‘स्वास्थ्यकर्मी र जनप्रतिनिधि दिनरात नभनी खटिएका छौँ’



बाँकेका स्थानीय तह कोरोना भाइरस (कोभिड १९) महामारीसँग जुँधिरहेका छन् । अहिलेसम्मको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिका सबै भन्दा बढी प्रभावित भएको छ । त्यसपछि जिल्लाको एक मात्र नगरपालिकाको रुपमा रहेको कोहलपुर कोरोनाका कारण प्रभावित छ । जिल्लाका ६ वटा गाउँपालिका मध्ये खजुरा गाउँपालिका कोरोनाका कारण प्रभावित भएको छ । खजुरामा कोरोनाका कारण पछिल्लो एक महिनामा २९ जनाले ज्यान गुमाएका छन् । पहिलो चरणको कोरोना संक्रमणमा त्यहाँ ३ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । अहिलेसम्म खजुरा गाउँपालिकामा ७ सयको हाराहारीमा कोरोना संक्रमित भएका छन् । उनीहरुको गाउँपालिकाका दुई वटा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । गाउँपालिकाका कोरोना संक्रमितको उद्धार तथा व्यवस्थापनका लागि एम्बुलेन्स सेवा समेत सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ । होम आइसोलेसनमा रहेकाहरुको पनि स्वास्थ्यकर्मीद्धारा हेरचाह गर्ने गरेको स्वास्थ्य शाखाले जनाएको छ । दोस्रो चरणको कोरोना संक्रमणको समयमा गाउँपालिकाले गरिरहेका क्रियाकलाप,कोरोना संक्रमणको अवस्था र गाउँपालिकाबासीहरुको सुरक्षाको विषयमा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलसँग मिसन टुडे दैनिका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१. कोरोनाको कहर चलिरहेको छ, खजुरा गाउँपालिकाले कसरी काम गरिरहेको छ ?

खजुरा गाउँपालिकामा पहिलो चरणको भन्दा दोस्रो चरणमा कोरोना संक्रमणको अवस्था भयावह रुपमा आएको देखिएको छ । खजुरा गाउँपालिका पनि कोरोनाको कहरबाट अछुतो रहेन । बाँके जिल्लामा तेस्रो पालिका हो, कोरोनाबाट प्रभावित हुने खजुरा । नेपालगन्ज, कोहलपुरपछि खजुरा गाउँपालिका कोरोनाबाट प्रभावित भएको देखिन्छ अहिलेसम्मको तथ्यांक हेर्दा । दोस्रो चरणमा हामीले यसको भेरियन्ट शुरु हुन वित्तिकै सतर्कता अपनाएका थियौ । अहिलेपनि खजुरा गाउँपालिकामा कोरोनाबाट भएकाहरुको पहिचान गर्नको लागि एन्टिजेनको दायरा बढाइएको छ । एक महिनाको अवधीमा पाँच सय जना भन्दा बढीको परिक्षण भइसकेको छ । त्यसमा साढे एक जना भन्दा बढी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये अहिले कोरोनाका लक्षण नभएका तर पोजेटिभ देखिएकाहरुलाई होम आइसालेसनमा राखिएको छ । लक्षण देखिएकाहरुको भने आइसोलेसन सेन्टरमा उपचार गर्ने व्यवस्था गरिएको छ । यस्तै नागरिकहरुले आफ्नो तर्फबाट स्वतस्र्फूत रुपमा पीसीआर परिक्षण समेत गरिहनु भएको छ ।

पोजेटिभ केसहरुको गाउँपालिकाले नै उपचार गर्ने व्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा रहेकाहरुको लागि प्रत्येक वडामा फोकल पर्सन तोकिएको छ । उहाँहरुले नै सबैको हेरचाह र निगरानी गर्नुहुन्छ । उहाँहरुले कोरोना संक्रमितको घरमै गएर दैनिक रिपोर्ट राख्ने गर्नुभएको छ । आवश्यकताको आधारमा घरबाट आइसोलेसन सेन्टरसम्म रिफर समेत गर्ने काम भइरहेको छ । यस्तै कोरोना संक्रमितको अवस्था अनुसार भेरी तथा कोहलपुर मेडिकल कलेजमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । त्यसको लागि गाउँपालिकाले एम्बुलेन्सको सुविधा गरेको छ । गाउँपालिकाका दुई वटा एम्बुलेन्स जहिले पनि तयारी अवस्थामा हुन्छन् । अहिले गाउँपालिकामा वडा नम्बर २,३ र ४ मा कोरोना संक्रमित देखा परेका छन् । १ सय भन्दा बढी कोरोना संक्रमित भएका वडाहरुमा दुई जना भन्दा बढी फोकल पर्सनको समेत व्यवस्था गरिएको छ । हाम्रो गाउँपालिकामा दुई वटा आइसोलेसन सेन्टर रहेका छन् । एउटा १० बेडको र अर्को ४० बेडको गरी कुल ५० बेडको आइसोलेसन सेन्टर रहेको छ । त्यहाँ कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सहितको व्यवस्था गरिएको छ । यस्तै जनप्रतिनिधि समेत कोरोना संक्रमणको लागि प्रत्यक्ष रुमपा खटिनु भएको छ ।

२. खजुरा गाउँपालिकामा अहिलेसम्म कुल संक्रमित, डिस्चार्ज हुनेको संख्या, सक्रिय संक्रमित र मृतकको संख्या कति रहेको छ ? जानकारी गराइदिनुन ?

बाँके जिल्ला अहिले कोरोना संक्रमणका कारण प्रभावित भएको छ । हामी पनि कोरोनाबाट प्रभावित भएका छौ । खजुरा गाउँपालिकामा हालसम्मको तथ्यांक अनुसार ६ सय ९३ जना कोरोना संक्रमित रहेका छन् । जसमा मृतक २६ जना रहेका छन् । दुई जना मात्रै आज थपिएका छन् । यी एक महिनाको अवधिमा कोरोनाका कारण ज्यान गुमाएकाहरुको संख्या हो । यस अघि तीन जनाको पहिलो चरणमा मृत्यु भएको थियो । सक्रिय संक्रमितको संख्या २ सय ८० जना रहेको छ । ती मध्ये २ सय १८ जना होम आइसोलेसनमा रहेका छन् । अन्य व्यक्ति भने आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् । बित्नेहरुमा सामान्यतय कम उमेरका व्यक्तिहरु हुनुहुन्न । अहिलेसम्म हाम्रो गाउँपालिकामा २० वर्ष भन्दा माथि मात्रैले कोरोनाका कारण ज्यान गुमाउनु भएको अवस्था छ । त्यो भन्दा तलका व्यक्तिहरुको कोरोनाका कारण मृत्यु भएको छैन । सबैभन्दा बढी ७५ वर्ष भन्दा माथिका पनि कोरोनाका कारण बितेका छन् । खजुरा गाउँपालिकामा एकैघरबाट दुई जना सम्मको पनि मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाहरुमा कोरोनाका लक्षण देखिएका छन् । अहिलसम्म मृत्यु भएकाहरुको कोरोनाका लक्षण सहितका मृतक रहेका छन् । पछिल्लो पटक मृत्यु हुनेहरुमा त झन कोरोनाका लक्षण युक्त केस रहेका छन् । सबै जनाको पीसीआर गरेर अस्पतालमा भर्ना भएर उपचारका क्रममा मृत्यु भएका केस रहेका छन् ।

३. कोरोनाबाट जोखिमयुक्त रहेको खजुरामा ‘फ्रन्टलाइनर’हरुको मनोबल उच्च बनाउनको लागि गाउँपालिकाले विशेष सुविधा दिएको अवस्था छ की छैन ?

अहिले हामी कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंतीमा होमिएका छौ । अहिले हाम्रो उद्देश्य भनेको जनतालाई कसरी बचाउने बन्ने हो । त्यसैले सुविधा हाम्रो प्राथमिकता होइन । सेवा नै हाम्रो पहिलो कर्तव्य हो । हामी हाम्रो कर्तव्यबाट विमुख भएका छैन । हामीले दिनरात नभनी काम गरिरहेका छौ । परिवार भनेका छौ । अन्य सुविधा पनि हामीले मागेका छैनौँ । त्यसमा हाम्रो कामको मुल्यांकन गाउँपालिकाले गर्ने कुरा हो । गाउँपालिकाले पछि हाम्रो कामको मुल्यांकन गर्छ होला भन्ने आशमा हामी रहेका छौ । पहिलो सेवा त्यसपछि पेवा भन्ने हाम्रो मनसाय हो । यसमा गाउँपालिकाले हाम्रो दुःख बुझ्ला । पहिलो चरणमा हामी पनि सक्रिय रुपमा कोरोना नियन्त्रणको अभियान लागेर सफलता हासिल गरेको तथा गाउँपालिकाले पनि हामी सबैलाई राम्रो प्रोत्साहन गरेको हुनाले यसपटक पनि हामीलाई गाउँपालिकाले निराश बनाउँदैन भन्ने कुरामा विस्वस्त छौ । अर्कातिर अहिले हामीलाई काम गर्ने बेला चाहिने कुनै पनि कुराको कमी महशुस हामीलाई भएको छैन । म स्वास्थ्य प्रमुख रहेको नाताले पनि सबै स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुसँग जोडिने मौका पाएको छु । हाम्रो गाउँपालिकामा सुविधा नपाएको भन्ने सवाल नै छैन । त्यस कुरामा अहिले हामीले गाउँपालिकाका नागरिकको जीवन रक्षाका लागि लागिपरेका छौ । अहिलेको हाम्रो लडाइँ भनेको कोरोना विरुद्धको हो । गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरका कुरा गर्दा हामी त्यहाँ १६ जना स्वास्थ्यकर्मी खटिएका छौ । होम आइसोलेसन र अन्य क्षेत्रमा गरेर कुल ६८ जना स्वास्थ्यकर्मी परिचालित छन् ।

४. खजुरामा एन्टिजेन परिक्षण भइरहेको भन्नु भयो, कोरोना संक्रमित बढि देखिनुको कारण समुदाय स्तर मै बढि फैलिएर हो वा परिक्षणको दायरा बढाएर के हो ?

हामीले गाउँपालिकाको तर्फबाट पीसीआर परिक्षण गरेका छैनौ । नागरिकलेहरुले आफै प्रयोगशालामा गएर कोरोना परिक्षण गराउनुहुन्छ । गाउँपालिकाले अहिले सम्म गरिरहेको भनेको एन्टिजेन परिक्षण हो । हामीले एन्टिजेन गरेका कारण कोरोना पोजेटिभ केस बढि देखिएका छन् । त्यो साँचो हो । दोस्रो कुरा मानिसहरु आफ्नो स्वास्थ्यप्रति संवेदनशिल भएर उसले जाँचको दायरा बढाउँछ । त्यस्तो अवस्थामा राज्य गर्न नसकेपनि नागरिक आफैले परिक्षण गराएका हुन् । त्यसैले पनि बढी केस देखिएको हो । खजुरामा कोरोना पोजेटिभ बढी देखिनुको एउटा कारण नागरिकहरु आफ्नो स्वास्थ्यप्रति संवेदनशिल भएर पीसीआर परिक्षण गर्नु पनि हो । तपाईँले भन्नु भएजस्तो हाम्रो गाउँपालिकामा अहिले पनि स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर छ । उहाँहरु र हामी मिलेर कोरोनालाई परास्त गर्नको लागि हामी लागिपरेका छौ । यस्तो बेलामा समन्वय सबैभन्दा आवश्यक हुन्छ । त्यसकारण पनि हाम्रो जनप्रतिनिधि प्रति विस्वास बढ्दो छ । उहाँहरुले बेलाबेलामा समस्या भएर भन्न आग्रह समेत गर्दे आउनु भएको छ । वडाका फोकल पर्सनहरुलाई समेत वडा अध्यक्ष ज्युहरुको सहयोग अतुलनीय रहेको छ । कतिपय अवस्थामा स्वास्थ्यकर्मीलाई भन्दा जनप्रतिनिधिलाई वडाको जानकारी बढी हुन्छ । कतिपय जनप्रतिनिधिलाई थाहा नभएका कुरा स्वास्थ्यकर्मीहरुलाई हुन सक्छ । त्यसैले दुवै पक्षको सहयोग र सहमति अनुसार हामी अघि बढिरहेका छौ । दोस्रोमा गाउँपालिकाबासीलाई एकभर कम प्रभावित हुन भन्नको लागि हामी प्रयत्नशिल छौँ ।

५. कोरोना रोकथाम तथा नियन्त्रणको लागि निजी क्षेत्रको सहयोग कत्तिको पाउनु भएको छ ?

अहिलेसम्म हामीले गाउँपालिकाको स्रोत र साधनबाट नै कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रयास गरिरहेका छौ । गाउँपालिकाको सिंगो टिम त्यसमा लागेको छ । हाम्रो उद्देश्य भनेको संक्रमणदर कम कम गर्ने र मानिसको मृत्यु रोक्ने रहेको छ । हाम्रो काममा केही संस्था र मानिसहरुले सहयोग गर्नु भएको छ । एउट युवाहरुको समूहले अक्सिजनको लागि चाहिले पोलोमिटर २० वटा उपलब्ध गराउनु भएको छ । एउटा अर्को संस्थाले केही मास्क, सेनिटाइजर पीपीई, ग्लोप्स लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अन्य सहयोग पनि प्राप्त भएका छन् । त्यसमा पालिका आफैले पनि समन्वय गर्ने काम गर्दछ । एकद्धार प्रणाली मार्फत सहयोग आउने गर्दछ । अहिले सम्म पालिकाको स्रोत र साधनबाट चलिरहेको छ ।

६. अन्त्यमा सम्पूर्ण गाउँपालिकाबासीहरुलाई कोरोनाबाट बच्नको लागि के भन्न चाहनुहुन्छ ?

मुख्य गरेर अहिलेको कोरोनाको हकमा हामीले दुई तीन वटा कुरालाई मध्यनजर गर्नुपर्ने देखिन्छ । यस्ता कुराले हामी आफै पनि सुरक्षित हुन्छौँ । हाम्रो समुदायलाई पनि सुरक्षित राख्न सक्छौ । पहिलो कुरा अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कयौँ । भीडमा नजाऔँ । जानै परेपनि अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ । बाहिर निस्केर घरभित्र आउँदा अनिवार्य रुपमा सावुन पानीले हात धुने बानी बसालौँ । अन्य कोरोनाबाट अन्य सूचनाबाट पनि बाहिर नहोऔँ । अनावश्यक सूचनाका पछि नलाऔँ । यो एउटा जटिल समय र परिस्थिति हो । यसबाट बच्नु नै हाम्रो बुद्धिमता हुनेछ । मुख्य गरेर खजुरा गाउँपालिकाबासीहरुलाई यही कुरा अनुरोध गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ८ गते शनिबार