देशभर वर्षा र हिमपातको जोखिम



नन्दराम जैशी । सुुर्खेत ।

देशका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढेको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना छ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातीय प्रणाली नेपालतर्फ अघि बढेसँगै वर्षा र हिमपातको जोखिम बढेको हो । हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको उक्त चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ गते अर्थात् आजदेखि १४ गतेसम्म मौसम प्रतिकूल हुनसक्ने पूर्वानुमान गर्दै सर्वसाधारणलाई समेत सतर्क रहन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीमा विकसित चक्रवातीय प्रणालीको प्रभावसमेत नेपालमा पर्न सक्ने देखिएकाले आगामी केही दिन देशका विभिन्न भूभागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन् ।

विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबार देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान छ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ । तर, बिहीबारदेखि मौसममा थप परिवर्तन आउने र शुक्रबार तथा शनिबार वर्षाको प्रभाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीले पर्याप्त जलवाष्प बोकेर ल्याउने र माथिल्लो वायुमण्डलमा सक्रिय अन्य मौसमी प्रणालीसँग ठोक्किने भएकाले वर्षाका लागि अनुकूल अवस्था बन्ने मौसमविद्हरूको भनाइ छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीको गति, तीव्रता र नेपाल नजिक आइपुग्दाको अवस्थाले वर्षाको मात्रा निर्धारण गर्नेछ । प्रारम्भिक पूर्वानुमानअनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म यसको प्रभाव देखिने उनले बताइन् ।

प्रणाली नेपाल नजिक आइपुग्दासम्म कमजोर हुन सक्ने सम्भावना पनि रहेको उल्लेख गर्दै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुन सक्ने उनको भनाइ छ । ‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्छ,’ उनले भनिन्, ‘त्यसैले उच्च हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र मौसम प्रतिकूल भएको अवस्थामा थप उचाइतर्फ यात्रा नगर्न सुझाव छ ।’ उनका अनुसार वर्षाको सम्भावना देखिँदैमा सर्वसाधारण आतंकित हुनुपर्ने अवस्था छैन । तर, जोखिमयुक्त क्षेत्रका बासिन्दा, यात्रु, किसान र पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटकले पूर्वानुमानलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।

कुन प्रदेशमा कस्तो जोखिम ?

मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको विवरणअनुसार कात्तिक १२ देखि १४ गतेसम्म प्रदेशअनुसार वर्षा तथा हिमपातको सम्भावना फरक–फरक रहनेछ । मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशमा बिहीबारदेखि बदली बढ्ने तथा शुक्रबार र शनिबार धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुुमान छ । केही स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, मधेश प्रदेशमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ ।

वर्षासँगै हावाहुरी र चट्याङको जोखिम रहेकाले खुला स्थानमा काम गर्ने तथा यात्रा गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्नेछ भने बागमती प्रदेशमा धेरै स्थानमा बदली र वर्षाको सम्भावना छ । केही स्थानमा भारी वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको जोखिम रहने अनुुमान छ । पहिरोको जोखिम भएका सडकखण्डमा विशेष सावधानी अपनाउन आवश्यक रहेको मौषमविद्हरू बताउँछन् । गण्डकी प्रदेशमा वर्षासँगै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने भएकाले पदयात्रा र पर्वतीय गतिविधिमा सावधानी अपनाउनुपर्ने सुुझाव छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा केही स्थानमा मेघगर्जन र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । विशेषगरी पहाडी क्षेत्रमा पहिरो तथा तराईका तल्ला भूभागमा पानी जम्ने जोखिमलाई ध्यान दिनुपर्ने सुुझाव छ ।यता कर्णाली प्रदेशमा केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले दुर्गम बस्ती तथा पर्वतीय मार्गमा यात्रा गर्दा सतर्कता अपनाउन विज्ञले सुुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ । पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपातका कारण आवागमन प्रभावित हुन सक्ने जोखिम छ । मौसम पूर्वानुमानअनुसार वर्षाको वास्तविक मात्रा र प्रभाव प्रणालीको अवस्थाअनुसार परिवर्तन हुन सक्ने भएकाले प्रदेश तथा स्थानीय तहअनुसार जारी हुने अद्यावधिक सूचनालाई आधार मानेर गतिविधि तय गर्नुपर्ने मौषमविद्को सुुझाव छ ।

