फिफा विश्वकपको नकआउट समीकरण पूरा



काठमाडौँ।

फिफा विश्वकप २०२६ को ऐतिहासिक समूह चरणका सबै खेलहरू सकिएसँगै नकआउट चरण अर्थात् ‘राउन्ड अफ ३२’ को सम्पूर्ण समीकरण पूरा भएको छ । विश्व फुटबलको इतिहासमै पहिलो पटक ४८ टोलीहरूले सहभागिता जनाएको यस महाकुम्भमा समूह चरणको कडा प्रतिस्पर्धाबाट उत्कृष्ट ३२ टोलीहरूले अर्को चरणको यात्रा तय गरेका छन् ।

साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड र पोर्चुगलजस्ता हेभीवेट टोलीहरूले नकआउटमा आफ्नो स्थान सुरक्षित गर्दा केही ठूला राष्ट्रहरू भने समूह चरणबाटै बाहिरिएका छन् । अब ‘गर या मर’को नकआउट मञ्च सुरु भइसकेको छ, जहाँ एउटा मात्र गल्तीले टोलीको विश्वकप सपना समाप्त हुनेछ । समूह चरणका नतिजाहरूलाई हेर्दा समूह ‘ए’बाट मेक्सिको र दक्षिण अफ्रिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै शीर्ष दुई स्थान कब्जा गरे ।

समूह ‘बी’बाट सहआयोजक क्यानडा र कतारले उत्कृष्ट पुनरागमन गर्दै अर्को चरणको टिकट काटे भने बोस्निया र हेर्जेगोभिना तेस्रो भएर अघि बढ्यो । समूह ‘सी’मा पाँच पटकको विजेता ब्राजिल समूह विजेता बन्दा अफ्रिकी शक्ति मोरक्को दोस्रो स्थानमा रहँदै नकआउटमा प्रवेश ग¥यो । समूह ‘डी’बाट अमेरिका समूहविजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरे । पाराग्वे तेस्रो भएर अघि बढ्यो ।

समूह ‘इ’बाट जर्मनी र आइभरी कोस्ट शीर्ष २ टोलीका रूपमा अघि बढ्दा इक्वेडर तेस्रो भएर नकआउटमा प्रवेश ग¥यो । समूह ‘एफ’बाट नेदरल्यान्ड्स विजेता र जापान उपविजेताका रूपमा नकआउटमा स्थान बनाए । स्विडेन तेस्रो भएर अगाडि बढ्यो । समूह ‘जी’बाट बेल्जियम विजेता र जापान उपविजेता बने । समूह ‘एच’बाट स्पेन र केप भर्डे शीर्ष २ टोलीका रूपमा नकआउटमा प्रवेश गरे । केप भर्डे पहिलो विश्वकप सहभागितामै समूह चरण पार गर्न सफल रह्यो ।

समूह ‘आइ’बाट फ्रान्स शतप्रतिशत जितका साथ विजेता बनेर नकआउटमा प्रवेश गर्दा नर्वे उपविजेता बन्यो । यस समूहबाट सेनेगल तेस्रो स्थानमा रहेर छनोट भयो ।समूह ‘जे’बाट अर्जेन्टिना समूहविजेता अनि अस्ट्रिया उपविजेता बन्दा अल्जेरिया तेस्रो भएर अगाडि बढ्यो । समूह ‘के’बाट कोलम्बिया विजेता अनि पोर्चुगल उपविजेता बने । कङ्गो तेस्रो स्थानमा रहेर छनोट हुन सफल भयो । समूह ‘एल’बाट इंग्ल्यान्ड विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरे भने घाना तेस्रो स्थानमा रहेर अगाडि बढ्न सफल रह्यो ।

राउन्ड अफ ३२

राउन्ड अफ ३२ को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा खेल्ने छन् । यस खेल सोमबार बिहान १२ः४५ बजेदेखि सुरु हुनेछ । यस्तै ब्राजिल भर्सेस् जापानको महाभिडन्त पनि राउन्ड अफ ३२ मै हुने भएको छ । साविक विजेता अर्जेन्टिनाले नवप्रवेशी केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै जर्मनीले पाराग्वेसँग, नेदरल्यान्ड्सले मोरक्कोसँग, आइभरी कोस्टले नर्वेसँग अनि फ्रान्सले स्वीडेनसँग खेल्नेछ ।

त्यस्तै मेक्सिको र इक्वेडर, इंग्ल्यान्ड र कङ्गो, बेल्जियम र सेनेगल, अमेरिका र बोस्निया एन्ड हर्जगोभिना पनि राउन्ड अफ ३२ मै खेल्ने छन् । पोर्चुगलले क्रोएसियासँग, स्पेनले अस्ट्रिया अनि कोलम्बियाले घानासँग प्रतिस्पर्धा गर्नेछन् । स्विट्जरल्यान्डले अल्जेरियासँग खेल्नेछ । अस्ट्रेलियाले इजिप्टसँग खेल्नेछ ।

नकआउट चरणमा पुग्ने ‘भाग्यमानी’ ८ टोली 

विश्वकपको इतिहासमा पहिलो पटक ४८ टोली सहभागी भइरहँदा यसपटक नकआउट चरणको समीकरण निकै रोचक बनेको छ । सन् १९९८ देखि २०२२ सम्म ३२ टोली खेल्दा समूहका शीर्ष दुई टोली मात्र अगाडि बढ्थे । तर, यस वर्षको नयाँ नियमअनुसार १२ वटा समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ८ टोलीहरू पनि ‘राउन्ड अफ ३२’मा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलहरू शनिबार राति सकिएसँगै अघिल्लो चरण पुग्ने टोलीहरूको टुङ्गो लागेको हो । यो नयाँ ढाँचाले गर्दा अन्तिम खेलसम्म पनि धेरै टोलीहरूको सम्भावना जीवितै रहेको थियो ।

नकआउट चरणमा पुग्न सफल ८ ‘उत्कृष्ट तेस्रो’ टोलीहरू

१. डीआर कंगो (समूह ‘के’) ः ४ अंक र +१ गोल अन्तरसहित कंगो अघिल्लो चरण प्रवेश ग¥यो । अब उसले जुलाई १ मा ‘एटलान्टा’मा इङ्गल्याण्डको सामना गर्नेछ ।
२. स्वीडेन (समूह ‘एफ’)ः अन्तिम खेलमा जापानसँग १–१ को बराबरी खेल्दै ४ अंक जोडेको स्वीडेनले अब असार १६ (जुन ३०)मा फ्रान्ससँग खेल्नेछ ।
३. घाना (समूह ‘एल’) ः ४ अंक बटुलेको घाना तेस्रो स्थानमा रहे पनि अघिल्लो चरण पुग्न सफल भयो । उसको भेट अब कोलम्बियासँग हुनेछ ।
४. इक्वेडर (समूह ‘ई’)ः ४ अंकसहित अगाडि बढेको इक्वेडरले अन्तिम खेलमा चार पटकको च्याम्पियन जर्मनीलाई २–१ ले हराएर सबैलाई स्तब्ध पारेको थियो । अब उसले मेक्सिकोको सामना गर्नेछ ।
५. बोस्निया र हर्जगोभिना (समूह ‘बी’) ः ४ अंक जोड्दै अघिल्लो चरण पुगेको यस टोलीले अब आयोजक संयुक्त राज्य अमेरिका सँग खेल्नेछ ।
६. पाराग्वे (समूह ‘डी’)ः ४ अंकसहित अगाडि बढेको पाराग्वेले अब जर्मनीको सामना गर्नेछ ।
७. सेनेगल (समूह ‘आई’) ः इराकलाई ५–० ले हराउँदै ३ अंक र उत्कृष्ट गोल अन्तर (+२) बनाएका कारण सेनेगल नकआउटमा पुग्यो । उसको आगामी खेल बेल्जियमसँग हुनेछ ।
८. अल्जेरिया (समूह ‘जे’)ः अस्ट्रियासँग ३–३ को रोमाञ्चक बराबरी खेल्दै ४ अंक जोडेर अल्जेरिया अघिल्लो चरण पुग्यो । अब उसले स्विट्जरल्याण्डसँग खेल्नेछ ।
बाहिरिएका तेस्रो स्थानका टोलीहरू

इरानः इरान सबैभन्दा अभागी टोली बन्यो । इजिप्टसँगको खेलमा अन्तिम समयमा गोल गरे पनि भिडिओ असिस्टेन्ट रेफ्री (भार)ले त्यसलाई अफसाइड भन्दै खारेज गरिदियो । यदि अस्ट्रिया र अल्जेरियाको खेल बराबरी नभएको भए इरान अगाडि बढ्ने थियो, तर त्यो खेल ३–३ को बराबरीमा सकिएपछि इरान बाहिरिन पुग्यो । दक्षिण कोरियाः कप्तान सन ह्युङ–मिनलाई बेन्चमा राखेको दक्षिण कोरिया दक्षिण अफ्रिकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । ३ अंक मात्र जोडेको उसको प्रदर्शन निराशाजनक रह्यो । स्कटल्याण्डः ३ अंक र –३ को खराब गोल अन्तरका कारण स्कटल्याण्ड घर फर्कियो । टोली बाहिरिएसँगै प्रशिक्षक स्टिभ क्लार्कले पदबाट राजीनामा दिएका छन् । उरुग्वेः दुई पटकको विश्व विजेता उरुग्वेले यसपटक एउटै खेल पनि जित्न सकेन र केवल २ अंक जोड्दै समूह चरणबाटै बाहिरियो । यसरी नयाँ नियमले धेरै टोलीलाई अन्तिम समयसम्म आश जगाए पनि इरान र दक्षिण कोरिया जस्ता टोलीका लागि भने यो विश्वकप निकै पीडादायी बन्यो । अब प्रतियोगिता ‘नकआउट’ चरणमा प्रवेश गरेको छ, जहाँ हार्ने टोली सिधैँ बाहिरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार