23 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

बाँकेमा बचतकर्ताको रकम फिर्ता गर्दै शिव शिखर सहकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ७, २०७९  

कोहलपुर ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाँकेका बचतकर्तालाई भुक्तानी दिन सुरु गरेको छ । जिल्लाका तीनवटा स्थानबाट उक्त सहकारीले बचतकर्तालाई भुक्तानी दिन सुरु गरेको हो । कोहलपुर, बैजनाथको सम्झना र नेपालगन्जबाट बचतकर्तालाई भुक्तानी दिन सुरु गरिएको सहकारीले जनाएको छ । बाँकेमा शिव शिखर सहकारीसँग २० हजार बचतकर्ता आबद्ध छन् ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोहलपुरकी क्षेत्रीय म्यानेजर राजकुमारी शाहीले तत्कालीन अवस्थामा समस्या समाधानका लागि तीन स्थानबाट रकम भुक्तानी दिन थालेको बताइन् । उनका अनुसार पहिलो चरणमा न्यूनतम् एक हजारदेखि २० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्ताहरुलाई बचतवापतको कृषि सामग्री र खाद्यान्न वितरण भइरहेको छ । त्यसपछि क्रमशः त्योभन्दा माथिका बचतकर्ताहरुलाई भुक्तानी प्रदान गरिने उनले बताइन् ।

उनले बैजनाथ र नेपालगन्जमा चार दिनदेखि भुक्तानी सुरु भइसकेको बताइन् । बचतकर्ताहरुको सहमतिमा कोहलपुरमा समेत खाद्यान्न सामग्रीबाट भुक्तानी दिन सुरु गरिएको छ । कोहलपुर क्षेत्रका बचतकर्ताहरुलाई कोहलपुर–११ मा रहेको शिव शिखर एग्रो प्रालिमा रहेको सेल सेन्टरबाट भुक्तानी दिन सुरु गरिएको हो ।

यहाँ रहेको खाद्यान्न स्टोरबाट चामल, तेल, चियापतीलगायतका खाद्यान्न सामग्री वितरण गरिएको उनले बताइन् । क्रमशः सोभन्दा माथिको परिणाममा कुल स्टक सकिञ्जेलसम्म वितरण गरिने शाहीको भनाइ छ । कोहलपुरमा तीन करोडको खाद्यान्न स्टक छ । कोहलपुरबाट मात्रै ६ हजार पाँच सय बचतकर्ताहरुले भुक्तानी पाउने उनले बताइन् । शिव शिखर सहकारीद्वारा सञ्चालित बैजनाथ–८ चाँदनी चोकमा रहेको मार्टमा एक करोड ११ लाख रुपैयाँ खाद्यान्न छ । पाँच दिनदेखि समान वितरण भइरहेको उनले बताइन् । सम्झनामा ३९ सय सेयर सदस्य छन् ।

यहाँबाट तीन हजार तीन सयजनालाई भुक्तानी दिन सक्ने उनले बताइन् । बैजनाथमा भुक्तानी प्रक्रिया चलिरहेको छ । यस्तै नेपालगन्जबाट रहेको मार्टबाट समेत भुक्तानी सुरु गरिएको छ । यहाँ एक करोड ७७ लाख बराबरको स्टक छ । त्यसबाट ३२ सयजनालाई भुक्तानी गर्न सकिने उनको भनाइ छ । सामानबाट भुक्तानी भइरहेको छ । नेपालगन्जमा चार हजार सेयर सदस्य छन् ।

आर्थिक मन्दीका कारण तरलता अभाव हुँदा शिव शिखरमा समस्या आएको थियो । यहाँका बचतकर्ताहरुले बचत फिर्ताको माग गर्दै आन्दोलन गरेका थिए । बचतकर्ताहरुको समस्या समाधानको विकल्पका रुपमा बचतकर्ताहरुलाई सामग्री प्रदान गरेर भुक्तानी दिन सुरु गरिएको बचतकर्ताहरुका अगुवा दिपक ढुंगानाले बताए ।

उनका अनुसार लामो समयको प्रयासपछि सञ्चालकसमेतको सहभागितामा पीडितहरुलाई भुक्तानी दिन सुरु गरिएको हो । बचतकर्ताहरुको मागअनुसार उनीहरुलाई सन्तुष्ट बनाउनका लागि भुक्तानी दिन थालिएको बताइएको छ । जनमानसमा शिव शिखरले राहत दिन थाल्यो भन्ने सन्देश प्रवाह भइरहेको उनले बताइन् ।

क्षेत्रीय म्यानेजर शाही भन्छिन्, ‘सहकारीका सञ्चालकहरु सम्पर्कमा आउनु भएको छ । बचतकर्ताका अगुवाहरुको सहयोगबाट हामी बचत फिर्ताको प्रक्रियामा पुगेका छौं । तत्काल ५० प्रतिशत जतिलाई भुक्तानी दिन्छौं । बाँकी रहेका बचतकर्ताको रकमसमेत ६ महिनाभित्र भुक्तानी दिने गरी अघि बढिरहेका छौं ।’

प्रकाशित मितिः मङ्लबार, चैत्र ७, २०७९     9:01:45 AM  |