सावधानी अपनाउन आग्रह 

सम्भावित वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले धानबाली काट्ने तथा भित्र्याउने समय भएकाले वर्षा सुरु हुनुअघि सम्भव भएसम्म कृषि कार्य सम्पन्न गर्न सुझाव दिइएको थियो । वर्षा हुँदा काटेर खेतमै राखिएको धान भिज्ने, सुकाउन राखिएको अन्नमा क्षति पुग्ने तथा खेतबारीमा पानी जमेर कृषि उत्पादन प्रभावित हुने जोखिम छ । त्यसैले किसानले मौसमको पूर्वानुमान हेरेर धान काट्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने योजना बनाउनुपर्ने सुुझाव दिइएको थियो ।

विशेषगरी किसानले स्थानीय तह र कृषि निकायबाट प्राप्त सुझाव तथा विभागको आधिकारिक मौसम बुलेटिनलाई ध्यान दिनुपर्ने उल्लेख छ । साथै, पर्यटक, पदयात्री र पर्वतारोहणमा संलग्न व्यक्तिलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ । मौसम प्रतिकूल भएका बेला उच्च हिमाली क्षेत्रतर्फ यात्रा गर्दा दृश्यता कम हुने, तापक्रम घट्ने, बाटो अवरुद्ध हुने तथा हिमपहिरोमा पर्ने जोखिम रहन्छ । त्यसैले सम्बन्धित निकायको अनुमति, मौसमको अवस्था र स्थानीय सूचनालाई ध्यानमा राखेर मात्रै यात्रा गर्न मौषमविद्हरूले सुुझाव दिएका हुुन् ।

यसैगरी वर्षाका कारण पहिरो जान सक्ने सडकखण्डमा यात्रा गर्दा जोखिमको आकलन गर्न र आवश्यक परे यात्रा स्थगित गर्न पनि सुझाव दिइएको छ । सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रुले यात्रा सुरु गर्नुअघि सम्बन्धित निकायबाट अद्यावधिक जानकारी लिनुपर्ने उल्लेख छ । मौसमविद्हरूका अनुसार मनसुन सकिएपछि पनि नेपालमा वर्षा हुनु मौसमी प्रक्रियाकै एउटा हिस्सा हो । अक्टोबर र नोभेम्बर महिनामा बङ्गालको खाडी तथा अरब सागरमा चक्रवातीय प्रणाली विकसित हुन सक्ने भएकाले मनसुन सकिएपछि पनि नेपालमा वर्षाको जोखिम छ । तर, मौसमविद्हरूले सम्भावित वर्षालाई लिएर अनावश्यक त्रास फैलाउनुभन्दा आधिकारिक पूर्वानुमानका आधारमा पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

सतर्कता र पूर्वतयारीमा जोड 

सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । मौसमसम्बन्धी प्रतिकूल पूर्वानुमान सार्वजनिक भएपछि स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइले उच्च सतर्कतामा जोड दिएको हो । यसका लागि सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य सेवा तथा प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

इकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाले सबै प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपत्कालीन सम्पर्क व्यक्ति तोक्न तथा उनको सम्पर्क विवरण इकाईलाई उपलब्ध गराउन र सार्वजनिक गर्न निर्देशन दिएका छन् । त्यसैगरी सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी)सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ ।

विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ । यसका साथै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’मार्फत अनिवार्य रूपमा पठाउन सबै प्रदेशका केन्द्रलाई आग्रह गरिएको छ । यसबाट विपद्का बेला स्वास्थ्य सेवाको अवस्था पहिचान गर्न र आवश्यक स्रोतसाधन परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्भावित वर्षा, हिमपात र त्यसबाट उत्पन्न हुन सक्ने विपद्लाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायले पनि आवश्यक पूर्वतयारी गरेका छन् । पहिरोको जोखिम भएका सडक तथा बस्तीमा निगरानी बढाउने, आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्ने र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना दिर्ने कार्य भइरहेको छ । आगामी दिनमा मौसम प्रणालीको अवस्थाअनुसार वर्षाको मात्रा र प्रभावित क्षेत्र परिवर्तन हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाको नियमित सूचना हेर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार