राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै



हुम्ला ।

जिल्लामा राहदानी बनाउन जिल्ला सदरमुकामसम्म पुगेका सेवाग्राहीले अब राहदानी लिन भने फेरी प्रशासन कार्यालय धाउन नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको सम्झौता अनुसार अब यो बाध्यता हट्ने भएको हो । सम्झौतापछि यही भदौ १ गतेदेखि हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पु¥याउने व्यवस्था कार्यान्वयनमा आएको छ । दुर्गम भूगोल, कमजोर यातायात पहुँच र सदरमुकामसम्मको महँगो तथा समयखर्चिलो यात्राका कारण हुम्लाका नागरिकका लागि राहदानी प्राप्त गर्ने प्रक्रिया अन्य जिल्लाको तुलनामा थप झन्झटिलो हुँदै आएको थियो ।

राहदानीका लागि आवेदन दिएपछि तयार भएको राहदानी लिनकै लागि पुनः सिमकोट पुग्नुपर्ने अवस्थाले सेवाग्राहीमाथि अतिरिक्त आर्थिक तथा समयको भार थपिँदै आएको थियो । नयाँ व्यवस्थाले यही समस्यालाई सम्बोधन गर्ने प्रशासनको अपेक्षा छ । तर राहदानीका लागि आवेदन दिने क्रममा सेवाग्राहीले राहदानी कसरी प्राप्त गर्ने भन्ने विकल्प रोज्न पाउनेछन् । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार सेवाग्राहीले कार्यालयबाटै राहदानी बुझ्ने वा हुलाकमार्फत आफ्नो ठेगानामा पठाउन अनुरोध गर्ने विकल्पमध्ये एक रोज्न सक्नेछन् ।

घरमै राहदानी प्राप्त गर्न चाहनेले आवेदनकै क्रममा कर्मचारीलाई जानकारी गराउनुपर्नेछ । हुलाकमार्फत राहदानी मगाउँदा सेवाग्राहीले थप ५५ रूपैयाँँ शुल्क तिर्नुपर्नेछ । प्रशासनका अनुसार यो रकम तिरेपछि तयार भएको राहदानी हुलाक सेवामार्फत सम्बन्धित सेवाग्राहीको ठेगानामा पठाइनेछ । यसबाट विशेषगरी सदरमुकाम आउन लामो दूरी पार गर्नुपर्ने गाउँका नागरिकलाई प्रत्यक्ष राहत पुग्नेछ ।

प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौतामा सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाही र जिल्ला हुलाक कार्यालयका प्रमुख अकल बमले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै राहदानी वितरणको जिम्मेवारीमा हुलाकको स्थानीय सञ्जाललाई जोडिएको हो । हुलाकको पहुँच प्रशासनिक संरचनाभन्दा पनि तलसम्म फैलिएको जिल्ला हुलाक कार्यालयका प्रमुख अकल बलमे बताए ।

उनका अनुसार जिल्लाका सातवटै गाउँपालिकामा हुलाकको संरचना रहेको छ, भने ४४ वडामा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् । यही संरचनालाई प्रयोग गरेर राहदानी वितरण गर्न लागिएकाले दुर्गम बस्तीका सेवाग्राहीसम्म सेवा पु¥याउन सहज हुने उनको भनाइ छ । ‘यसअघि राहदानी लिन सिमकोट आउनुपर्ने सेवाग्राहीले यात्रा खर्च, बाटोमा लाग्ने समय र बसाइ खर्चसमेत बेहोर्नुपर्ने अवस्था थियो’ उनले भने, ‘विशेषगरी जिल्लाका विकट गाउँबाट सदरमुकाम आउन एकै दिन सम्भव नहुने भएकाले एउटा राहदानी लिनकै लागि सेवाग्राहीले आफ्नो काम छाडेर थप समय खर्चिनुपर्ने अवस्था रहँदै आएको थियो । अब घरमै राहदानी पुग्ने भएपछि यस्तो अतिरिक्त बोझ घट्ने विश्वास छ ।’

तर प्रारम्भिक चरणमा यो सेवा जिल्लाभित्रका सेवाग्राहीका लागि मात्र लागू हुनेछ । जिल्लाबाहिर बसोबास गरिरहेका नागरिकलाई समेत हुलाकमार्फत राहदानी उपलब्ध गराउने विषयमा भने प्रशासनले राहदानी विभागसँग छलफल अघि बढाएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार