वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘बाबा (कैलाश पर्वत)लाई यति नजिकबाट देखेँ कि, यस जन्ममा मैले कहिल्यै कल्पना नै गरेकी थिइनँ । एकदमै निःशब्द छु,’ खुसीले भावुक हुँदै भारतबाट आएकी एक पर्यटकले भनिन् । उनले यस्तो प्रतिक्रिया श्री एयरलाइन्सले नेपालगन्जबाट गरेको माउन्टेन फ्लाइटमार्फत कैलाश पर्वत दर्शनको अनुभव लिइसकेपछि व्यक्त गरेकी हुन् । निजी क्षेत्रको अग्रणी हवाई यातायात सेवाप्रदायक श्री एयरलाइन्सले पछिल्लो करिब तीन वर्षयता नेपालगन्जबाट माउन्टेन फ्लाइट सञ्चालन गरिरहेको छ ।
यस वर्षको साउनदेखि हालसम्म मात्रै दुई दर्जनबढी माउन्टेन फ्लाइट भइसकेका छन् । चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरको दर्शन गर्न चाहने पर्यटकहरूलाई एयरलाइन्सले माउन्टेन फ्लाइट सेवा दिँदै आएको हो । पछिल्लोपटक श्रीले असोज १८ र १९ गते दुई दिनमै चारवटा उडानमार्फत भारतबाट आएका पर्यटकहरूलाई माउन्टेन फ्लाइटमार्फत कैलाश दर्शन गराएको श्री एयरलाइन्सका नेपालगन्ज स्टेशन प्रमुख उपेन्द्रनारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पछिल्ला वर्षमा श्री एयरलाइन्सले मागअनुरुप नेपालगन्जबाट पनि माउन्टेन फ्लाइट गरिरहेको छ । त्यसमा सबैजसो मानसरोवरको दर्शनसहित हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाका पर्यटकीय क्षेत्रलक्षित उडानहरू हुने गरेका छन् । श्री एयरलाइन्सले २०८० सालमा पहिलोपटक नेपालगन्जबाट कैलाश मानसरोवरलाई लक्षित गरी माउन्टेन फ्लाइट सुरु गरेको थियो । त्यसपश्चात् माग भएअनुरुप चार्टर बुकिङमार्फत उडान भइरहेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार अहिले माउन्टेन फ्लाइटका सेवाग्राही सबै भारतीय नागरिकहरू रहेका छन् । भारतीय नागरिकहरूले मानसरोवरको दर्शनलाई निकै ठूलो महत्व दिने भएकोले भौतिक रूपमा पुग्न नसक्नेहरूले माउन्टेन फ्लाइटमार्फत दर्शन गर्ने गरेका छन् । ट्राभल एजेन्सी र होटलहरूको समन्वयमा माग भएबमोजिम उडानहरू भइरहेका श्रेष्ठले जानकारी दिएका छन् । अहिले दसैँ, तिहार र छठको अवसर भएकोले यस्तो चाडबाडका बेला भारतीय पर्यटहरूले मानसरोवर दर्शन गर्न चाहने गरेका उनको भनाइ छ ।
महाशिवरात्रीका अवसरमा पनि धेरै पर्यटहरूकले माउन्टेन फ्लाइटमाफर्त कैलाशको दर्शन गरेका थिए । माउन्टेन फ्लाइटमा जाने नेपालीहरू भने निकै कम रहेका श्रेष्ठको भनाइ छ । बुकिङ भएका कुनै फ्लाइटमा सिट खाली रहेको अवस्थामा नेपालीहरूले पनि उडान गर्न पाउने उनले जानकारी दिएका छन् । प्रतिउडानमा ४४ जना यात्रु र पाँच जना चालक दलका सदस्यहरू रहने गरेका छन् । उक्त उडान करिब एक घण्टाको हुने गरेको छ ।
अहिले चार्टरमार्फत भइरहेको उडानलाई नियमित गर्नका लागि भने राज्यकै अग्रसरता हुनुपर्ने श्रेष्ठको भनाइ छ । भाडामा छुट दिनुका साथै पश्चिमका गन्तव्यहरूको प्रचारप्रसारमा पनि राज्यको ध्यान आवश्यक रहेको उनले बताए । अहिले माउन्टेन उडानको शुल्क महँगो पर्ने भएकोले नेपालीहरूले व्यहोर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । पूर्वतिर केन्द्रित हुने पर्यटकहरूलाई पश्चिममा पनि माउन्टेन फ्लाइटमार्फत महत्वपूर्ण दृश्यावलोकन गर्न सकिन्छ भन्ने विषयमा जानकारी तथा प्रचारप्रसारको जरुरत रहेको श्रेष्ठले जानकारी दिएका छन् ।
श्री एयरलाइन्सले २०८० सालमा नेपाली भूभागबाट पहिलोपल्ट मानसरोवर दर्शनार्थ माउन्टेन फ्लाइट गरेको थियो । नेपालगन्जबाट नेपाली, भारतीय, विदेशीलगायत तथा धार्मिक पर्यटक आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुन सक्ने विश्वासले माउन्टेन फ्लाइट सञ्चालनलाई जारी राखिएको कम्पनीको भनाइ छ । कैलाश दर्शनका लागि पर्यटकहरू आउने प्रमुख सिजन जुलाईदेखि सेप्टेम्बरमा बाढीका कारण चीनले अनुमति नदिएपछि पर्यटकहरू रोकिएका थिए ।
अहिले नेपालगन्ज हुँदै हवाइमार्फत कैलाश दर्शन गर्न जाने पर्यटकहरू आउने क्रम बढेको छ । केही होटलहरू कैलाश जाने यात्रुहरूले चलायमान देखिन थालेका छन् । श्री एयरलाइन्स, नेपालगन्जस्थित सिद्धार्थ होटल र र ट्राभल एजेन्सीहरूले समन्वय गरेर भारतबाट आउने पर्यटकहरूलाई माउन्टेन उडानमार्फत पनि दर्शन गराउनेगरी पहल गरिरहेका छन् । सिद्धार्थ होटल नेपालगन्जका सञ्चालक तथा नेपालगन्ज पर्यटन प्रतिष्ठानका अध्यक्ष केशव न्यौपानेका अनुसार यस आर्थिक वर्षभरी नेपालगन्जबाट करिब दुई सय माउन्टेन फ्लाइट हुने अनुमान गरिएको छ ।
माउन्टेन फ्लाइटका लागि सिट सङ्ख्या बराबर यात्रु पुग्ने अवस्था भएमा उडानको व्यवस्था मिलाउन सकिने न्यौपानेको भनाइ छ । नेपालगन्जमा उडान गर्न मिल्ने मौसम भएमा र हिमाली क्षेत्रमा पनि मौसम उपयुक्त रहेमा जुनसुकै मौसममा पनि माउन्टेन फ्लाइट गर्न सकिने न्यौपानेले बताए । न्यौपानेले पनि माउन्टेन फ्लाइटमार्फत कैलाश दर्शन गराउने सेवालाई नियमित गर्न समय लाग्ने बताए । यस सेवाले पश्चिम नेपालको समग्र पर्यटन नै चलायमान हुन्छ भन्ने अपेक्षाले आफूहरूले माउन्टेन उडानलाई जारी राखिराख्ने पर्यत्न गरिरहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्