गुम्दै दसैँ मनाउने मौलिक शैली



वीरेन्द्र जैसी । नेपालगन्ज ।

अधिकांश नेपाली चाडपर्वहरूजस्तै दसैँ मनाउने परम्परागत शैली पनि आधारभूत रूपले ग्रामीण जनजीवनमा आधारित छ । त्यही परम्परागत शैली नै दसैँ मनाउने मौलिक शैली हो । तर, ग्रामीण र सहरी जनसङ्ख्याको बदलिँदो संरचनासँगै दसैँ मनाउने शैलीमा पनि परिवर्तन आएको छ । बिस्तारै दसैँ सहरी तथा आधुनिक जीवनशैलीमा आधारित हुन थालेको छ । विसं २०६८ सालको जनगणनाले नेपालमा ग्रामीण जनसङ्ख्या १७ प्रतिशत र सहरी जनसङ्ख्या ८३ प्रतिशत रहेको आँकडा दिएको थियो ।

तर, २०७८ सालमा भएको जनगणनाले यस आँकडामा ठूलो परिवर्तन भएको देखायो । हुन त उक्त आँकडा गाउँपालिका र नगरपालिकाको राजनीतिक विभाजनका आधारमा निकालिए पनि हाल गाउँमा ३३ दशमलव ८ प्रतिशत र सहरमा ६६ दशमलव २ प्रतिशत मानिसहरू बसिरहेका छन् । यसरी भएको जनसांख्यिकीय परिवर्तनले दसैँजस्ता चाडबाडहरू मनाउने परम्परागत शैली र तीनको मौलिक अभ्यासमा पनि परिवर्तन ल्याएको छ ।परम्परागत पहाडी ग्रामीण जीवनमा दसैँ, दसैँको तिथिमा मात्रै मनाइन्थेन ।

करिब १५ दिनअघिदेखि नै दसैँको तयारी सुरु गरिन्थ्यो । करिब आधा मानिसहरू बसोबास गर्ने पहाडका परम्परागत घरहरूको रंगरोगन तथा सजावटका लागि रातो र कमेरो माटोको जोहो गर्ने काम १५ दिनअघिदेखि नै सुरु गरिन्थ्यो । कमेरो र रातोमाटोमा रंगिएका पहाडी घरहरू एकसमान रङमा सजिएका हुन्थे । गाउँ कमेरो र रातो माटोको सुगन्धले मगमग भइरहेका हुन्थे ।अहिले घरहरू रंगरोगनका लागि कमेरो र रातो माटो खोज्दै हिँड्नुपर्ने बाध्यता छैन । बजारमा पाइने विभिन्न प्रकारका रङहरू नै प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ ।

नयाँ बन्ने घरहरू सिमेन्टको प्रयोग गरी बनाइन थालेका छन् । एक किसिमले नेपाली पहाडी परम्परागत घरहरू कालान्तरमा लोप हुने जोखिम बढेको देखिन्छ । दसैँ मनाउने शैलीमा आएको ठूलो परिवर्तन गाउँघरमा हुने मानिसहरूको जमघट तथा परदेशीहरू फर्किएपछि हुने उल्लासमा आधारित शैली पनि हो । पहाडबाट जीविकोपार्जन, अर्थाेपार्जन, शिक्षाआर्जन तथा अरु विविध उद्देश्यका लागि सहर तथा परदेश पुगेकाहरू घर फर्किँदा गाउँ नै उमंगमा रङमङिएको हुन्थ्यो ।

परदेशीहरू फर्किएपछि र बालबालिका तथा अधिशकांश मानिसहरू फुर्सदिला भएपछि गाउँमा अनेक परम्परागत खेलहरूले पुनजागृत हुने अवसर पाउँथे । गाउँमा डण्डीबियो, कपर्दी, कपडाको बल, चुंगी, लक्कुढाल, भुरुङ, भालेजुधाई लगायतका खेलहरू खेल्दै गरेका र रमाउँदै बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको कलरवले गाउँ नै उल्लासमय हुने गर्थे । तर, अहिले प्रायः युवाहरू समुद्रपारीका देशमा छन् । जहाँबाट चाहेको बेला स्वदेश फर्किन सहज छैन । यसैपनि गाउँहरूबाट सहरमा बसाइँ सरेर अधिकांश घरहरू खाली छन् ।

