नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत गरेको कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी निर्देशिका–२०७७ अनुसार बाँकेका स्थानीय तहरु स्कुल सञ्चालनको तयारी जुटेका छन् । मन्त्रालयले स्वीकृत गरेको निर्देशिका कार्यान्वयन गर्न÷गराउन केहीदिन अघि जिल्लाका सबै स्थानीय तह अन्तर्गतका शिक्षा शाखालाई निर्देशन शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले दिइसकेको छ । अहिले जिल्लाका आठ वटै पालिकाहरु कसरी स्कुलहरु तोकिएको मापदण्ड अपनाएर खोल्न सकिन्छ भनेर छलफल चलाइराखेका छन् । सम्भवत् बाँकेका केही स्थानीय तहरुले एक साताभित्र नै विद्यालय आंशिक रुपमा भएपनि सञ्चालन गर्ने तयारीमा रहेका छन् ।
कोहलपुर ।
कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेका बाँकेका विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ । अहिले बाँकेका आठ वटै स्थानीय तहहरु कसरी तोकिएको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न सकिन्छ भनेर छलफलमा जुटिरहेका छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत गरेको कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी निर्देशिका–२०७७ अनुसार विद्यालय सञ्चालन गर्ने तयारीमा यहाँका स्थानीय तहहरु जुटेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले मन्त्रालयले स्वीकृत गरेको विद्यालय सञ्चालन सम्बन्धी निर्देशिका अनुसार बाँकेमा विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘मन्त्रालयले स्वीकृत गरेको निर्देशिका कार्यान्वयन गर्न÷गराउन केहीदिन अघि जिल्लाका सबै स्थानीय तह अन्तर्गतका शिक्षा शाखालाई निर्देशन दिइसकेका छौं’ उनले भने, ‘सबैको सुझावको आधारमा छिटोमा विद्यालय सञ्चालन गर्न एक साता लाग्नसक्छ ।’ शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले गत कात्तिक २० गते उक्त निर्देशिका मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत गराएको थियो ।
कोरोना भाइरस महामारीका कारण २०७७ सालको शैक्षिक शत्र अझै सञ्चालन हुन सकेको छैन । निर्देशिका अनुसार विद्यालयको पठन पाठन सञ्चालन गर्न जिल्लाका आठ वटै स्थानीय तह अन्तर्गतका शिक्षा शाखालाई निर्देशन दिएपनि विद्यालय सञ्चालन भने कसैले नगरेको इकाई प्रमुख यादवले जानकारी दिए । ‘मन्त्रालयले स्वीकृत गरेको निर्देशिकालाई पालना गरेर बिद्यालय सञ्चालन गर्ने हो, तर निर्देशिकामा विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने दुबै कुरा उल्लेख छ,’ उनले भने ‘विद्यालय खोलेर विद्यार्थीलाई कोरोना संक्रमण भइहाल्यो भने तत्कालै विद्यालय बन्द गर्नुपर्ने हुन्छ ।’
विद्यालय खोल्नुभन्दा पहिले गाउँपालिका र नगरपालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर अभिभावक तथा विभिन्न सरोकारवाला निकायसँग व्यापक छलफल गर्नुपर्ने उनले बताए । ‘हचुवाको भरमा सबै विद्यालय एकैपटक खोल्न निर्देशिकाले भनेकै छैन, विद्यालय र सम्बन्धित वडामा कोरोना भाइरस संक्रमणको अवस्थालाई राम्ररी अध्ययन गरेर मात्र खोल्न सकिने व्यवस्था गरेको छ,’ प्रमुख यादवले थपे ‘हचुवाको भरमा विद्यालय खोलेर कुनै विद्यार्थीलाई संक्रमण भईहाल्यो भने त्यसको जिम्मेवारी कस्ले लिन्छ ? यसतर्फ पनि सोच्न जरुरी हुन्छ ।’
निर्देशिका अनुसार सम्बन्धित विद्यालयले विद्यार्थीका लागि साबुन पानीले हात धुने, पर्याप्त मात्रामा सेनिटाइजर, मास्क लगायतको व्यवस्थापन गर्नुपर्नेछ । विद्यालयले हात धुने व्यवस्था, मास्क, सेनिटाइजरको व्यवस्थापन गरे/नगरेको बारे नियमित रुपमा अनुगमन
हुनेछ । मन्त्रालयले स्वीकृत गरेको निर्देशिका अनुसार विद्यालयको पठन पाठन सञ्चालन गर्ने बाँकेका पालिकाहरुले तयारी गरेका छन् । उनीहरुले अहिले सरोकारवालासँग विद्यालय खोल्नेबारे छलफल चलाइरहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षा क्षेत्रका सरोकारवालासँग छलफल गरिसकेको छ । त्यसले स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरेर स्कूल सञ्चालनका लागि नगर प्रमुख डा. धवलशमशेर राणाको संयोजकत्वमा मापदण्ड निर्धारण कमिटि गठन गरेको थियो । मापदण्ड निर्धारण कमिटिको बैठकले नगर भित्रका विद्यालयलाई सोमबार विभिन्न निर्देशन दिएको छ । कमिटिले विद्यालयहरुलाई विद्यालय सञ्चालनको ढाचाँ बिहीबारसम्म पठाउन निर्देशन दिएको हो । त्यसपछि मात्रै कहिलेबाट स्कुल सञ्चालन गर्ने भन्ने निर्णय लिइने मापदण्ड निर्धारण कमिटिकी सदस्य समेत रहेकी उप–प्रमुख उमा थापामगरले जानकारी दिइन् ।
कोरोना महामारीको जोखिम कम रहेको गाउँपालिकाले पनि विद्यालय खोल्ने विषयमा अभिभावक तथा सरोकारवालासँग छलफल गर्न थालेको बताइन्छ । र मन्त्रालयको निर्देशिकालाई टेकेर विद्यालय सञ्चालन गर्नेबारे छलफल चलाउने तयारी भइरहेको राप्तीसोनारी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । ‘गाउँपालिकाको शिक्षा समितिको बैठक आइतबार बोलाइएको छ, त्यो बैठकमा विद्यालय खोल्नेबारे छलफल होला,’ उनले भने ‘त्यसपछि अर्कोदिन शिक्षासँग सरोकार राख्ने व्यक्तिसँग छलफल गरेर ठोस निर्णयमा पुग्छौं ।’
मन्त्रालयले स्वीकृत गरेको निर्देशिका र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्दा समस्या नहुने नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव बताउँछन् । ‘कोरोना महामारी त अझै हटेको छैन, तर सरकारले जारी गरेको निर्देशिका र पर्याप्त मात्रामा स्वास्थ्य मापदण्ड पालना गरेर खोलियो भने समस्या नआउँला,’ उनले भने । कोरोना कहरका कारण आठ महिनादेखि विद्यालयहरु सञ्चालनमा आउन सकेका छैनन् । बाँकेमा पहिले माथिल्लो कक्षाबाट मात्र पढाइ सुरु गर्नुपर्ने पक्षमा सरोकारवालाहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्