नन्दराम जैशी । सुर्खेत ।
लगातारको भारी वर्षासँगै जाजरकोट र रोल्पा जिल्लामा पहिरोको जोखिम भयावह बन्दै गएको छ । यी दुुई जिल्लामा मात्रै पछिल्लो एक सातामा वर्षाजन्य विपद्का घटनामा २५ जनाको मृत्यु भएको छ । भने नौ जना घाइते र एक जना बेपत्ता भएका छन् । वर्षाले भिरालो जमिनमा बनाइएका बस्ती, घर तथा संरचनालाई नै जोखिमको केन्द्र बनाएको हो । यस्ता संरचनाका कारण पहिरो जाँदा मानिसले अकालमा ज्यान गुुमाइरहेका छन् ।
सामान्य वर्षा हुँदासमेत पहिरो खस्ने क्रम बढेपछि ग्रामीण क्षेत्रमा जनजीवन असुरक्षित बन्दै गएको छ । मृतकमध्ये रोल्पामा मात्रै २१ जना छन् । त्यहाँ दुई जना घाइते र एक जना अझै बेपत्ता छन् । जाजरकोटमा चार जनाको मृत्यु भएको छ, भने सात जना घाइते भएका छन् । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा पहिरोमा पुरिएर चार जनाको ज्यान गएको हो । शनिबार साँझ पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेको थियो ।
भने यसअघि पहिरोमा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही वडाकी करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री छन् । यस्तै पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परी सात जना घाइते भएका छन् । भने पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ । यस्तै झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनासहित थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । ३० साउन दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत आसपासका क्षेत्रमा पहिरो गएको थियोे । पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका हुुन् ।
यता निरन्तरको वर्षासँगै आएको पहिरोले रोल्पामा पनि मानवीय क्षति बढाएको छ । पूर्वी रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा शुक्रबार राति मात्रै पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको थियो । घरभित्र सुतिरहेको अवस्थामा वर्षापछि खसेको पहिरोले घर पुरेपछि उनी च्यापिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार बिहान करिब ३ बजे पहिरोले घर पुरिएको सूचना प्रहरी चौकी किलाचौरमा पुगेको थियो ।
प्रहरी टोली घटनास्थलमा पुग्दा पुरिएको अवस्थामा वृद्ध गुरुङको टाउकोको भाग मात्रै देखिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा उनको शव निकालिएको थियो । यस्तै शनिबार बिहान सुनिलस्मृति गाउँपालिका–६ आमडाँडामा पहिरोले स्थानीय गौतम थापाको घरको एकापट्टिको भित्ता भत्काएको छ । घरमाथिबाट पहिरो खसेर क्षति पुगे पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । रोल्पामा पछिल्लो एक सातादेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो, बाढी र चट्याङका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार एक साताको अवधिमा पहिरो र चट्याङका घटनामा २१ जनाको मृत्यु भइसकेको छ । वर्षा र चट्याङका कारण अकल्पनीय मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसअघि थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा बुधबार राति पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो ।
बस्तीमाथिबाट आएको पहिरोले १२ वटा घर पुरिँदा १३ जनाको मृत्यु भएको थियो । घटनामा पुरिएकामध्ये एक जनाको शव अझै फेला परेको छैन । त्यसैगरी सुनछहरी गाउँपालिका–२ फलबाङ र गिच्चे म लुङगारु टोलमा पहिरोले छुट्टाछुट्टै दुई घर पुरिँदा चार जनाको मृत्यु भएको थियो । यस्तै लुङग्रीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो । भूकम्पविद् तथा विपद् विज्ञ लोक विजय अधिकारीले भिरालो जमिनमा बनाइएका बस्ती, घर तथा अन्य संरचना पहिरोको उच्च जोखिममा रहेको बताए ।
लगातारको वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र बाढीको जोखिम कायमै रहेकाले प्राकृतिक विपद्का घटना निम्तिनसक्ने उनको अनुुमान छ । ‘असुरक्षित भू–भागमा रहेका घर तथा बस्ती थप ठूलो चुनौती बनेका छन् । प्राकृतिक कारणसँगै अव्यवस्थित बस्ती विकास र भू–उपयोगका कारण जोखिम बढेको छ’ उनले भने, ‘भिरालो तथा कमजोर भू–बनोटमा बस्ती विस्तार गर्नु, घरआँगनसम्म सडक तथा गोरेटो बाटो पु¥याउनु लगायतका मानवीय गतिविधिले पहिरोको जोखिम थप बढाएको छ ।’
वर्षाका कारण जमिनमा पानीको मात्रा बढ्दा कमजोर तथा भिरालो भू–भागमा पहिरो जाने सम्भावना उच्च हुने भएकाले जोखिमयुक्त बस्तीका बासिन्दा थप सचेत हुनुपर्ने अधिकारीको सुझाव छ । प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सुरक्षित स्थानमा बस्ती विकास गर्नुका साथै सडक तथा संरचना निर्माण गर्दा भू–बनोट र वातावरणीय जोखिमलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
उनका अनुुसार जाजरकोटमा भूकम्पले चर्किएको जमिन र रोल्पामा अध्यधिक भिरालो, कमजोर जमिनमा बस्ती हुदाँ बाढी पहिरोको जोखिम उच्च बनेको हो । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा सर्पदंश, पहिरो, आगलागी, अविरल वर्षा, बाढी, चट्याङलगायतका ४६ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी दुुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । विपद्का घटनामध्ये सर्पदंश, पहिरो, आगलागी तथा भारी वर्षाका घटना उल्लेख्य रहेका छन् ।
यस्तै बाढी, जनावरको आक्रमण, हावाहुरी, चट्याङ, वन डढेलो र अन्य प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनासमेत भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०८३ वैशाख १ देखि साउन ३१ गतेसम्म देशभर विपद्का घटनाबाट २४० जनाको मृत्यु भएको छ । सो अवधिमा ६ जना बेपत्ता तथा एक हजार ५१३ जना घाइते भएका छन् । विपद्बाट पाँच हजार ८७६ परिवार प्रभावित भएका छन् ।
यस अवधिमा २६० वटा बाढीका घटनामा देशभर २१ जनाको मृत्युु, चार बेपत्ता र १४ जना घाइते भएका छन् । भने ५२५ परिवार प्रभावित भएको तथ्यांकमा उल्लेख छ । देशभर विपद्का कारण जनधनको क्षति बढ्दै गएपछि सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
‘जोखिम र प्रभावित बस्तीमा खटिएका छौँ’
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा घाइतेको उपचारका लागि सुरक्षा निकायसहित स्थानीय जनप्रतिनिधि र कर्मचारी परिचालन गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको बताए ।
उनका अनुसार शनिबार राति १२ बजेसम्म नगरप्रमुख सिपी घर्ती, स्थानीय नागरिक, जनप्रतिनिधि, जिल्ला सुरक्षा टोली तथा कर्मचारीहरू खोज, उद्धार र घाइतेको उपचारमा खटिएका थिए । तर अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको उनको भनाइ छ । उनका अनुसार भेरी–२ को रिसाङ क्षेत्र, वडा नं. ३ को स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं. १ का पिपे, मैदे, डौरिकाँडा, घुयलनेटा र रावतगाउँ बस्ती अत्यन्त जोखिममा छन् ।
जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको अधिकारीले बताए । प्रतिकूल मौसमका कारण समयमै अधिकांश जोखिमयुक्त बस्तीमा पुग्न सकस रहेको भन्दै अधिकारीले खोज तथा उद्धारका परिचालित टोलीले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए । उनका अनुसार नेपाली सेनाका ८०, नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरीका ४५ जनासहितको टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ ।
‘खोज तथा उद्धार कार्यमा स्थानीय नागरिक र जनप्रतिनिधिसँग समेत समन्वय भइरहेको छ’ उनले भने, ‘विपद्को यस घडीमा सबै नागरिकलाई सजग र सतर्क रहन आग्रह गरेका गर्दछौं ।’ साथै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चारकर्मी, नागरिक समाज, प्रदेश तथा संघीय सरकार, स्थानीय तह र सबै सरोकारवालासँग सहयोग र सहकार्यका लागि प्रशासनले अपिल गरेको छ ।
‘थप क्षतिको जोखिम उच्च छ’
लगातारको वर्षाका कारण रोल्पाका ग्रामीण सडक तथा बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । जोखिमयुक्त बस्तीमा सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षा निकायले सतर्कता बढाएका छन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगबहादुर क्षत्रीले पनि आफूहरू जोखिम तथा प्रभावित बस्तीमा खटिएको जानकारी दिए । जिल्लाका अधिकांश ग्रामीण सडक तथा बस्ती पहिरोको उच्च जोखिममा रहेको उनले बताए ।
उनका अनुुसार लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी रहेको र सडकसमेत अवरुद्ध हुन थालेका छन् । भने पहिरो तथा वर्षाजन्य घटनाबाट मानवीय क्षतिसँगै पशुचौपाया तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ । ‘जोखिम प्रभावित बस्ती नजिक सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न मिल्ने सार्वजनिक विद्यालय, भवन तथा अन्य संरचना पर्याप्त छैनन् । यसले विस्थापितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नसमेत चुनौती छ’ उनले भने, ‘जिल्लाका विभिन्न स्थानबाट पहिरो तथा वर्षाजन्य घटनासम्बन्धी सूचना निरन्तर प्राप्त भइरहेको छ ।
वर्षा अझै जारी रहेकाले थप मानवीय तथा भौतिक क्षतिको जोखिम उच्च रहेको छ ।’ लगातारको वर्षाले भिरालो जमिन कमजोर बनाएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान र विपद्का समयमा सुरक्षा निकाय तथा स्थानीय तहले दिएको निर्देशन पालना गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ । भने स्थानीय नागरिक, जनप्रतिनिधि, जिल्ला सुरक्षा टोली तथा कर्मचारीहरू खोज, उद्धार र घाइतेको उपचारमा खटिएका छन् ।
पहिरो पीडितलाई कर्णाली सरकारको राहत
कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ । जसमा १५० थान त्रिपाल, १८५ थान ब्ल्यांकेट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम पठाइएको हो । प्रदेश सचिव लक्ष्मी विकका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार सामग्री पठाएको बताइन् ।
हाल पहिरोको जोखिममा रहेका तथा विस्थापित स्थानीयवासीलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ । विद्यालयमा आश्रय लिएका पीडितको स्वास्थ्य परीक्षणसमेत भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए । उनका अनुुसार शनिबारदेखि प्रभावित क्षेत्रमा पीडितहरू कठिन अवस्थामा रहेका छन् । पहिरोमा आफन्त गुमाएका तथा घाइते भएकाहरूलाई प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गरिने मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए ।
तत्कालका लागि आवश्यक राहत सामग्री पठाइएको र थप आवश्यकता तथा मागका आधारमा राहत वितरणलाई निरन्तरता दिइने उनको भनाइ छ । यसैबीच, आइतबार बिहान मुख्यमन्त्री शाहीसँग राष्ट्रियसभा सदस्य माया प्रसाद शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंहलगायतले रिसाङमा भएको जनधनको क्षति, उद्धार तथा राहतका विषयमा छलफल गरेका थिए । सरकारले प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी थप राहत तथा पुनःस्थापनाका काम अघि बढाउने जनाएको छ ।
भौगर्भिक अध्ययन टोली पठाइने
पहिरोले जनधनको क्षति भएका क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । पहिरो प्रभावित बाजुराको त्रिवेणी नगरपालिका लगायतका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न टोली पठाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । तीन दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्