हुम्ला ।
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले जिल्लामै उपचार पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ । जटिल खालका बिरामीदेखि प्रसूति सेवाका लागि आउने गर्भवती महिलासम्मले आवश्यक उपचार नपाएर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको हो । जिल्लामै सुत्केरी गराउन सकिने गर्भवती महिलालाई समेत विशेषज्ञ चिकित्सकको अभावमा सुर्खेत पठाउनुपरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार विगत डेढ महिनादेखि विशेषज्ञ चिकित्सकविहीन छ । यस अवधिमा अस्पतालमा उपलब्ध हुनुपर्ने विशेषज्ञ सेवा प्रभावित भएको छ भने जटिल स्वास्थ्य समस्या लिएर आउने बिरामीका लागि रेफर गर्नुबाहेक अर्को विकल्प नरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । गर्भवतीलाई जिल्लामै प्रसूति सेवा उपलब्ध गराउन सकिने अवस्था हुँदाहुँदै चिकित्सकको अभावका कारण बाहिर पठाउनुपरेको आफन्त जयबहादुर शाहीले बताए ।
उनक अनुसार यसअघि प्रसूति ब्यथा लागेर गर्भवती महिला अस्पताल पुग्दा अस्पतालमै सुत्केरी गराउने व्यवस्था थियो । तर, अहिले विशेषज्ञ चिकित्सक नहुँदा त्यही सेवा लिनका लागि सुर्खेत जानुपर्ने अवस्था आएको उनको भनाइ छ । प्रसूति सेवाजस्तो संवेदनशील अवस्थामा जिल्लाबाहिर जानुपर्ने भएपछि बिरामी र उनका आफन्तले थप समय, यातायात खर्च तथा व्यवस्थापनको भार बेहोर्नुपरेको छ । अस्पतालका वरिष्ठ अनमी सरिता बोहराका अनुसार डेढ महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भएको हो ।
परिवार नियोजन, प्रसूति सेवा तथा जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या देखिएको उनले बताइन् । ‘आवश्यक विशेषज्ञ सेवा उपलब्ध नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको छ,’ उनले भनिन्, ‘अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि दुवै पद रिक्त रहेको छ ।’ जसमा एक जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको अवस्थामा उनको पनि सरुवा भएपछि अस्पताल विशेषज्ञ चिकित्सकविहीन बनेको उनले बताइन् ।
कागजमा दरबन्दी कायम रहे पनि सेवा दिनुपर्ने स्थानमा चिकित्सक नहुँदा त्यसको प्रत्यक्ष असर बिरामीले भोग्नुपरेको हो । विशेषज्ञ चिकित्सकको व्यवस्था नगरी उपलब्ध जनशक्तिसमेत सरुवा गरिँदा दुर्गम जिल्लाको स्वास्थ्य सेवा थप प्रभावित भएको बोहराको भनाइ छ । अस्पतालमा विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामी आउँदा उपचारको सम्भावना, उपलब्ध जनशक्ति र पूर्वाधारको अवस्था मूल्यांकन गरी रेफर गर्नुपर्ने हुक्छ । तर, अस्पतालमै उपलब्ध हुनुपर्ने विशेषज्ञ चिकित्सक नहुँदा रेफर नियमित विकल्पजस्तै बन्ने जोखिम रहेको उनी बताउँछिन् ।
विशेषज्ञ चिकित्सकको अभावसँगै अस्पतालमा सामान्य चिकित्सकको जनशक्तिसमेत अपुग छ । जिल्ला अस्पतालमा सात जना चिकित्सक आवश्यक पर्ने भए पनि हाल तीन जनाले मात्रै सेवा दिइरहेका छन् । उपलब्ध विवरणअनुसार निमित्त कार्यालय प्रमुखसहित अन्य एक जना चिकित्सक दसैँ मनाउन घर गएकोमा उनीहरू फर्किएका छैनन् । यसले अस्पतालमा उपलब्ध चिकित्सकको जनशक्ति व्यवस्थापनमा थप चुनौती छ ।
अस्पतालका चिकित्सक डा. मुकेश यादवले पनि उपलब्ध हुनुपर्ने विशेषज्ञ सेवा अहिले नहुँदा बिरामी मर्कामा परेको बताए । जनशक्ति अभावको समस्या अस्पतालको दैनिक सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ । जिल्लामै आवश्यक विशेषज्ञ सेवा उपलब्ध नहुँदा बिरामीले उपचारको निरन्तरता र पहुँचका विषयमा थप कठिनाइ सामना गर्नुपरेको उनले बताए ।
अस्पतालका स्वास्थ्यकर्मीले प्रदेशबाट विशेषज्ञ चिकित्सकको व्यवस्था नगरी उपलब्ध जनशक्ति पनि सरुवा गरिँदा बिरामीले सास्ती खेप्नुपरेको बताएका छन् । चिकित्सकको पदपूर्ति, सरुवा व्यवस्थापन र दुर्गमका स्वास्थ्य संस्थामा सेवा निरन्तरता कायम गर्ने विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । जिल्लामै सम्भव हुने प्रसूति सेवा लिनसमेत गर्भवतीलाई सुर्खेत पठाउनुपर्ने अवस्था अन्त्य गर्न तत्काल आवश्यक चिकित्सकको व्यवस्था गर्नु अपरिहार्य छ ।









प्रतिक्रिया दिनुहोस्