स्रोत केन्द्रका चौँरी भागबन्डा



हुम्ला ।

स्थानीयस्तरमा चौँरीगाई पालनका लागि स्थापना भएको स्रोत केन्द्र चौँरीविहीन भएको छ । स्रोत केन्द्रमा पाल्न राखिएका चौँरी स्थानीयले भागबन्डा गरेर वितरण गरेको आरोप छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङमा स्थापना गरिएको स्रोत केन्द्र चौँरीविहीन भएपछि आलोचना बढेको छ ।

व्यापारी फुन्जोक लामाका अनुसार ४ वर्षअघि लिमीमा चौँरीपालन व्यवसायलाई व्यावसायिक रूपमा सञ्चालन गर्न ठूलै लगानी गरेर स्रोत केन्द्र स्थापना गरिएको थियो । ३ वर्षसम्म स्रोत केन्द्रमा वितरण गरिएका चौँरी सो केन्द्रमै पालिएपनि गत मङ्सिरमा लिमीका स्थानीय मिलेर भागबन्डा गरेको उनी बताउँछन् । पशु अस्पताल तथा पशु सेवा केन्द्रले १३० वटा चौँरी वितरण गरेर उक्त चौँरीबाट जन्मेका बाछा जोड्दा २३० पुगेका थिए ।

बजेटको व्यवस्था हुँदासम्म स्थानीयलाई चौकीदार राखेर स्रोत केन्द्रमा चौँरीपालन गरिँदै आइएको थियो । तर पछिल्लो समय बजेटको व्यवस्था नहुँदा चौकीदार बस्न नमानेपछि लिमीवासी मिलेर भएका चौँरी बाँडेको उल्लेख छ । स्रोत केन्द्रको भवन, घेरबार र चौँरी सहयोग गरी स्रोत केन्द्रमा साढे २ करोड बजेट लगानी गरिएको थियो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले स्रोत केन्द्र चौँरीविहीन हुनु बजेट अभावकै कारण रहेको बताए । चौँरी पालनलाई व्यावसायिक रूपमा लैजान लागि ठूलै लगानीमा त्यसको भौतिक संरचना निर्माण गर्ने र चौँरी पाल्ने काम थालिएको थियो । तर स्रोत केन्द्रमा चौँरी नभएपछि निर्माण भएका भौतिक संरचना भत्किन थालेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार