डेंगीको संक्रमण बढ्दै गएपछि निःशूल्क परीक्षण सेवा सुरु



सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाले डेंगीको संक्रमण बढ्दै गएपछि नगर अस्पताल र लाटीकोइली स्वास्थ्य संस्थाबाट निःशूल्क परीक्षण सेवा सुरु गरेको छ । नगर क्षेत्रमा डेंगीका बिरामीको सङ्ख्या निरन्तर बढिरहेको अवस्थामा परीक्षण सहज बनाउन नगरपालिकाले दुई स्वास्थ्य संस्थामार्फत निःशूल्क परीक्षणको व्यवस्था गरेको हो । नगरप्रमुख मोहनमाया ढकालले गत वर्षदेखि नै वीरेन्द्रनगरमा डेंगीको संक्रमण बढ्दै गएपछि जोखिम नियन्त्रणका लागि निःशूल्क परीक्षणको व्यवस्था गरिएको बताइन् ।

नगरवासीमध्ये कतिपयलाई निःशूल्क परीक्षणको सुविधाबारे जानकारी नभएको उल्लेख गर्दै लक्षण देखिएमा नगर अस्पताल वा लाटीकोइली स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनको आग्रह छ । सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर डेंगीको संक्रमणबाट सबैभन्दा बढी प्रभावित देखिएको छ । यस वर्ष जिल्लाभर दुई हजार २०७ जनामा डेंगी संक्रमण पुष्टि भएकामा वीरेन्द्रनगरमा मात्रै एक हजार ९२३ जना संक्रमित भएका छन् ।

जिल्लाको कूल संक्रमितमध्ये करिब ८७ प्रतिशत संक्रमित वीरेन्द्रनगरमै देखिनुले यहाँ डेंगीको जोखिम गम्भीर देखाउँछ । संक्रमणको उच्च दरसँगै नगरपालिकाले अब उपचार र परीक्षणमा मात्र सीमित नभई संक्रमणको स्रोत नियन्त्रणमा जोड दिने तयारी गरेको छ । नगरप्रमुख ढकालका अनुसार प्रत्येक वडामा सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै लामखुट्टेको सम्भावित बासस्थान पहिचान गरी ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिने तयारी छ ।

नगरपालिकाले वडा नं. ३, ४, ६, ७ र ११ लाई डेंगीकोको उच्च जोखिममा राखेको छ । यी वडामा केन्द्रित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा लामखुट्टे नियन्त्रणका गतिविधिलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ । नगर स्वास्थ्य प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार वीरेन्द्रनगरमा डेंगीसँगै अन्य लामखुट्टेजन्य तथा संक्रामक रोगको जोखिम पनि देखिएको छ । नगर क्षेत्रमा स्क्रब टाइफसका २२५ जना र औलोका २२ जना बिरामी भेटिएको उनले जानकारी दिए ।

नगरपालिकाले विगतदेखि नै रोग नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । तर डेंगी नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु नै उपयुुक्त रहेको स्वास्थ्य प्रमुख गिरीको भनाइ छ । ‘नगरपालिकाले सबै वडामा सचेतनामूलक ब्यानर राख्नुका साथै लामखुट्टे बस्न र प्रजनन गर्न सक्ने सम्भावित स्थानको खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ’ उनले भने, ‘स्वास्थ्य संस्थाहरूमा डेंगी परीक्षणका लागि आवश्यक किट उपलब्ध गराइएको छ, भने समुदायस्तरमा पनि रोगबारे जानकारी फैलाउने काम भइरहेको छ ।’

आमा समूह, युवा क्लब, टोल विकास समिति तथा विद्यालयमार्फत डेंगीका लक्षण, संक्रमणबाट बच्ने उपाय र रोकथामका विधिबारे जानकारी दिने गरिएको गिरीले बताए । उनका अनुसार समुदायको सक्रिय सहभागिताबिना डेंगी नियन्त्रण कठिन हुने भएकाले अभियानलाई घरघर र टोलटोलसम्म पु¥याउने तयारी गरिएको छ । स्वास्थ्यकर्मीहरूले भने डेंगी नियन्त्रणमा सरकारी निकायको प्रयाससँगै व्यक्तिगत सावधानीलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताएका छन् ।

प्रदेश अस्पतालका डा. केएन पौडेलले डेंगीबाट बच्न पर्याप्त झोलिलो पदार्थ सेवन गर्न सुझाव दिए । स्वास्थ्यमा समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्नेमा उनको जोड छ । जनस्वास्थ्य कार्यालय सुर्खेतका उदय बिसीले डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई नियमित गतिविधिका रूपमा सञ्चालन गर्नुपर्ने बताए । लामखुट्टेको प्रजननस्थल नष्ट गर्न ठूलो आर्थिक स्रोत आवश्यक नपर्ने र समुदायका सबै व्यक्तिको सहभागिता सम्भव हुने भएकाले सामूहिक अभियान प्रभावकारी हुने उनको भनाइ छ ।

डेंगी फैलाउने एडिस जातको लामखुट्टेले घरवरपर जम्मा भएको सफा पानीमा समेत प्रजनन गर्ने भएकाले पानी जम्ने भाँडाकुँडा, टायर, गमला, बोतललगायतका स्थान नियमित रूपमा सफा गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । वीरेन्द्रनगरमा संक्रमितको सङ्ख्या उच्च देखिएसँगै निःशूल्क परीक्षणको पहुँच विस्तार हुनु नागरिकका लागि राहतको विषय बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार