भोजपुरमा युवतीको हत्या



भोजपुर।

भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ। षडानन्द नगरपालिका-१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कंदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ।

हाटबाट फर्किंदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नविना राईमाथि धारिलो हतियार प्रयोग भएको हो। मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नविनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनामा संग्लग्न भएको आशंकामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ। घटनाको विषयमा अनुसन्धान सुरू भएको प्रहरीको भनाइ छ। – रासस

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ३ गते आइतबार