अर्काेतिर नयाँ पुस्ताको मनोरन्जन शैलीमा परिवर्तन आएको छ । उनीहरू चौर चौतारामा भन्दा मोबाइलमा रमाउने गरेका छन् । बरु जुवातासको बिगबिगी बढेको छ । अहिले जुवातासको विकृति भौतिक मात्रै नभएर भर्चुअल रूपमा पनि फैलिइरहेको छ । यद्यपि, अहिले पनि गाउँमा सक्रिय र सचेत युवायुवतीहरूको पहलमा रचनात्मक र परम्परागत शैलीको जगेर्ना गर्ने कामहरू भइरहेकै छन् । कतिपय ठाउँमा परम्परागत खेलकै र कतिपय अवस्थामा अन्य लोकप्रिय खेलका प्रतियोगिताहरू आयोजना गरिने भइरहेकै छ ।

यससँगै दसैँको बेला गाउँमा युवाहरू फर्किएपछि ठाउँ ठाउँमा हालिने पिङहरूमा गाउँका बालबालिकादेखि ज्येष्ठ नागरिकहरूसम्म झुम्मिने गर्दथे । वर्षमा एकपटक दसैँमा अनिवार्य भुइँ छोड्नुपर्छ भन्ने मान्यता पनि कतिपय ठाउँमा रहेको छ । अहिले त्यस्ता पिङहरू देख्न पनि मुस्किल हुन थालेको छ । पिङ हाल्नका लागि मिहिनेतमात्रै नभई सामूहिकताको समेत आवश्यकता पर्ने गर्दछ । अहिले कतिपय ठाउँमा सेना, प्रहरी तथा स्थानीय सरकार तथा क्लबहरूले पिङ हालेर परम्पराको संरक्षण गर्ने काम भने गरिरहेका छन् ।

दसैँकै बेला प्रायः सहरी र तराई क्षेत्रमा चंगा उडाउने चलन थियो । चंगा उडाउनुलाई कतिपय ठाउँमा इन्द्रदेवतालाई अब पानी नपारिदेउ भन्ने सन्देश र आफ्ना पितृहरूसँग जोडिने माध्यमको रूपमा पनि लिने गरिन्छ । यसैगरी, मनसुन सकिएर सरद ऋतु सुरु हुने यस समयमा आकाश सफा, निलो तथा हावाको गति पनि चंगा उडाउनका लागि उपयुक्त हुने गरेको छ । तर अहिले सहरका अधिकांश बालबालिका तथा युवाहरू मोबाइलमा अथवा चियापसल तथा क्याफेहरूमा गफिएर रमाइलो गर्नेक्रम बढेको छ । यद्यपि यदाकदा आकाशमा चंगाहरू देखिने गरेका छन् ।

दसैँको अर्काे मौलिक पक्ष, यस अवसरमा खाइने परिकारहरू पनि हुन् । खानाको प्रविधिमा आएको परिवर्तनले अहिलेपनि खानाका परिकार बनाउने परम्परागत शैली नै खोज्नु पनि उपयुक्त नहुन सक्छ । तर, परिवर्तनसँगै गाउँका ढिकी जाँतोहरू हराएका छन् । पहिले ढिकी जाँतोमा कुटाइपिसाइ गरी बनाएका सेलरोटी, पुरी, अनरसा तथा मासुका विभिन्न परिकारहरू खाने गरिन्थ्यो । अहिले ती प्रविधि लोप भएर जोगाउनका लागि संग्रहालय जरुरी भइसकेको देखिन्छ ।

अहिले सबैजसो चाडबाडहरूमा मादक पदार्थले नरमाइलो वातावरण सिर्जना गरिदिन थालेको छ । मादक पदार्थको सहज उपलब्धता र अत्यधीक सेवनले सहरदेखि गाउँसम्म सुरक्षा चुनौतीहरू थपिएका छन् । दसैँकै बेला गाउँहरूमा विभिन्न परम्परागत जात्रा तथा मेलाहरू लाग्ने गरेका छन् । तर, अहिले मदिराको अत्याधीक सेवन गर्नेहरूले त्यस्ता मेलाहरूको रौनक पनि बिथोलिदिन थालेका छन् । ती मेलाहरू लोकगीत तथा संगीतहरूमा रमाउने र तिनलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यमहरू हुने गरेका छन् ।

नेपालका विभिन्न समुदायले आ–आफ्नै शैलीले मनाउने दसैँमा उनीहरूमा मौलिक लोकगीतसंगीतको पनि ठूलो महत्व छ । तर, अहिले मेला पर्वहरूमा त्यस्ता लोकगीत तथा संगीतको ठाउँ आधुनिक डिजे र संगीतले लिन थालेका छन् । आफ्नो संस्कृति र मौलिकतासँग मेल नखाने यस्ता प्रयोग नयाँ पुस्तामा संस्कृतिप्रतिको गलत बुझाइ फैलिइरहेको भन्दै सम्बद्धहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।
प्रविधि र नेपालीहरूको फैलावटले अहिले दसैँ देशभित्र मात्रै सीमित भने छैन ।

यो नेपालीहरू जहाँ पुगेका छन् त्यहाँ पनि उल्लासपूर्वक मनाउन थालिएको छ । सामूहिक कार्यक्रम र जमघट गरेरै विदेशमा पनि दसैँ मनाउन थालिएको छ ।दसैँको सबैभन्दा महत्वपूर्ण पक्ष टीका र जमराको संस्कृति पनि नेपाली पुगेका सबै ठाउँहरूमा पुगेको छ । टीका र जमराको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वले संस्कृतिमा चासो राख्ने विश्वसमुदायकै ध्यान तानिरहेको छ । विदेशमा पुगेका नेपालीहरूले भिडिओ कलमार्फत नै पनि टीका र जमरा थापेर आफ्नो संस्कृतिलाई समयानुकूल तरिकाले मनाइरहेका छन् ।

अहिले पनि दसैँ मनाउनका लागि परदेशबाट घर फर्किनेहरू कम छैनन् । धार्मिक विधिविधानको परिपालनाको निरन्तरता कतिपय अवस्थामा अझ बढी अभ्यास भइरहेकै देखिन्छ । दसैँ धार्मिक चाडका साथै सांस्कृतिक चाड पनि हो । नेपाली दसैँको सांस्कृतिक स्वरुप मौलिक तथा विशिष्ट छ । धार्मिक हिसाबले नेपाल र भारतमा पनि यही समयमा एकैसाथ उत्सव मनाउने गरिन्छ । भारतमा नवरात्रीको रूपमा नवदुर्गाको पूजा गरी मनाउनु नै यस पर्वको मूल सांस्कृतिक पक्षका रूपमा रहेको भने नेपालमा यो पर्व नेपालीहरूको वर्षकै सबैभन्दा ठूलो सांस्कृतिक उत्सवका रूपमा रहेको छ ।

यस अवसरमा दैनिक जीवनयापनका नियमित सबै कामहरू थाती राखेर मानिसहरू उल्लास तथा आफन्तमिलनको आनन्द लिने गर्दछन् । सरकारले पनि सबैभन्दा लामो बिदा दिने यो चाडलाई धार्मिकभन्दा बढी सामाजिक र सांस्कृतिक मान्यता मिलेको छ । तर, समयसँगै भएको बहुआयामिक परिवर्तनले यसको मौलिक शैली गुम्दै गएको र आधुनिक शैली फैलिँदै गएको देखिएको छ । शैलीमा परिवर्तन आए पनि समयसँगै दसैँजस्ता उल्लास, एकता, भातृत्व, अग्रजप्रतिको सम्मान र अनुजप्रतिको स्नेहजस्ता मानवीय गुणहरूलाई उच्च मान्यता दिने चाडहरूको महत्व दिनदिनै बढिरहेको छ ।

समुदाय र भूगोलपिच्छे फरक शैली

दसैँ पर्व धार्मिक आस्थासँग मात्रै नजोडिएर नेपाली संस्कृतिको एक अभिन्न अंगको रूपमा स्थापित छ । यो पर्व पारिवारिक मिलन, सामाजिक सद्भाव र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वको रूपमा रहेको छ । दसैँ नेपालभरि सबैभन्दा लामो र महत्वपूर्ण चाडका रूपमा स्थापित भए पनि यसलाई मनाउने तरिका भने समुदाय, संस्कृति र भौगोलिक परिवेशअनुसार फरक–फरक छ ।

