सात वर्षदेखि चन्दा उठाएर विद्यालय सञ्चालन



जाजरकोट, माघ १९ गते । सल्यान कालागाउँ– ७ नेटामा रहेको श्री निम्न माध्यमिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आइरहेको छ । निजी स्रोतमा रहेका शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

विसं २०४६ मा स्थापना भएको विद्यालयमा दुईजनाको मात्र दरबन्दी रहेको र बाँकी पाँच शिक्षक निजी स्रोतमा राखेको र निजी स्रोतका शिक्षकलाई तलब दिने कुनै आर्थिक आधार नभएका कारण चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आइरहेको विद्यालयका प्रधानाध्यापक नोखीराम वलीले जानकारी दिनुभयो ।

वार्षिक रुपमा प्रत्येक घरबाट रु २०० देखि रु एक हजारसम्म चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब खुवाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक कार्कीले भन्नुभयो ।

विद्यालयमा आउने विद्यार्थीका अभिभावक, विभिन्न पेसा व्यवसाय गर्दै आइरहेको व्यक्ति तथा प्रतिघरबाट स्वेच्छिक चन्दा सङ्कलन गरेर विद्यालय चलाउँदै आइरहेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो – “विद्यालयको कुनै आन्तरिक स्रोत छैन, विद्यालय सञ्चालन नगर्ने हो छोराछोरीको पढाइ बर्बाद हुने, पढाउने हो आर्थिक समस्याले च्याप्दै आइरहेको छ, पहिलेको जस्तो गरेर स्थानीयवासीले पनि चन्दा दिन मान्दैनन्, विद्यालय सञ्चालन गर्न नै गाह्रो भइसक्यो ।

निमाविसम्म २०० विद्यार्थी रहेको उक्त विद्यालयले २०६५ सालमा निमाविको अनुमति पाएको थियो । सरकारले विद्यालय सञ्चालन गर्न अनुमति मात्र दिने तर त्यसको समूचित व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय सल्यानमा पटकपटक दरबन्दीको माग गर्दै निवेदन पेस गरे पनि त्यसको कुनै सुनुवाइ नभएको गुनासो प्रधानाध्यापक वलीले गर्नुभयो । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १९ गते मंगलबार