काठमाडौँ ।
औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सवारीसाधन मर्मत केन्द्र, ग्यारेज र वर्कसपलाई उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे भाडा सम्झौता रद्द हुने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले यस्ता व्यवसायलाई पाँच वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे सम्झौता रद्द गर्ने व्यवस्था गरेको हो । लिमिटेडले हालै लागू गरेको औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन विनियमावली, २०८३ मा सवारीसाधन मर्मत केन्द्रलगायतका व्यवसायका सम्बन्धमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालन गर्न उपयुक्त नभएको ठहर भएका तथा प्राथमिकताक्रममा नपरेका उद्योग व्यवसायको सम्झौता पनि नवीकरण नहुने लिमिटेडको भनाइ छ ।लिमिटेडका महाप्रबन्धक पदम ओलीले औद्योगिक क्षेत्रको जग्गा उत्पादनमूलक उद्योगका लागि प्रयोग होस् भन्ने उद्देश्यले विनियमावली संशोधन गरिएको जानकारी दिएका छन् । लिमिटेडका अनुसार यसअघि जग्गा तथा भवन भाडामा लिएर सञ्चालन भइरहेका सवारीसाधन मर्मत केन्द्रलाई पाँच वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण हुन समय दिइएको छ ।
उक्त अवधिमा रूपान्तरण नगरे भाडा सम्झौता रद्द गरिने व्यवस्था गरिएको छ । त्यस्तै, विनियमावलीको प्राथमिकताक्रममा नपरेका र समितिले औद्योगिक क्षेत्रभित्र सञ्चालन गर्न उचित नभएको ठहर गरेका व्यवसायले आफ्नो साविकको उद्देश्यअनुसार सञ्चालन जारी राखे पनि सम्झौता नवीकरण गर्न नपाउने व्यवस्था गरिएको लिमिटेडले जनाएको छ । नयाँ विनियमावलीले गैरउत्पादनमूलक उद्योग व्यवसायलाई निरुत्साहित गर्ने नीति लिएको छ । यस्ता व्यवसायलाई तीन वर्षको समय दिएर प्रवेश शुल्कमा छुटसहित उत्पादनमूलक उद्योगमा रूपान्तरण हुने अवसर दिइने लिमिटेडको भनाइ छ ।
तर उत्पादनमूलक उद्योगलाई गैरउत्पादनमूलक व्यवसायमा परिवर्तन गर्न, गैरउत्पादनमूलक उद्देश्य थप गर्न वा त्यस्ता उद्योगसँग गाभिन भने निषेध गरिएको छ । लिमिटेडले सार्वजनिक गरेको विवरणअनुसार बालाजु औद्योगिक क्षेत्रमा ११ वटा र हेटौँडा औद्योगिक क्षेत्रमा दुईवटा सवारीसाधन मर्मत तथा सर्भिसिङसम्बन्धी व्यवसाय सञ्चालनमा छन् । बालाजुमा दुगड अटो क्लिनिक, गुराँस इन्जिनियरिङ, सुन्दर प्रो. एन्ड सर्भिसेज, नाकासु इन्जिनियरिङ, स्याकार सर्भिसेज, पूजा इन्टरनेसनल, बालाजु अटो वक्र्स, कन्टिनेन्टल कम्पोनेन्ट, कन्टिनेन्टल सर्भिसेज, अशोक एलटी र आईएमई अटोमोटिभ्स सञ्चालनमा रहेको लिमिटेडले जनाएको छ ।
त्यस्तै, हेटौँडा औद्योगिक क्षेत्रमा दुगड अटो क्लिनिक र बतास ब्रदर्स मोटर सञ्चालनमा रहेको विवरणमा उल्लेख छ । लिमिटेडका अनुसार औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि आवश्यक जग्गा, भवन, सडक, ढल, पानी, विद्युत् र अन्य पूर्वाधार उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिने उद्देश्यले नयाँ व्यवस्था ल्याइएको हो । नेपालको पहिलो औद्योगिक क्षेत्रका रूपमा २०१९ सालमा स्थापना भएको बालाजु औद्योगिक क्षेत्रसहित देशका १० स्थानमा लिमिटेडले औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । ती औद्योगिक क्षेत्रमा सात सयभन्दा बढी उद्योग व्यवसाय सञ्चालनमा रहेको र करिब २० हजारले प्रत्यक्ष रोजगारी पाएको लिमिटेडको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्