शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा आयोडिनयुक्त नुनको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ । सरकारी स्वामित्वको संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा उपलब्ध गराइएको तथ्यांकले प्रदेशभर आयोडिनयुक्त नुनको खपतमा निरन्तर वृद्धि भइरहेको देखाएको हो । जनचेतनामा आएको विस्तार, विद्यालयस्तरदेखि समुदायसम्म सञ्चालन गरिएका कार्यक्रम र दुर्गम जिल्लामा सरकारले उपलब्ध गराउँदै आएको अनुदानले यस परिवर्तनलाई थप गति दिएको छ ।
चालू आर्थिक वर्ष २०८२–०८३ मा नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३६ हजार ७४९ क्विन्टल अनुदानको नुन छुट्याएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा छुट्याइएको ३१ हजार ५ सय क्विन्टलको तुलनामा करिब पाँच हजार क्विन्टलले बढी हो । अनुदानको परिमाणमा भएको यो वृद्धिले सरकारको प्राथमिकता र जनस्वास्थ्यप्रतिको प्रतिबद्धतालाई स्पष्ट संकेत गर्छ ।
त्यसैगरी, चालू आर्थिक वर्षको पहिलो छ महिनामै ५२ हजार ६ सय ४६ क्विन्टल आयो, न्यू शक्ति लगायतका आयोडिनयुक्त नुन बिक्री भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ हजार ३३० क्विन्टल मात्रै बिक्री भएको थियो । अर्थात्, आधा वर्षमै करिब सात हजार क्विन्टल बढी नुन बिक्री भएको देखिन्छ । कार्यालयका अनुसार, समग्र खपत गत वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको छ ।
यसले सुदूरपश्चिम प्रदेशका नागरिकहरूमा आयोडिनयुक्त नुनप्रतिको विश्वास र सचेतनामा उल्लेखनीय परिवर्तन आएको संकेत गर्छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक तेजबहादुर कुवँरका अनुसार बिक्री वृद्धि हुनुमा सबैभन्दा ठूलो कारण जनचेतनामूलक कार्यक्रमहरू हुन् । उनका अनुसार विगतमा खुला सिमानाका कारण भारतबाट गुणस्तरहीन नुन भित्रिने र जनचेतनाको अभावमा त्यही नुन प्रयोग हुने अवस्था थियो ।
तर, अहिले परिस्थितिमा उल्लेखनीय सुधार आएको छ । आयोडिनको कमीले बालबालिकामा हुने मानसिक तथा शारीरिक समस्या, गर्भवती महिलामा देखिने जटिलता र थाइराइडसम्बन्धी रोगहरूबारे व्यापक जानकारी दिइन थालेपछि उपभोक्ताहरू सचेत भएका छन् ।परिणामस्वरूप, गुणस्तरहीन नुनको प्रयोग लगभग पूर्णरूपमा बन्द भएको बताइन्छ ।
नेपाल सरकारले देशभरका दुर्गम २२ जिल्ला तथा सुदूरपश्चिम प्रदेशका चार जिल्लामा विशेष अनुदानको व्यवस्था गरेको छ । सुदूरपश्चिमका अछाम, बाजुरा, दार्चुला र बझाङ जिल्लाका लागि सरकारले अनुदानमा नुन उपलब्ध गराउँदै आएको छ ।अनुदानप्राप्त जिल्लामा प्रतिप्याकेट नौ रूपैयाँमै ‘भानु’ ब्रान्डको आयोडिनयुक्त नुन बिक्री केन्द्रमार्फत उपलब्ध गराइँदै आएको छ ।
दुर्गम र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै ल्याइएको यस योजनाले सस्तो दरमा गुणस्तरीय नुन उपलब्ध गराएर स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको छ । प्रदेशभर रहेका डिपो र बिक्री केन्द्र गरी २७ स्थानबाट अनुदानसहित अन्य ब्रान्डका नुन पनि वितरण हुँदै आएका छन् । यसले दुर्गम भेगसम्म सहज आपूर्ति सुनिश्चित गरेको छ ।
फेब्रुअरीः आयोडिन नुनको महिना
हरेक वर्षझैँ यस वर्ष पनि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले फेब्रुअरी महिनालाई ‘आयोडिन नुनको महिना’का रूपमा मनाइरहेको छ । ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त आयो, न्यू शक्ति र भानु नून नै खाऔँ’ भन्ने नाराका साथ देशव्यापी अभियान सञ्चालन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन् । स्वास्थ्य कार्यालयसँग सहकार्य, विद्यालयस्तरीय कार्यक्रम, हाटबजार तथा सार्वजनिक स्थलमा प्रचारप्रसार, पम्पलेट वितरण, अन्तरक्रियात्मक कार्यक्रमजस्ता गतिविधि सञ्चालन भइरहेका छन् । प्रादेशिक कार्यालय धनगढीले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आयोडिनयुक्त नुनको महत्वबारे जानकारी दिनुका साथै आयो नुन लोगो अंकित झोला वितरण गरेको छ ।
विद्यार्थीहरूलाई कार्यालयमै ल्याएर प्रयोगात्मक रूपमा आयोडिन परीक्षणसम्बन्धी जानकारी पनि दिइएको छ । यसले बालबालिकामार्फत परिवारसम्म सन्देश पुग्ने विश्वास गरिएको छ । आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो । यसको कमीले घेंघा रोग, थाइराइड समस्या, बौद्धिक विकासमा अवरोध, बालबालिकामा मानसिक कमजोरी तथा गर्भावस्थामा जटिलता निम्त्याउन सक्छ ।
त्यसैले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय निकायहरूले आयोडिनयुक्त नुनको नियमित प्रयोगलाई अनिवार्यजस्तै मानेका छन् । नेपाल सरकारले पनि लामो समयदेखि आयोडिनयुक्त नुनलाई प्राथमिकता दिँदै आएको छ । विशेषगरी दुर्गम र पहाडी जिल्लामा आयोडिनको कमी देखिने भएकाले त्यस्ता क्षेत्रलाई लक्षित गरी अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा नुनको नियमित आपूर्ति आफैँमा चुनौतीपूर्ण कार्य हो । तर हाल २७ वटा डिपो र बिक्री केन्द्रमार्फत वितरण प्रणाली सुदृढ बनाइएको छ । यसले उपभोक्तालाई सहज पहुँच दिएको छ । विगतमा भारतसँगको खुला सिमानाका कारण अनियन्त्रित रूपमा भित्रिने सस्तो तर गुणस्तरहीन नुनको प्रयोग बढेको थियो ।
जनचेतनाको अभाव र गुणस्तर परीक्षणको कमीका कारण धेरैले आयोडिन नभएको नुन प्रयोग गर्दै आएका थिए । तर, अहिले उपभोक्ताहरू ब्रान्ड, प्याकेटमा अंकित लोगो र आयोडिनको मात्रा जाँच्ने बानी बसाल्दै गएका छन् । बजार अनुगमन कडाइ गरिनु, सचेतना कार्यक्रमको विस्तार, र विद्यालयस्तरबाटै अभियान सञ्चालन गरिनुले उपभोक्ताको सोचमा सकारात्मक परिवर्तन ल्याएको छ ।
यद्यपि खपतमा वृद्धि उत्साहजनक भए पनि सबै घरपरिवारमा एक सय प्रतिशत आयोडिनयुक्त नुनको प्रयोग सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण कार्य हो । दुर्गम गाउँ, आर्थिक अभाव, र केही ठाउँमा अझै देखिने परम्परागत सोचका कारण पूर्ण उपलब्धि हासिल हुन बाँकी छ ।
प्रबन्धक कुवँरका अनुसार आगामी दिनमा अझ व्यापक अभियान सञ्चालन गर्ने योजना रहेको छ । विशेषगरी गर्भवती महिला, किशोरी तथा विद्यालयका विद्यार्थीलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिइनेछ । साथै, स्थानीय तहसँग सहकार्य गर्दै घरदैलो कार्यक्रम, रेडियो तथा सामुदायिक माध्यममार्फत सन्देश प्रवाह गर्ने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्