पहाडी समुदायमा टीका–जमरा र पारिवारिक मिलनको पर्व

नेपालको पहाडी समुदायमा दसैँ पर्वलाई केवल धार्मिक आस्था मात्र नभई परिवारको मेलमिलाप, सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतीकको रूपमा लिने गरिन्छ । साथै यस पर्वलाई मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने र भाइचारा नवीकरण गर्ने पर्वका रूपमा पनि लिने गरिन्छ । परदेश र तथा घरबाहिर रहेकाहरू यस अवसरमा घर फर्किनु दसैँको सामाजिक पक्षको सबैभन्दा आत्मिक पक्ष हो । पहाडी क्षेत्रमा दसैँ आउनुभन्दा हप्ताअघिदेखि नै विशेष चहलपहल सुरु हुन्छ ।

घर–आँगन, ढोका–झ्यालहरूको राम्ररी सफाइ गरिन्छ । पहाडी क्षेत्रका परम्परागत शैलीका घरहरूमा कमेरो र रातो माटोले लिपपोत गर्ने चलन छ । घर लिपपोतका लागि कमेरो र रातोमाटो संकलनदेखि लिपपोत गर्ने कामले गाउँमा मनोरम वातावरण सिर्जना गर्ने गर्दछ । यद्यपि पछिल्लो समय परम्परागतभन्दा सिमेन्टेड घरहरू निर्माण हुनेक्रम बढ्दैछ भने कमेरो र माटोको सट्टा रङहरूको प्रयोग पनि बढ्दै गएको देखिन्छ । पहाडी क्षेत्रमा दसैँको मुख्य उत्सव सप्तमीको दिनदेखि सुरु हुन्छ । घटस्थापनाको दिन कलश स्थापना गरिएको र जमरा राखिएको कोठामा आश्विन शुक्ल सप्तमीका दिन फूलपाती भित्र्याउने गरिन्छ भने आठौँ दिन दुर्गा देवीको रूप महाकालीको पूजा गरिन्छ ।

परम्परागत रूपमा महाष्टमीका दिन राँगा, बाख्रा, कुभिण्डो आदिको बलि दिइने चलन छ । महानवमीका दिन पनि देवीको स्वरुप सिद्धिधात्री र महालक्ष्मीको पूजा गरिन्छ । यसदिन पूजा गर्नाले सिद्धि प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ । दसैँको सबैभन्दा महत्वपूर्ण दिन विजयादशमीका दिन देवी दुर्गाले महिषासुर नामक राक्षसलाई पराजित गरेको विजयको रूपमा मनाइन्छ । यही दिन मान्यजनबाट जमरा र टीका ग्रहण गर्ने गरिन्छ । घरको जेठो व्यक्तिले सानाहरूलाई जामरा र टीका लगाउने गरिन्छ । जेठाले टीका लगाउँदै आशीर्वाद दिन्छन् र लामो आयु, स्वास्थ्य र सफलताको कामना गर्छन् ।

जमरा र टीका लगाउने कार्यक्रम परिवारका सबै सदस्यहरू एकठाउँमा जम्मा भएर गरिन्छ । जसले गर्दा पारिवारिक बन्धन अझ बलियो बनाउने गर्दछ । दसैँको अवसरमा सबैजनाले आफ्ना भाइबन्धु, विशेषगरी साना केटाकेटीहरूलाई नयाँ लुगा तथा अन्य उपहारहरू दिन्छन् । टिका लगाउने दिन सबैले नयाँ लुगा लगाउने चलन छ, जसले नयाँपन र शुभारम्भको संकेत गर्छ । पहाडी क्षेत्रमा दसैँ स्वादको पर्व पनि हो । यस अवसरमा विशेष गरी मासुको अत्याधिक उपभोग गरिन्छ । घरमा मिठाइ, सेलरोटी, पुरी, अचार, अनेक प्रकारका दाल, तरकारी आदिको व्यवस्था गरिन्छ । प

रिवार सँगै बसेर रमाइलो गर्दै स्वादिष्ट भोजन गर्ने चलनले दसैँको आनन्दलाई बढाइदिन्छ । दसैँको अवसरमा रंगबिरङ्गी चङ्गा उडाउने चलन पनि छ । साथै, गाउँघरमा विभिन्न स्थानीय खेलकुद जस्तै कबड्डी, डण्डीबियो पनि खेल्ने चलन छ । नेपालको पहाडी क्षेत्रका विभिन्न ठाउँहरूमा परम्परागत र सांस्कृतिक मेलाहरूको प्रचलन पनि छ । यस्ता मेलाहरू टाढाका आफन्तहरू भेटिने र आपसमा सांस्कृतिक नाचगान तथा रमाइलो गर्ने अवसरका रूपमा रहेका छन् ।

मधेसी समुदायमा दुर्गा पूजा र सामूहिक उत्सव

तराई–मधेसका जिल्लामा दसैैँलाई ‘दुर्गा पूजा’ वा ‘दशहरा’ भनेर पनि चिनिन्छ । यहाँ दसैँको उत्सव घरमा मात्र सीमित हुँदैन, सामूहिक रूपमा चोक तथा सार्वजनिक स्थलमा पनि उत्सवहरू मनाउने गरिन्छ । यतिखेर तराई मधेशका नगरका चोक–चोकमा, गाउँका बस्ती–बस्तीमा दुर्गा मन्दिर वा अस्थायी मण्डप बनाएर दुर्गा देवीको मूर्ति स्थापनासहित पूजा गरिएका छन् । दसैँको नौ दिनसम्म राति–राति भजन–कीर्तन, नाचगान र सांस्कृतिक कार्यक्रम पनि आयोजना भइरहेका छन् ।

नेपालगन्जलगायत मधेसका कतिपय ठाउँमा ‘रामलीला’ मञ्चन गर्ने परम्परा छ । रामलीला मञ्चनमा भगवान् राम र रावणबीचको युद्धकथा प्रस्तुत गरिन्छ । यसलाई दुर्गा देवीको विजयसँग जोडेर व्याख्या गर्ने गरिन्छ । तराई मधेसमा धार्मिक विश्वासअनुसार टीका लगाउने भन्दा पनि दुर्गा पूजामा सामूहिक सहभागिता जनाउने परम्परा बलियो देखिन्छ । यस पर्वमा पहाडी समुदायमा मांसाहार बढी हुने गरेकोमा मधेशी समुदायका मानिसहरूले यस अवधिमा व्रत बस्ने, शाकाहारी खाना खाने र फलफूल, खीर, मिठाइलाई प्रसादको रूपमा वितरण गर्ने चलन छ । तर विजयादशमीको दिन मासुको भोजन पनि ग्रहण गर्ने गरिन्छ ।

तराई क्षेत्रमा दसैँको सबैभन्दा विशेष र आकर्षक पक्ष भनेको दुर्गा पूजाका लागि निर्माण गरिने पंडालहरू हुन् । पंडालभित्र दुर्गा, लक्ष्मी, सरस्वती, गणेश र कार्तिकेय लगायतका माटो तथा परालबाट बनाइएका भव्य मूर्तिहरू स्थापना गरिन्छन् । पंडाल निर्माण, सजावट र व्यवस्थापन स्थानीय युवा, व्यापारी तथा समुदायको सामूहिक सहयोगबाट हुन्छ । नवरात्रिमा ती पंडालहरूमा दिन–रात भजन, कीर्तन र धार्मिक भाषणको कार्यक्रम हुन्छन् ।

दसैँको दसौँ दिन अर्थात् विजयादशमीका दिन बिहानैदेखि नै महिला तथा पुरुषहरूले एकअर्कामा अबिर लगाएर शुभकामना आदानप्रदान गर्छन् । दिउँसो ठूला–ठूला शोभायात्रा, बाजागाजा, नाचगान, झुलका साथमा दुर्गाको मूर्तिलाई बिदाइ दिइन्छ । यस्ता शोभायात्राहरू नदी वा तालतलैयाको किनारामा पुगेर मूर्तिहरू विसर्जन गरिन्छन् । यसले देवीले आफ्नो कार्य पूरा गरी बिदा लिइन् भन्ने विश्वासलाई प्रतिविम्बित गर्दछ । पहाडी समुदायमाजस्तै मधेशी समुदायमा पनि दसैँ पारिवारिक भेटघाटको अवसरको रूपमा लिइन्छ । विवाहिता छोरीहरू माइती आउने गर्छन् भने परदेशीहरू पनि घर फर्किने गर्छन् ।

थारू समुदायको दसैँ ः प्रकृतिको सम्मान

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले पनि आफ्नै विशिष्ट परम्परा, रीतिरिवाज तथा विश्वासका साथ दसैँ पर्व मनाइरहेको छ । थारू समुदायले दसैँ मनाउने शैलीमा प्रकृतिप्रतिको गहिरो श्रद्धा, पूर्वजको सम्मान र सामुदायिक एकता झल्किन्छ । थारू समुदायले दसैँलाई सामान्यतया ‘डस्या’ भनेर उच्चारण गर्दछ । थारूहरूको लागि दसैँ केवल देवीदेवताको पूजा मात्र होइन, बरु पूर्वजहरूको सम्मान र आराधनाको पर्व हो ।

पहाडी समुदायजस्तै थारूहरूले दसैँ आउनुभन्दा अगाडि नै घर तथा आँगनको सफाइ गर्छन् । घरको मुख्य ढोकामा स्वस्तिक, पैतलाको चिन्ह र देवीदेवताका आकृति जस्ता थारू सांस्कृतिक चिन्हहरू बनाइन्छन् । थारू समुदायको केही क्षेत्रहरूमा देवीलाई खुसी पार्न कुखुरा, बोका आदिको बलि दिने चलन पनि छ । यसैगरी भूमीको पनि पूजा गर्ने गरिन्छ । दसैँको अवसरमा थारू समुदायले बर्कीमार गाउने, सख्या र झुमरा जस्ता पारम्परिक नाचगान गर्दै रमाइलो गर्ने गर्दछन् ।

थारू समुलदायमा पनि मिलेर ढोल, मजीरा जस्ता वाद्ययन्त्रहरूको साथमा सामूहिक नाचगानको आयोजना हुन्छ । थारू समुदायले नवमीकै दिनबाट टीका लगाउन सुरु गर्छन् । थारू समुदायले रातो नभई सेतो टीका लगाउने गर्छन् । थारू संस्कृतिका जानकार अशोक थारूका अनुसार अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारूहरूको प्यारो रङ सेतो नै बन्यो ।

देवीदेवताको पूजा गर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारूको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारूलगायतका आदिबासीहरूले सेतो रङको प्रयोग गर्ने गरेका उनले बताएका छन् । थारूहरूको दसैँमा प्रकृति, जंगल र वन्यजन्तुको संरक्षणको सन्देश प्रतिविम्बित हुन्छ । पछिल्लो समय केही थारू परिवारहरूले पहाडी शैलीमा टीका र जामरा लगाउने पनि गर्न थालेका छन् ।

जनजाति समुदायको आफ्नै मौलिकता

नेपालको राष्ट्रिय चाड दसैँले यहाँका विभिन्न जनजातीय समुदायमा आ–आफ्नै पहिचान, परम्परा र विश्वासका साथ स्थान पाएको छ । प्रकृतिपूजकदेखि कृषिप्रधान समुदायसम्म, हरेक जनजातिले दसैँलाई आफ्नो सांस्कृतिक ढङ्गले मनाउँदै आएका छन् । यसले नेपालको सांस्कृतिक समृद्धि र विविधताको झलक उजागर गर्छ । गुरुङ समुदायमा सामूहिक भोजको आयोजना र घुदुके नाच, सोरठी नाच जस्ता गुरुङ समुदायका पारम्परिक नाचहरू प्रदर्शन गर्ने गरिन्छ ।

तामाङ समुदायमा दसैँ मनाउने तरिकामा हिन्दु र बौद्ध दुवै परम्पराको मिश्रण पाइन्छ । तामाङहरूको लागि दसैँ ल्होसारको तयारीको रूपमा हेर्ने चलन छ । केही तामाङ समुदायले दसैँको अवसरमा बौद्ध मन्त्रको पाठ पनि गर्छन् । तामाङ युवायुवतीहरूले पारम्परिक सेलो र झुमा नाच प्रदर्शन गर्ने गर्छन् ।मगर समुदायमा दसैँको अवसरमा घोडे नाच र सामूहिक भोजको आयोजना गर्ने र राई परिकथा सुनाउने चलन छ । राई समुदायले दसैँमा साकेला नाच प्रदर्शन र भूमीको पूजा पनि गर्छन् ।

लिम्बू समुदायले पनि दसैँको अवसरमा पारम्परिक पूजा गर्छन् । यसैगरी विभिन्न सांस्कृतिक लिम्बू नाचहरू पनि प्रदर्शन गरिन्छ । नेवार समुदायमा पनि दसैँलाई भव्यताका साथ मनाइन्छ । यस अवसमा विशेषगरी तलेजु, दक्षिणकाली देवीको पूजा गरिन्छ । नेवार समुदायले नवदुर्गाको पनि भव्य पूजा गर्ने गर्दछन् भने शस्त्रअस्त्रको पनि पुजा गर्ने गरिन्छ ।

अन्य धर्मावलम्बीका लागि दसैँः सद्भाव र बिदा उपभोगको अवसर

हिन्दु धर्मावलम्बीबाहेक नेपालका अन्य धार्मिक धर्मावलम्बीहरूले पनि दसैँलाई उत्सवको रूपमा लिने गरेका छन् । नेपालगन्जलगायत मुस्लिम समुदायको बढी बसोबास रहेका स्थानमा कतिपय मुस्लिम समुदायका मानिसहरूले टीका र जमरासमेत लगाएर धार्मिक सद्भावको नमुना प्रस्तुत गरिरहेका हुन्छन् ।यसबाहेक उनीहरूले दसैँलाई सामूहिक सद्भाव र सहअस्तित्वको माध्यमका रूपमा लिने गरेका छन् । दसैँका मेलाहरूमा बालबालिका रमाउने, छरछिमेकमा खुसी बाँड्ने प्रचलन बढ्दै गएको छ ।

क्रिश्चियन र बौद्ध समुदायका लागि पनि दसैँ धार्मिक पर्व नभए पनि यो राष्ट्रिय बिदाको अवसर हो । विद्यालय र कार्यालयहरू बन्द हुने भएकाले पारिवारिक भेटघाट, घर फर्किने, सँगै खाना खाने, घुमफिर गर्ने अवसर सबैले उपभोग गर्छन् ।दसैँ भिन्न समुदायले भिन्न–भिन्न तरिकाले मनाए पनि दसैँको साझा आत्मा भने एउटै छ–परिवारलाई भेट्ने, आफन्तसँग मिल्ने, पुराना मनमुटावलाई भुलेर नयाँ उमंगसहित अघि बढ्ने । यतिखेर टाढा रहेका आफन्त घर फर्कँदै छन् । दसैँ असत्यमाथि सत्यको विजय, सामाजिक एकता र सद्भावको साझा सन्देशसहित नेपाली संस्कृतिको एक अभिन्न अंगका रूपमा स्थापित छ ।

आश्रममा बसेकाहरूले यसरी मनाउँछन् दसैँ 

नेपालगन्जस्थित नीलसागर सेवाश्रममा अहिले बालबालिका, अशक्त, असहाय र ज्येष्ठ नागरिकलगायत दुई सय ४५ जनाले संरक्षकत्व तथा सेवा पाइरहेका छन् । यी त्यस्ता नागरिकहरू हुन्, जो परिवारबाट अवहेलनामा परेका, अलपत्र अवस्थामा फेला परेका र विभिन्न कारणले आश्रमको शरणमा पुगेका छन् । दसैँका बेला उनीहरू पनि चाडको उल्लासबाट वञ्चित हुने गरेका छैनन् ।
नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनाल पछिल्लो करिब एक दशकदेखि आफू दसैँमा घर नगएको बताउँछिन् ।

‘हामीले आश्रममै घरको माहौल बनाउने गर्छाैँ । म आफैँ पनि घर नगएर आमाबुवालाई यतै बोलाएर मनाउँछु । उहाँहरूमा घरको अभाव महसुस हुन दिँदैनौँ ।’ खनालका अनुसार आश्रममा बसेकाहरूमध्ये ज्येष्ठ नागरिकहरूले सानाहरूलाई टीका लगाएर आशीर्वाद दिने कार्यक्रम नै आयोजना गरिन्छ । साथै, आमाबुवा तथा मान्यजनहरू नहुने मनकारी मानिसहरू पनि आश्रममै पुगेर त्यहाँ रहेका आमाबुवाहरूसँग टीका ग्रहण गर्ने गरेका खनालको भनाइ छ ।

आश्रमले दसैँमा विशेष मिष्ठान्न परिकारको पनि व्यवस्था गर्ने र भोजन खुवाउन चाहने परोपकारी मानिसहरूले पनि सहयोग गर्ने गरेका उनले बताइन् । दसैँको बेला आश्रममा रहेकाहरूलाई सहयोग गर्न चाहनेहरूलाई आश्रमले हार्दिक स्वागत गर्ने पनि खनालले बताएकी छन् । यसैगरी नेपालगन्जस्थित मानवसेवा सेवाश्रमले पनि दसैँका अवसरमा विशेष कार्यक्रम गरी टीकाजमरा ग्रहणको कार्यक्रम गर्ने गरेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार