एक्टिङ स्टार विजेता रानाभाटलाई सम्मान



कोहलपुर ।

सञ्चारिका समूह नेपाल बाँके शाखाले रियालिटी शो एक्टिङ स्टार विजेता नवीना रानाभाटलाई सम्मान गरेको छ । सोमबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरेर सञ्चारिका समूहले एक्टिङ स्टार विजेता नाराभाटलाई सम्मान गर्नुका साथै बधाई ज्ञापन गरेको हो । नवीनाले एक्टिङ स्टारमार्फत आफ्नो अभियन प्रस्तुत गरेर बाँकेलाई मात्र नभइ देशलाई चिनाउन सफल भएको कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले बताइन् ।

एक्टिङ स्टारको विजेता भएको भन्दै बधाई दिँदै उनले आगामी दिनमा ठूलो पर्दामा हेर्ने इच्छा व्यक्त गरिन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सुवेदीले अहिले पनि महिलाको नेतृत्व नेपाली समाजमा सहजै स्वीकार गर्ने अवस्था नरहेको बताइन् । नवीनाले अनेकौँ कठिनाइका बाबजुद पनि महिलाले केही गर्न सक्छन् भन्ने प्रमाणित गरेर देखाउन सफल भएको भन्दै उनले खुसी व्यक्त गरिन् । उनले नवीनाको अभियनले सबै नेपालीको मन जितेकै कारण आज विजेता हुन सफल भएको बताइन् ।

कलाकारिता क्षेत्रमा पनि अहिले सम्भावनाका ढोकाहरू धेरै रहेकोले आगामी दिनहरूमा आफूलाई थप निखार्दै लैजान उनले सुझाव दिइन् ।एक्टिङ स्टारमा आफ्नो अभिनय प्रस्तुत गरेर नेपालगन्जमा विजेताको ट्रफी ल्याउन सफल भएको एक्टिङ स्टार विजेता रानाभाटले बताइन् ।मिडियादेखि विदेशमा रहेका नेपालीहरूको माया र साथले विजेता हुन सफल भएको उनको भनाइ थियो ।

सञ्चारिका समूहलाई सम्मान गरेको भन्दै धन्यवाद दिँदै उनले आगामी दिनहरूमा पनि अघि बढ्न सबैको साथ र सपोर्टको खाँचो रहेको बताइन्। समाजमा रहेका र घटेका घटनाहरू आफूले अभिनयमार्फत उठाउँदै आएको उनले जानकारी दिइन् । एक्टिङ स्टारको उपाधिसँगै नवीनाले १५ लाख, ट्रफी, वल्र्ड टुर र एउटा फिल्ममा अभिनयको अवसरसमेत पाएकी छन् ।

एक्टिङ स्टारको उपाधि विजेता रानाभाटले यो जित आफ्नो मात्र नभई आफूलाई भोट गर्ने तथा सहयोग समर्थन गर्ने सम्पूर्ण पश्चिम नेपालको जित भएको प्रतिक्रिया दिइन् । सञ्चारिका समूह बाँके शाखा अध्यक्ष पवित्रा परियाले रानाभाटको प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको बताइन् । उनले एक्टिङ स्टार विजेता रानाभाटलाई आगामी दिनमा ठूलो पर्दामा देख्न पाइयोस् भन्दै शुभकामनासमेत व्यक्त गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार