बाँकेमा दलका गतिविधि स्थानीय तह चुनाव केन्द्रित



शुभाकर विश्वकर्मा । नेपालगन्ज ।

माघ २४ मा सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा ग¥यो । एमसीसीको उल्झन बल्झिरहेको बेला, प्रमुख विपक्षी दलको दबाब र निर्वाचन आयोगको बारम्बारको ताकेतापश्चात सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको थियो ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी वर्ष २०७९ वैशाख ३० गते एकपटक निर्वाचन गर्ने गरी मिति तोकेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै देश पुनः स्थानीय तहको चुनावमा होमिएको छ । निर्वाचनको मिति घोषणा भएसँगै सरकार निर्वाचनको पूर्वतयारीमा सक्रिय भएको छ भने राजनीतिक दलसमेत निर्वाचन केन्द्रित भएका छन् ।

स्थानीय तहको निर्वाचन आउन तीन महिना अझै बाँकी छ । तर, प्रमुखसहित अन्य साना दलले समेत निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन् । केन्द्र, प्रदेशदेखि स्थानीयस्तरका वडा तथा गाउँस्तरमै अहिले दलहरुले आफ्ना चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् ।

यस्तै बाँकेमा समेत प्रमुख दलसहित साना दल चुनावमा केन्द्रित भएका छन् । उनीहरुले अहिले गाउँस्तरमा विभिन्न गतिविधि गरिरहेका छन् । प्रमुख दलमध्येको एक नेपाली कांग्रेस अहिले जिल्ला अधिवेशनको चटारोमा छ । जिल्ला सभापति किरण कोइराला तत्काल पार्टीको जिल्ला अधिवेशनमा व्यस्त रहेको बताउँछिन् । उनका अनुसार फागुन १३ सम्म पार्टी चुनावमा केन्द्रित हुन्छ । त्यसपछि स्थानीय तहको चुनावमा ।

यस्तै, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत चुनावमा केन्द्रित भएका छन् । बाँकेमा नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा, जनमोर्चा, सीके रावत नेतृत्वको जनमत पार्टी, विप्लव नेतृत्वको नेकपासहित दर्जनौं दल अस्तित्वमा छन् । नेकपा एमाले बाँके पनि चुनावमा केन्द्रित भएको छ । सत्ता बर्हिगमन र पार्टीको फुट व्यवहोरेको एमालेले जिल्लाका वडादेखि जिल्ला तहमा नयाँ नेतृत्व चयन गरिसकेको छ । नेकपा एमाले बाँके संगठन विस्तार तथा संगठन सुदृढिकरण अभियान सुरु भएको बताइएको छ ।

एमालेले स्थानीय तहको निर्वाचनकै तयारीका लागि पालिकाका बैठक तोकिएको छ । यस्तै पालिका र २२ वटा जनवर्गीय संगठनका वडा कमिटी फागुन दोस्रो सातासम्म गठन भइसक्ने केन्द्रीय सदस्य सूर्य ढकालले जानकारी दिए ।

यो निर्वाचन पुरानो विरासत कायम राख्नेसमेत हो । गत निर्वाचनमा नेकपा एमालेले चार पालिकाका प्रमुखमा जित हासिल गरेको थियो ।  नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले माओवादी केन्द्र पनि नयाँ जोस र जाँगरका सातमा चुनावमा केन्द्रित भएको बताउँछन् ।

तत्काल जिल्ला अधिवेशनमा केन्द्रित हुन्छौँः कोइराला

नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला तत्काल पार्टी जिल्ला अधिवेशनमा केन्द्रित रहेको बताउँछिन् । बेलाबेलामा स्थगित हुँदै आएको जिल्ला अधिवेशन फागुन १३ गते तोकिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कमिटीले बाँकेसहित १६ जिल्लाको अधिवेशनको मिति तोकेको थियो । बाँकेमा दुई प्यानल चुनावमा होमिएका छन् । ‘अहिले हामी जिल्ला अधिवेशनमा केन्द्रित छौं । अधिवेशनबाट नयाँ नेतृत्व आउनेछ । त्यहीअनुसार स्थानीय तहको निर्वाचनमा होमिनेछौं,’ उनले भनिन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दुई पालिकामा प्रमुख जितेको थियो । उसले जितेको पालिका राप्तीसोनारी र डुडुवा गाउँपालिका हो । यस्तै नेपालगन्ज र कोहलपुरका नेपाली कांग्रेसका उम्मेदवारले उपप्रमुखमा जित हासिल गरेका थिए । यसपटकको निर्वाचनमा ती पालिकामा कांग्रेसले आफ्नो विरासत जोगाउनुपर्नेछ ।

थप पालिका जित्ने एमालेको लक्ष्य

२०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी क्षेत्रमा जित हासिल गरेको थियो । जिल्लाका आठमध्ये चार पालिकामा नेकपा एमालेले जितेको थियो । कोहलपुर बैजनाथ, जानकी र खजुरा त्यतिबेला एमालेले जितेका पालिका हुन् । यस्तै ८१ वडा अध्यक्ष अधिकांशमा एमालेले नै जित हासिल गरेको थियो । यसपटक एमालेलाई आफ्नो विरासत जोगाउने चुनौती छ ।

पार्टी फुट व्यवहोरेको एमालेलाई यो चुनाव शक्ति परीक्षणको मौका पनि हुने देखिन्छ । तर पार्टीका केन्द्रीय सदस्य सूर्य ढकाल बाँकेमा आफ्ना विरासत कायम राखेर थप पालिकामा जित्ने लक्ष्य रहेको बताउँछन् । उनका अनुसार यसपटक एमालेको जित निश्चित छ ।

माओवादी संगठन विस्तारमा केन्द्रित गत निर्वाचनमा बाँकेमा आठवटै पालिकामा नराम्रो हार व्यवहोरेको नेकपा माओवादी केन्द्र यसपटक पहिलाको भन्दा नतिजा सुधारमा केन्द्रित रहनेछ ।

अहिले उसले संगठन विस्तारलाई प्राथमिकतामा राखेको छ । संगठन विस्तारसँगै चुनाव प्रचार गर्ने माओवादी केन्द्रको लक्ष्य छ । कोहलपुर कमिटीका अध्यक्ष अवराज खड्काका अनुसार कोहलपुरसहित जिल्लाभरि अहिले संगठन विस्तार तीव्ररुपमा अघि बढिरहेको छ ।

सँगै पार्टी स्थानीय तह निर्वाचन केन्द्रित भइरहेको पनि बताए । यसपटक कम्तिमा एउटा भए पनि पालिका जित्ने लक्ष्य रहनेछ । त्यसका लागि अहिलेदेखि नै पार्टी सक्रिय भइसकेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार