नन्दराम जैशी । सुर्खेत ।
साउनको मध्यदेखि भदौको मध्यसम्म धान गोडमेल गर्ने र आवश्यकताअनुसार मल हाल्ने समय हो । तर यस वर्ष कर्णालीका किसानका लागि यही महत्वपूर्ण समयमा रासायनिक मलको चरम अभाव भएको छ । धान रोपाइँका बेला वर्षाको समस्या झेलेका किसानले अहिले गोडमेल गर्ने समयमा युरियासहितका रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्तामा छन् । मल खोज्दै बजार धाउनुपर्ने, सहकारी र एग्रोभेटमा मल नपाइने तथा कतिपय ठाउँमा महँगो मूल्यमा समेत गुणस्तरीय मल नपाइने अवस्थाले किसान थप मर्कामा परेका हुुन् ।
खेतमा मल हाल्ने समय घर्किँदै जाँदा धानका बोट पहेँलिन थालेको किसानको गुनासो छ । वीरेन्द्रनगर–१० का लक्ष्मी गौतमले मल नपाएपछि अहिले धान गोडमेलको काम मात्रै गरिरहेको बताए । धानमा आवश्यक समयमा मल हाल्न नपाए उत्पादन घट्ने उनको चिन्ता छ । उनका अनुसार किसानले खेतमा लगाएको बाली जोगाउनेभन्दा पनि बजारमा मल खोज्दै समय बिताउनुपर्ने अवस्था आएको छ ।
वीरेन्द्रनगर–३ की राजकली योगीले बल्लतल्ल रोपाइँ सके पनि अहिले मल नपाउँदा बालीको अवस्था कमजोर हुँदै गएको गुुनासो गरिन् । समयमा पानी नपर्दा धान रोप्न धौ–धौ धान परेको बेला त्यसैमा मल नपाउँदा झन् समस्या भएको उनको भनाइ छ । खेती लगाएर उत्पादन लिने बेलामा नै मल नपाएपछि किसानलाई ठूलो सास्ती भएको उनले बताइन् । वीरेन्द्रनगर–४ का बलबहादुर गिरीले मल अभावका कारण धानमा रोगको समस्या देखिन थालेको बताए । मल पाइन्छ कि भनेर दिनभर बजार डुले पनि रित्तै हात फर्कनुपरेको उनको गुनासो छ ।
‘बजारमा मल नपाएपछि रित्तै हात फर्कनुपरेको छ,’ उनले भने, ‘मल नहुँदा खेत पनि पहेँलिन थाले । समयमा मल नपाउँदा मर्का नै मर्का छ । आउँछ, आउँछ भन्छन्, मल कहिले आउने हो ? थाहै छैन ।’ समयमा मल हाल्न नपाउँदा धानको उत्पादनमा प्रत्यक्ष असर पर्ने किसानहरु बताउँछन् । किसानले मलको अभावलाई सामान्य बजार समस्या नभई यस वर्षको उत्पादनसँग जोडिएको गम्भीर समस्या मानेका हुुन् । सिजनमा मल र बीउ नपाउने समस्या किसानका लागि नयाँ भने होइन् ।
तर धानलाई मल आवश्यक पर्ने यही समयमा अभाव हुँदा यसपटक समस्या थप गम्भीर बनेको हो । जलवायु परिवर्तनका कारण वर्षाको समय अनिश्चित बन्दै गएको वीरेन्द्रनगर–४ का किसान भुुपेन्द्र बिष्ट बताउँछन् । त्यससँगै मल तथा बीउसमेत समयमा उपलब्ध नहुँदा कृषि उत्पादन प्रभावित हुने उनको अनुमान छ । उनका अनुसार सहकारी र एग्रोभेटबाट मल लिने गरिन्थ्यो ।
तर यस वर्ष आएको छैन् भनेर आफूहरुले नपाएको उनले बताए । बजारमा मुस्किलले पाइने मलसमेत महँगो पर्ने गरेको किसानको भनाइ छ । तर महँगो मूल्य तिर्न तयार हुँदा पनि गुणस्तरीय मल पाउने सुनिश्चितता नभएको गुुनासो बढेको छ ।
एउटै कम्पनीको भर
कर्णालीमा यस वर्ष रासायनिक मल आपूर्तिको जिम्मेवारी मुख्यतः कृषि सामग्री कम्पनी लिमिटेडमा निर्भर छ । विगतका वर्षमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समेत मल वितरण गर्दै आएकोमा यस वर्ष एउटै निकायबाट आपूर्ति र वितरण हुँदा समस्या थपिएको बताइएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख ध्रुवबहादुर बोगटीका अनुसार समस्या कर्णालीमा मात्र सीमित छैन । देशभर नै मलको अभाव रहेको र कर्णालीमा मल ढिला आइपुगेकाले मागअनुसार वितरण गर्न कठिन भएको उनले बताए ।
उनका अनुसार धान रोपेको करिब एक महिनापछि कर्णालीका सुर्खेत, दैलेख र कालीकोटमा मात्रै झण्डै ५०० मेट्रिकटन मल आवश्यक पर्छ । तर असार पहिलो सातासम्म आइपुग्नुपर्ने मल साउन अन्तिमसम्म पनि पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन । कोलकाता नाकाबाटै मल आउन नसकेको भन्दै यस वर्ष पहिलो चरणको मल साउनको पहिलो सातामा मात्र आएको उनले जानकारी दिए । यस वर्ष कर्णालीमा हालसम्म ५१३ मेट्रिकटन युरिया र ५४० मेट्रिकटन डीएपी मल आपूर्ति भएको कार्यालयले जनाएको छ ।
तर गत वर्ष मात्रै कर्णालीमा दुुई हजार १३७.७ मेट्रिकटन रासायनिक मल खपत भएको तथ्यांकले यस वर्षको आपूर्ति र आवश्यकताबीचको अन्तर देखाउँछ ।
धान गोडमेलसँगै युरिया प्रयोग गर्ने मुख्य समयमै आपूर्ति कमजोर भएपछि किसानको खेतसम्म मल पुग्न सकेको छैन । धान रोपाइँमा ढिलाइ भएका कारण कतिपय किसानले बालीको विकासका लागि झन् महत्वपूर्ण समयमा मलको आवश्यकता महसुस गरिरहेका छन् ।
कार्यालयका अनुसार दोस्रो चरणको मलको समेत अभाव छ । तत्काल पर्याप्त मल आउने अवस्था नरहेको र भदौ पहिलो सातासम्म दोस्रो चरणको मल आइपुग्ने अपेक्षा गरिएको बोगटीले बताए । मल अभावको मुख्य कारण बाह्य आपूर्तिमा देखिएको ढिलाइलाई मानिएको छ । भारतबाट आयात हुने मलको आपूर्ति समयमा हुन नसक्दा त्यसको प्रत्यक्ष असर कर्णालीका किसानसम्म परेको हो । कर्णालीका किसानले यस वर्ष एउटै बालीमा वर्षा र मल दुवैको समस्या झेलिरहेका छन् ।
समयमा पानी नपर्दा रोपाइँ ढिला भएको र अहिले मल अभाव हुँदा धानको वृद्धि प्रभावित हुन थालेको किसान बताउँछन् । कृषि उत्पादनमा मौसम र मलको उपलब्धता दुवै महत्वपूर्ण हुने भएकाले यी दुईमध्ये कुनै एकमा आएको अवरोधले पनि उत्पादनमा असर पार्ने कृषि विज्ञ चित्रबहादुुर रोकाया बताउँछन् । यस वर्ष भने दुवै समस्या एकैपटक देखिँदा किसानको लागत बढ्ने र उत्पादन घट्ने जोखिम थपिएको उनको भनाइ छ । सरकार र सम्बन्धित निकायले सिजनअघि नै मलको माग, आयात र वितरणको योजना बनाउन नसक्दा हरेक वर्ष किसानले मलका लागि बजार धाउनुपर्ने अवस्था दोहोरिएको हो ।









प्रतिक्रिया दिनुहोस्