पुस्तान्तरणसँगै बदलियो पहाडी गाउँको जीवनशैली



गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।

पहाडको एउटा पुरानो घर छ । घरको छानो खरले छाइएको छ । समयले छानोलाई पुरानो बनाएको छ भने घरवरिपरि उम्रिएको झाडीले त्यहाँको बदलिँदो जीवनशैलीको कथा सुनाइरहेको छ । नजिकै अर्को घर छ, जसको छानो ढुङ्गाले छाइएको छ । यी दुई घरका छाना फरक छन्, तर दुवैले नेपाली पहाडी समाजले पुस्तौँदेखि भोग्दै आएको परिवर्तनको कथा बोकेका छन् । तीन–चार पुस्ताअघि पहाडका गाउँमा खरको छानो सामान्य थियो ।

गाउँका अधिकांश घरमा स्थानीय खर, काठ र माटो प्रयोग हुन्थ्यो । ख¥यानमा उत्पादन हुने खर र वरपरकै वनजंगलबाट उपलब्ध काठ घर निर्माणका प्रमुख आधार थिए । सडक थिएनन्, गाउँसम्म निर्माण सामग्री पु¥याउन सहज थिएन । त्यसैले घर बनाउँदा स्थानीय स्रोत र परम्परागत सीपमै भर पर्नुपथ्र्यो । त्यतिबेला घरको छानो छाउनु निर्माणको काम मात्र नभएर सामुदायिक श्रम र सहकार्यको अभ्यास पनि थियो । खर काट्ने, सुकाउने, बोक्ने र छानो छाउने काममा परिवारका सदस्यसँगै छिमेकीको सहयोग लिइन्थ्यो ।

गाउँको जीवन प्रकृति र परम्परासँग नजिक थियो । खरको छानोले घरलाई वर्षा र घामबाट जोगाउनुका साथै त्यतिबेलाको ग्रामीण जीवनशैली पनि झल्काउँथ्यो । समय सधैँ एउटै रहेन । खरको छानो भएका घरमा बिस्तारै ढुङ्गाको छानो देखिन थाल्यो । स्थानीय ढुङ्गाखानीबाट निकालिएका ढुङ्गा घरको छानो छाउन प्रयोग हुन थाले । खरको तुलनामा ढुङ्गाको छानो टिकाउ हुने भएकाले धेरै परिवार त्यसतर्फ आकर्षित भए । तर ढुङ्गा निकाल्ने, आकार मिलाउने र छानो छाउने काममा श्रम, सीप र समय आवश्यक पथ्र्यो । त्यसैले सुरुका दिनमा ढुङ्गे छाना सबैको पहुँचमा थिएनन् । आर्थिक रूपमा सम्पन्न परिवारका घरमा यस्ता छाना बढी देखिन्थे ।

त्यसपछि अर्को पुस्ता आयो । गाउँमा सडक विस्तार हुन थाल्यो । बजारसँगको सम्पर्क बढ्यो । बिजुली, विद्यालय र अन्य पूर्वाधार गाउँसम्म पुग्न थाले । निर्माण सामग्री ओसारपसार गर्न सहज हुँदै गएपछि जस्तापाताको प्रयोग बढ्यो । खर र ढुङ्गाले छाएका घरका छाना क्रमशः टिनले विस्थापित गर्न थाले । प्युठानको मल्लरानी गाउँपालिका–२ का स्थानीय तथा स्वास्थ्यकर्मी रेशम भुसालले आफ्नै जीवनकालमा यो परिवर्तन नजिकबाट देखेका छन् ।

उनका अनुसार आफू सानो हुँदा बाजेका पालामा गाउँका प्रायः सबै घरमा खरको छानो थियो । बुवाको पुस्तामा खर हटाएर ढुङ्गाको छानो छाउने चलन बढ्यो । आफ्नो पुस्तामा आइपुग्दा अधिकांश घरमा टिनको छानो लागिसकेको थियो । ‘हामी सानो हुँदा बाजेका पालामा सबै घरमा खरका छाना हुन्थे । हाम्रो बाको पालामा खर हटाएर ढुङ्गाले छानो छाउने चलन चल्यो । हाम्रो पालामा लगभग सबै घरको छानो टिनले छाएको छ । हामीभन्दा पछिल्लो पुस्ताले त बसाइँसराइ नै गरिसक्यो,’ भुसाल भन्छन् ।

उनका अनुसार अहिले गाउँमै रहेका केही परिवारले टिनका छाना हटाएर सिमेन्टको प्लास्टरसहितका आधुनिक घर बनाउन थालेका छन् । यो परिवर्तन समयको माग, आर्थिक अवस्थाको सुधार र जीवनशैलीमा आएको बदलावसँग जोडिएको उनको बुझाइ छ ।

विकाससँगै संरक्षणको प्रश्न

खरको छानो अहिले दुर्लभ बन्दै गएको छ । ढुङ्गे छाना भएका पुराना घर पनि क्रमशः हराउँदै छन् । स्थानीय सरकारले खरको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रम सञ्चालन गर्नु आवास सुधार र सुरक्षित बसोबासको दृष्टिले महत्वपूर्ण हुन सक्छ । तर परम्परागत घर निर्माण शैली र स्थानीय वास्तुकलाको अभिलेखीकरण तथा संरक्षणबारे पनि सोच्नुपर्ने देखिन्छ । सबै पुराना घर जोगाउन सम्भव नहुन सक्छ । जीर्ण, असुरक्षित र बस्न अयोग्य घरलाई आधुनिक बनाउनु आवश्यक छ ।

तर ऐतिहासिक, सांस्कृतिक वा वास्तुकलाका दृष्टिले महत्वपूर्ण घर पहिचान गरेर संरक्षण गर्न सकिन्छ । स्थानीय सीप, खर र ढुङ्गाको प्रयोग, परम्परागत छानो छाउने विधि तथा त्योसँग जोडिएका सामुदायिक अभ्यासको अभिलेख राख्न सके भावी पुस्ताले आफ्नो गाउँको इतिहास बुझ्ने अवसर पाउनेछन् । खरको छानोबाट ढुङ्गा, ढुङ्गाबाट टिन र टिनबाट सिमेन्टको छानासम्म आइपुग्दा पहाडी गाउँले लामो यात्रा तय गरेको छ ।

यो यात्रामा विकासका अवसर छन्, जीवन सहज बनाउने उपलब्धि छन् र समयअनुसार बदलिनुपर्ने आवश्यकता पनि छ । तर यही यात्रामा परम्परागत सीप, स्थानीय स्रोतको महत्व र गाउँको सामाजिक सम्बन्ध हराउँदै जाने जोखिमसमेत छ । भुसालका अनुसार छाना फेरिनु समयको स्वाभाविक परिवर्तन हो । तर ती छानामुनि बस्ने मानिस, उनीहरूको सम्बन्ध र गाउँसँगको अपनत्वसमेत हराउँदै जानु चिन्ताको विषय हो । पुराना छानाले विगतको जीवनशैली सम्झाउँछन् भने नयाँ छानाले बदलिँदो आकाङ्क्षा देखाउँछन् । यी दुईबिच सन्तुलन खोज्नु नै विकासलाई पुस्तान्तरणको अनुभवसँग जोड्ने महत्वपूर्ण बाटो हो ।

छाना फेरिँदा फेरियो जीवनशैली 

खर, ढुङ्गा र टिनको छानाबिचको अन्तर निर्माण सामग्रीको परिवर्तनमा मात्र सीमित नभएर यसले गाउँको अर्थतन्त्र, श्रम सम्बन्ध, प्राकृतिक स्रोतको उपयोग र मानिसको आकाङ्क्षामा आएको बदलाव पनि देखाउने भुसालको भनाइ छ । पहिलो पुस्ताका लागि घर बनाउनु स्थानीय स्रोतको सदुपयोग र परम्परागत सीपमा आधारित आवश्यकता थियो । दोस्रो पुस्ताले स्थानीय सामग्रीको प्रयोग गर्दै टिकाउ आवासको खोजी ग¥यो । त्यसपछिको पुस्ताले बजारबाट सामग्री ल्याएर घर बनाउने अभ्यास बढायो । अहिलेको पुस्ता सिमेन्ट, इँटा, रड र आधुनिक निर्माण प्रविधितर्फ आकर्षित छ ।

यो परिवर्तनसँगै घरको स्वरूप मात्र बदलिएको छैन, घर बनाउने प्रक्रियासमेत फेरिएको देखिन्छ । पहिले स्थानीय स्रोत र गाउँले श्रममा निर्भर निर्माणकार्य अहिले बजार, यातायात र नगद आम्दानीसँग जोडिएको छ । घरको छानोले परिवारको आर्थिक अवस्था, उपलब्ध पूर्वाधार र बदलिँदो चाहनालाई पनि प्रतिविम्बित गर्न थालेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका कूल आवासीय घरमध्ये जस्तापाताको छानो भएका घर ४१.९ प्रतिशत र आरसिसी छानो भएका घर ३७.८ प्रतिशत थिए ।

२०६८ को जनगणनामा यी अनुपात क्रमशः २८.३ र २२.५ प्रतिशत थिए । यस अवधिमा खर वा परालको छानो भएका घरको हिस्सा १९ प्रतिशतबाट घटेर ३.९ प्रतिशतमा झरेको थियो । ढुङ्गा वा स्लेटको छानो भएका घर भने ६.१ प्रतिशत थिए । यी तथ्यांकले नेपालमा आवास निर्माण सामग्रीमा आएको ठूलो परिवर्तन देखाउँछन् ।

घर बने, गाउँ रित्तिँदै 

छानामा आएको परिवर्तनसँगै पहाडी गाउँको अर्को यथार्थ पनि जोडिएको छ—बसाइँसराइ । गाउँमा विद्यालय खुले, सडक पुगे, बिजुली आयो र शिक्षा हासिल गर्ने अवसर बढ्यो । तर उच्च शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सुविधायुक्त जीवनको खोजीमा युवा पुस्ता सहर तथा विदेशतर्फ जान थाल्यो । पहिले गाउँमै श्रम गर्ने र स्थानीय स्रोतमा निर्भर रहने परिवारका सदस्य अहिले रोजगारीका लागि बाहिर छन् । उनीहरूले पठाएको रकमबाट गाउँमा नयाँ घर बनेका छन् । कतिपय पुराना घरका छाना फेरिएका छन् । कतिपय ठाउँमा पुराना घर छाडेर नयाँ घर निर्माण भएका छन् । तर घरको स्वरूपमा आएको सुधारले गाउँमा मानिसको उपस्थिति पनि बढेको भने छैन् ।

यसले घरहरू आधुनिक बन्दै गर्दा गाउँको सामाजिक जीवन कति जीवित छ ? भन्ने प्रश्न उठाउँछ । नयाँ छाना र पक्की घरले परिवारको आर्थिक प्रगति देखाउन सक्छन्, तर गाउँमा विद्यालय जाने बालबालिका, खेती गर्ने युवा, परम्परागत सीप जान्ने कारीगर र सामुदायिक गतिविधिमा सहभागी हुने मानिसको सङ्ख्या घट्दै गएको छ भने त्यो परिवर्तनको अर्को पाटो हो ।
०००००

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार