चार वर्षमा पनि बनेन सात किलोमिटर सडक



रूकुम पश्चिम ।

ठेकेदारबीचको विवादका कारण रूकुम पश्चिमको नुदुवा–झारमारे सडक चार वर्ष पुग्न लाग्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । २०७९ माघमा ठेक्का लागेको सात किलोमिटर सडकको निर्माण अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै पूरा भएको छ । निर्धारित समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सडक सुविधाका लागि अझै कुर्नुपर्ने भएको छ ।

राप्ती लोकमार्गको अमेलिया–रूकुम मुसिकोट खण्डलाई ७५ किलोमिटर विस्तार गरी भेरी करिडोरसँग जोड्ने योजनाअन्तर्गत यो सडक निर्माण भइरहेको हो । सम्झौताअनुसार २०८१ चैत मसान्तभित्रै सडक कालोपत्रे भइसक्नुपर्ने थियो । तर, दुई पटक म्याद थप्दासमेत काम पूरा हुन सकेको छैन । अहिले निर्माण कम्पनीले तेस्रो पटक म्याद थपका लागि प्रक्रिया अघि बढाएको छ ।

चौरजहारी सडक डिभिजनअन्तर्गत निर्माण भइरहेको सडकको ठेक्का सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिले भ्याटसहित २७ करोड ९५ लाख ७६ हजार ८३७ रुपैयाँमा लिएको थियो । मुख्य ठेकेदारले पेटी ठेक्कामा काम दिएपछि उत्पन्न विवादले निर्माण प्रभावित भएको डिभिजन प्रमुख खुम भण्डारीले बताए । मुख्य ठेकेदार कम्पनीका सञ्चालक भीमबहादुर थापाका अनुसार २०७९ फागुनमा कैलाश निर्माण सेवासँग पेटी ठेक्काको सम्झौता भएको थियो ।

तर, ३२ महिनापछि २०८२ मंसिर २६ गते पेटी ठेकेदारले बाँकी काम गर्न नसक्ने भन्दै सम्झौता रद्द गरेपछि निर्माणको जिम्मेवारी फेरि मुख्य ठेकेदारकै काँधमा आएको छ । थापाले पेटी ठेकेदारलाई बढी भुक्तानी भएको ४२ लाख रुपैयाँको हिसाब र रकम लेनदेनसम्बन्धी विवादले काम अघि बढाउन कठिन भएको बताएका छन् । पेटी ठेकेदार जमानसिंह बुढाले पनि आफूले सकेको काम गरेको र बाँकी काम गर्न नसकेपछि सम्झौता रद्द गरेको बताएका छन् ।

यता, गोपाल विकले भने मुख्य ठेकेदार र पेटी ठेकेदारले आफूलाई पाउनुपर्ने रकम नदिएको आरोप लगाएका छन् । तीनै पक्षबीच आर्थिक हिसाबकिताब र सहमतिबारे विवाद कायम छ । निर्माणस्थलमा काम गरिरहेको मेसिनको चाबी निकालिएको विषयमा मुख्य ठेकेदारले प्रहरीमा जाहेरीसमेत दिएका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले निर्माणमा अवरोध हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउने जनाएको छ । अहिले सडकमा ग्राभेलको काम भइरहेको छ । चौरजहारी सडक डिभिजनका अनुसार निर्माणले निरन्तरता पाए यसै वर्ष कालोपत्रे सम्पन्न हुने अपेक्षा छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार