कास्की ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका सदस्य प्रा.डा. तरुण पौडेलको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले गरेका थिए । साधारणसभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदन, आव २०८१–०८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
साथै, लेखापरीक्षक नियुक्ति, सञ्चालक समिति एवम् अन्य उपसमितिहरूको भत्ता तथा खर्चहरू अनुमोदन गर्नुका साथै सञ्चालक समितिले नियुक्त गरेको सञ्चालकको नियुक्तीलाई अनुमोदन समेत गरेको थियो । उपयुक्त लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने÷गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् ।
हाल संस्थाले देशका ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा १ लाख २६ हजार २८२ सदस्य तथा ४२ हजार २३५ ऋणी सदस्य रहेका छन् । संस्थाको लगानीमा रहेको कर्जा रु. ६ अर्ब ७८ करोड ९३ हजार तथा निक्षेप परिचालन रु. २ अर्ब ९८ करोड ४० लाख ४५ हजार रहेको छ ।साधारणसभामा सेयरधनीहरू केदार काफ्ले, नरेश केसी, इन्द्रराज पौडेल, नगेन्द्र शर्मा, सोमनाथ ढुंगाना, शेरबहादुर केसी, डोलराज केसी, डोलराज ढुंगाना, दिपेन थापा, विद्या श्रेष्ठ, आनन्दराज सिलवाललगायतले संस्थाको वार्षिक प्रतिवेदन तथा समसामयिक विषयमा टिप्पणी, सुझाव तथा जिज्ञासा राखेका थिए ।
सेयरधनीहरूबाट प्राप्त सुझाव तथा जिज्ञासाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, सर्वसाधारण सञ्चालक सुमन घर्ती क्षेत्री, स्वतन्त्र सञ्चालक दिलीप पौडेलले समाधान प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थागत सुधार, सुशासन तथा आगामी कार्यदिशाका विषयमा प्रतिबद्धता व्यक्त गर्दै मर्जर तथा प्राप्तिबाट संस्थामा आबद्ध हुने लगानीकर्ताबीच कुनै किसिमको असमझदारी कायम हुन नदिई सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यसैगरी, सेयरधनीबाट प्राप्त सुझाव तथा गुनासाहरूलाई सम्बोधन गर्दै संस्थाको सेवा तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनहरू अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।









प्रतिक्रिया दिनुहोस्