हो ?

यहाँ बढी पालिने कुकुर जापानिज स्पिज हो । जसलाई स्थानीय भाषामा बेलायती भनिन्छ । सानो, झुप्प कपाल भएको देख्दा पनि आकर्षक भएकाले मानिसहरु यही कुकुर पाल्न रुचाउँछन् । यो एफर्डेबल पनि छ । यसको खानपानदेखि सबै त्यति महँगो छैन ।

१६. अहिले तपाईंका रेगुलर क्लाइन्ट कति छन्् ?

यसको एकज्याक्ट तथ्यांक त मसँग पनि छैन । तर सरदर ७–८ सय जना डग वनर्सहरूले मबाट सेवा लिइरहनुभएको छ । उहाँहरू आफ्ना पप्पीका बारेमा विभिन्न जानकारी लिन वा सेवा लिन मकहाँ आउनुहुन्छ ।

यो संख्या कोहलपुरआसपासको हो । आक्कलझुक्कल आउने त अरू पनि हुनुहुन्छ । पेट लभर्सहरू प्रायः मकहाँ आउनुहुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक २६ गते आइतबार